Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपाल अप्थाल्मिक सोसाइटीको २६ औं वार्षिक सम्मेलन काठमाडौंमा सुरु

नेपाल अप्थाल्मिक सोसाइटीको २६ औं वार्षिक सम्मेलन काठमाडौंमा सुरु

हेल्थ टिभी अनलाइन : नेपाल अप्थाल्मिक सोसाइटीको २६ औं वार्षिक सम्मेलन सुरु भएको छ । राजधानीको याक एण्ड यति होटलमा शुक्रवारबाट सुरु भएको सम्मेलनको नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा चोपलाल भुषालले उद्घाटन गरेका छन् । उद्घाटनसत्रमा विशेष अतिथिका रुपमा नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल विक्रम कार्की, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा भूपेन्द्र बस्नेत लगायत सहभागी भएका थिए ।

नेपाल अप्थाल्मिक सोसाइटीको वार्षिक सम्मेलनको यसवर्षको आयोजक समितिको अध्यक्षमा प्राडा मीनु चौधरी र सोसाइटीका महासचिव डा पुरुषोत्तम जोशी सचिव रहनुभएको छ । सम्मेलनमा विश्वका विभिन्न देशका करिब ४० जना आँखा विशेषज्ञहरुको सहभागिता रहेको छ । नेपालका र विदेशबाट आएका करिब ७० जना चिकित्सकले सम्मेलनका विभिन्न सत्रहरुमा आँखा उपचारका क्षेत्रमा भएका नविनतम प्रयोग, आविष्कार र उपलब्धिहरुका बारेमा प्रस्तुति दिने र छलफल गर्ने कार्यसूचि रहेको छ ।

कार्यक्रमको उद्घाटनसत्रमा सोसाइटीले प्राडा सुरज शमसेर जंग बहादुर राणा, प्राडा रीता गुरुङ, प्राडा संजयकुमार सिंह तथा सह प्राडा बसन्तराज शर्मालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड २०२४ द्वारा सम्मान गरिएको छ ।

त्यस्तै सोसाइटीले अष्ट्रेलियाका प्राडा स्टेफेनी वाट्सनलाई मदन प्रसाद उपाध्याय लेक्चरर अवार्ड २०२४ प्रदान गरेको छ । त्यस्तै प्राडा रामप्रसाद पोखरेल बेस्ट रेजिडेन्ट अवार्ड २०२४ न्याम्सका डा प्रकाश बम, केयुएसएमएसका डा पारामंगना थेवे, वीपीकेआईएचसका डा रिना साह र त्रिभूवन विश्वविद्यालयका डा प्रियांका सिंहलाई प्रदान गरिएको छ । त्यस्तै, बेस्ट रेजिडेन्ट अवार्ड २०२३ बाट न्याम्सकी डा सीमा भण्डारी, केयुएसएमएसका डा रोजी मानन्धर, वीपीकेआईएचसका डा पुष्पा उपाध्याय, त्रिभूवन विश्वविद्यालयकी डा दिक्षा बोहरालाई सम्मान गरिएको छ ।

सम्मेलनको दोश्रो दिन सोसाइटीको वार्षिक साधारण सभा हुने कार्यतालिका रहेको छ । यस साधारण सभाले नयाँ नेतृत्व चयनका साथै वार्षिक प्रगति समिक्षा गर्नेछ । अधिवेशनमा संस्थामा रहेका ५ सयजनाभन्दा धेरै चिकित्सकले नेतृत्व परिवर्तनका लागि मतदान गर्नेछन् । अधिवेशनले सोसाइटीको १९ औं कार्यसमिति चयन गर्नेछ । निर्वाचन तालिका अनुसार शनिवार हुने निर्वाचन अगावै ३ जना पदाधिकारी आउँदो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् । सोसाइटीका वर्तमान कोषाध्यक्ष डा तेजसु सिंह मल्ल आउँदो कार्यकालका लागि महासचिवमा, डा कौशल पोखरेल कोषाध्यक्षमा र डा रवीन्द्र सिंह ठकुरी सहसचिवमा सर्वसम्मत चयन हुनुभएको छ । शनिवार हुने निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, सह कोषाध्यक्ष र सदस्यहरुका लागि मतदान हुनेछ । पदाधिकारीहरुको कार्यकाल २ वर्षको रहने सोसाइटीको विधानमा व्यवस्था छ ।

सोसाइटीको हालको कार्यसमितिले गएको दुईवर्षमा नियमित कार्यका अलावा विभिन्न रचनात्मक क्रियाकलाप सम्पन्न गरेको छ । डा मिनु चौधरीको नेतृत्वमा यस कार्यकालमा संस्थाले एशिया प्यासिफिक एकेडेमी अफ अप्थाल्मोलोजी लिडरसिप डेभलपमेन्ट प्रोग्रामको मास्टरक्लास सर्वप्रथम नेपालमा आयोजना गरेको छ । जसमा नेपाल र विदेशका विभिन्न देशबाट प्रशिक्षार्थी र शिक्षकहरु सहभागी भएका थिए । त्यस्तै, सोसाइटीले यसबीचमा प्रतिष्ठित संस्था इन्टरनेशनल एजेन्सी फर प्रिभेन्सन ब्लाइन्डनेश (आइएपिबी) को सदस्यता लिन सफल भएको छ ।

नेपाल सरकारको स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखासँग मिलेर आँखा स्वास्थ्य सम्बन्धी कार्यविधि (विद्यालय नर्सको लागि) पनि निर्माण गरेको छ । सोसाइटीले हाल नेपाल सरकारको बीमा कार्यक्रममा नसमेटिएको आँखा उपचारलाई बीमा प्याकेजमा समावेश गर्न पहल गरेको छ ।

नेपाल अप्थाल्मिक सोसाइटी सन् १९८५ मा सुरु भएको आँखा विशेषज्ञहरुको एकमात्र छाता संगठन हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार