Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य अनुसन्धानमा अन्तर्राष्ट्रिय पहिचान बनाउँदै एनएचआरसी, पहिलोपटक आचारसंहिता सम्बन्धि सम्मेलनको आयोजना

स्वास्थ्य अनुसन्धानमा अन्तर्राष्ट्रिय पहिचान बनाउँदै एनएचआरसी, पहिलोपटक आचारसंहिता सम्बन्धि सम्मेलनको आयोजना

हेल्थ टिभी अनलाइन : नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले स्वास्थ्य अनुसन्धान आचारसंहितासम्बन्धि अन्तराष्ट्रिय सम्मेलन पहिलोपटक काठमाडौंमा गर्ने भएको छ । ‘फोरम फर इथिकल रिभ्यु कमीटी इन द एशिया एण्ड वेस्टर्न प्यासिफिक रिजन (फरक्याप) को २४ औ शिखर सम्मेलन यही मंसिर ९ देखि १२ सम्म काठमाडौंमा हुन लागेको हो । परिषद् फरक्यापको सदस्य हो । हरेक वर्ष विभिन्न देशहरुमा हुने यस प्रकारको अन्तर्राष्ट्रिय सम्मेलन यस वर्ष नेपालमा परिषद्को मुख्य आयोजनामा हुन लागेको हो ।

सम्मेलनको नारा ‘उत्तरदायी अनुसन्धान : अधिकतम लाभ’ भन्ने रहेकाे छ । पहिलोपटक हुन लागेको सम्मेलनमा स्वदेश तथा विदेशबाट अनुसन्धान आचार संहिता विषयसँग सम्बद्ध विभिन्न विधाका विज्ञहरु, अनुसन्धानकर्ताहरु, नीति निर्माताहरु, प्राज्ञिक सस्थाका प्रतिनिधिहरु तथा विद्यार्थीहरु गरी ६ सय बढीको उपस्थिति रहने बताइएको छ भने २५० भन्दाबढी अन्तराष्ट्रिय विज्ञहरु सम्मेलनमा आउने भएका छन्।

सम्मेलनकोबारेमा जानकारी दिंदै परिषद्का सदस्य सचिव डा प्रमोद जोशीले यसप्रकारको सम्मेलन नेपालमा पहिलोपटक हुन लागेको र त्यसको मुख्य आयोजक परिषद् हुन पाउनु गर्वको विषय भएको बताए । उनले भने, ‘भर्खर भर्खर अनुसन्धानमा रुचि राख्नेको संख्या बढ्न थालेका बेला ती अनुसन्धानमा रुचि राख्नेका लागि यो ठूलो अवसर र गर्वको कुरा हो ।’ उनले अमेरिका, बेलायत, जापान, नर्वे, पोल्याण्ड, मलेशिया, ब्राजिल, ग्रिस, केन्या, भारत लगायतका २३ देशका स्वास्थ्य अनुसन्धानका विज्ञहरु सम्मेलनमा सहभागी हुने पनि जानकारी दिए । उनले सम्मेलनमा अनुसन्धान आचारसंहिताका विभिन्न विधाहरुमा ९० वटा मौखिक र १३ वटा पोस्टर प्रस्तुतीकरण हुने पनि जानकारी दिए । जसमध्ये ६१ वटा प्रस्तुतीकरण अन्तराष्ट्रिय विज्ञबाट र २९ वटा राष्ट्रिय विज्ञबाट हुनेछ ।

पछिल्लो समय परिषद्ले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा अनुसन्धानकर्ताहलाई प्रोत्साहन गर्ने, उनीहरुको क्षमता अभिवेद्धि गर्ने तथा अन्तराष्ट्रिय क्षेत्रमा भएका नयाँ नयाँ अभ्यासका बारेमा जानकारी गराउने काममा निकै अग्रुसर भएर काम गरिहेको देखिन्छ भने यसपटक नेपालमै पहिलोपटक अनुसन्धानको आचारसंहिता सम्बन्धि सम्मेलन गर्नुले पनि परिषद् अनुसन्धानमा अन्तराष्ट्रिय जगतमा पनि पहिचान बनाउनतर्फ लागेको पुष्टि हुन्छ । फरक्यापको अन्तराष्ट्रिय सम्मेलनको आयोजक हुनका लागि परिषद्ले विभिन्न मापदण्डहरु पार गर्नुपर्नेमा ती सबै मापदण्डमा सफल भएपछि मात्र परिषद्ले यो अवसर प्राप्त गरेको परिषद्का सदस्य सचिव डा जोशीको भनाई छ ।

सम्मेलन काठमाडौंकाे बानेश्वरमा रहेको एभरेस्ट होटलमा हुनेछ भने सोमबार सम्मेलनको दोस्रो दिन बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सम्मेलनको उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार