Health TV Online
Health TV Online
Health TV Online

‘एएमआर यूएनजीए रिपोर्टिङ’ का लागि सम्पादक आचार्यलाई अन्तर्राष्ट्रिय अवार्ड

‘एएमआर यूएनजीए रिपोर्टिङ’ का लागि सम्पादक आचार्यलाई अन्तर्राष्ट्रिय अवार्ड

हेल्थ टिभी अनलाइन : एन्टीमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) सम्बन्धी संयुक्त राष्ट्र संघको उच्च स्तरीय बैठक (यूएनजीए हाइ लेबल मिटिङ) सम्बन्धी उत्कृष्ट रिपोर्टिङ गरेवापत हेल्थ टिभी अनलाइनकी प्रधान सम्पादक कल्पना आचार्यलाई अन्तराष्ट्रिय अवार्ड प्रदान गरिएको छ । बिहिबार ग्लोबल एएमआर मिडिया अलायन्सले आयोजना गरेको चौंथो ग्लोबल मिडिया फोरममा आचार्यलाई उक्त अवार्ड प्रदान गरिएको हो । एन्टीमाइक्रोबियल रेसिस्टेन्स सम्बन्धी रिपोर्टिङ गर्ने ४३ देशका ४१३ जना पत्रकारहरुले उक्त अवार्डका लागि आवेदन दिएका थिए । ६ विधामा सम्मान गरिएको भए पनि एएमआर सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्च स्तरीय बैठकबारे रिपोर्टिङ गर्नेमा आचार्य मात्र छानिएकी हुन् ।

ग्लोबल एएमआर मिडिया अलायन्सले पहिलोपटक यो वर्षदेखि एएमआर अवार्ड प्रदान गर्न थालेको हो । त्यसका लागि विश्वभरबाट आवेदन आह्वान गरिएको थियो । गत १५ मे २०२४ देखि २२ अक्टोबर २०२४ सम्म प्रकाशित भएका समाचार फिचर, भिडियो स्टोरीलाई अवार्डका लागि छनौट गरिएको थियो । ६ वटा डब्लूएचओ रिजन साउथ इस्ट एशिया, अफ्रिकन, इस्टर्न मेरिडियन, प्यान अमेरिकन, वेस्टर्न प्यासिफिक, यूरोपियन रिजनबाट ३ \३ जना लाई पहिलो, दोस्रो र तेस्रो अवार्ड प्रदान गरिएको थियो । यसैगरी ग्लोबल क्याटागोरीमा ३ जना र यस वर्षको यूएनजीए हाइलेबल मिटिङमा स्पेशल रिपाेर्टिङको एउटा विशेष अवार्ड प्रदान गरिएको हो । सो अवार्ड विश्वव्यापी रुपमा एक जनालाई मात्र दिइएकोमा नेपालबाट आचार्य छानिएकी हुन् । आचार्यले ‘यूएनजीए एचएलएम अन एएमआर’ बैठकका महत्वपूर्ण विषयमा ७ वटा समाचार, विश्लेषण तयार पारेकी थिइन । सोका आधारमा उनलाई निर्णायक मण्डलले प्रथम पुरस्कार दिने निर्णय गरेको हो ।

अवार्ड पाएलगत्तै आचार्यले आफूले अवार्डका लागि काम गरेको नभए पनि यसप्रकारको अन्तराष्ट्रिय अवार्ड र पहिचानले आफूलाई यस क्षेत्रमा काम गर्न अझ बढी प्रेरणा मिलेको बताइन्। ग्लोबल एएमआर मिडिया अलायन्सकी संस्थापक तथा संयोजक शोभा शुक्लाले एएमआर मिडिया अवार्डले पत्रकारहरुलाई यस सम्बन्धी रिपोर्टिङ गर्न तथा विषयवस्तुको संवेदनशिलता बुझ्न सजिलो हुने विश्वास लिएको बताइन् ।

साउथ इस्ट एशियाबाट नेपालका धन बहादुर खड्काले तेस्रो पुरस्कार पाएका छन् । नेपाल लाइभ तथा स्वास्थ्य खबरमा आवद्ध खड्काले एएमआर सम्बन्धी लगातार रिपोर्टिङ गरे वापत उनलाई उक्त अवार्ड प्रदान गरिएको हो । यसैगरी यो विधामा बंगलादेशका नुरुल इस्लाम हासिब प्रथम तथा इन्डियन एक्सप्रेसकी अनुराधाले दोस्रो पुरस्कार पाएकी छन् ।

एन्टीमाइक्रोबियल रेसिस्टेन्सलाई विश्व स्वास्थ्य संगठनले १० औं जनस्वास्थ्य चुनौतीको रुपमा राखेको छ । एएमआरका कारण विश्वमा रोगको उपचारमा जटिलता र मृत्यु बढ्दै गएपछि विज्ञ र सरोकारवालाहरु यसमा चिन्तित हुँदै अब एन्टीबायोटिकको बढी र गलत प्रयोगलाई रोक्न मिडिया लगायत सबै सरोकारवाला एकजुट हुनुपर्नेमा जोड दिन थालेका छन् ।

भर्चुअल रुपमा भएको कार्यक्रममा विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन, एएमआर विज्ञ, सरोकारवाला निकायका प्रतिनिधी उपस्थित थिए । यसैगरी नेपालबाट स्वास्थ्य सेवा विभागका महानिर्देशक डा विकास देवकोटा तथा एफएचआइ ३६० का निर्देशक भगवान श्रेष्ठ सहभागी हुँदै आफना भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण एचआइभी तथा क्षयरोगका क्षेत्रमा काम गर्दै आएकी प्रसिद्ध जर्मन नायिका एनाबेल मेन्डेङले गरेकी थिइन ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा