बंगलादेशबाट ३४० नेपाली विद्यार्थी फर्किए, अरु आउने क्रममा

हेल्थ टिभी अनलाइन : तीन दिनमा पूर्वीनाका काँकडभिट्टा हुँदै तीन सय ४० जना नेपाली विद्यार्थी बङ्गलादेशबाट फर्किएका छन् । बङ्गलादेशमा हिंस्रक आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किन थालेका हुन् ।
अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले बिहीबार ८५, शुक्रबार एक सय १४ र शनिबार एक सय ४१ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका जानकारी दिए । नेपाली विद्यार्थीसँगै बङ्गलादेशमा अध्ययनरत माल्दिभ्सकी एक छात्रासमेत काँकडभिट्टा नाका भएर नेपाल आएकी उनले बताए । ‘माल्दिभ्सकी छात्रा नेपालीसँगै त्यहाँ अध्ययन गर्नुहुँदो रहेछ’, अध्यागमन प्रमुख पनेरुले भने, ‘आन्दोलनका कारण हिंसा बढेपछि उहाँ पनि नेपालीसँगै यहाँ आउनुभयो । भारतीय अध्यागमन अधिकारीले पनि उहाँलाई नेपाल जान अनुमति दिएका उहाँले हामीलाई जानकारी दिनुभयो।’
चिकित्सा शिक्षा अध्ययनका लागि हजारौँ नेपाली विद्यार्थी बङ्गलादेशमा रहँदै आएका छन् । केही समययता बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण धेरै भएको भन्दै चलेको विद्यार्थी आन्दोलनले उग्ररुप लिएको छ । त्यहाँ रहेका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गरिएका छन् ।
ढाकास्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै नेपाली विद्यार्थीलाई अत्यावश्यक काम नपरी होस्टलबाट बाहिर ननिस्कन आग्रह गरेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख पनेरुले जानकारी दिए । कुनै कारणवश होस्टेलबाट बाहिरिनु पर्ने भएमा दूतावासमा जानकारी गराउनसमेत भनिएको उनले बताए ।
बङ्गलादेशमा हिंसात्मक आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीले त्यहाँ बस्नुभन्दा स्वदेश फर्किनु उचित सम्झेर परिवारसँग सम्पर्क गरिरहेका अध्यागमन प्रमुख पनेरुले बताए ।
बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीलाई ढाकाबाट हवाईमार्ग हुँदै सिधै काठमाडौँ अवतरण हुने र पूर्वीनाका काँकडभिट्टा हुँदै स्थलमार्गबाट नेपाल आउने दुई सजिला विकल्प रहेका छन् ।
राससबाट :
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने