गुलरियाका सबै विद्यालयहरुमा सुर्तीजन्य पदार्थ विरुद्धको कार्यक्रम सञ्चालन गछौं : उपमेयर गौतम
हेल्थ टिभी अनलाइन : बर्दिया जिल्लाको गुलरिया नगरपालिकाकी उप मेयर सावित्रा गौतमले आफनो नगरपालिकाका सबै विद्यालयहरुमा सुर्तीजन्य पदार्थ विरुद्धको कार्यक्रम सञ्चालन गर्ने जनाएकी छिन् ।
गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र तथा आउटरिच मिडिया प्रालिले आयोजना गरेको कार्यक्रममा सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न विद्यालयहरुमा कार्यक्रम गर्ने बताएकी हुन् । उनले कार्यक्रममा बोल्दै भनिन, ‘विद्यालयका किशोरावस्थाका विद्यार्थीहरु बढी सुर्तीजन्य पदार्थको लतमा परेको देखिन्छ, अब सुरुमा उनीहरुलाई नै सचेत गराउन पर्ने देखिएकाले हामीले यो कार्यक्रम विद्यालयहरुबाट सुरु गर्न खोजेका हौं । यसलाई अभियानकै रुपमा लिएर सशक्त ढंगबाट सुर्तीजन्य पदार्थको हानीबाट हुने क्षति कम गर्न लाग्ने कोशिशमा छौं ।’ उनले यसका लागि विद्यालय व्यवस्थापन, शिक्षक शिक्षिका तथा अन्य सबैको साथ र सहयोगको अपेक्षा गरेको पनि बताइन ।
यसैगरी कार्यक्रममा गुलरिया प्रहरी कार्यालयका डीएसपी तुलसीराम अर्यालले गुलरियामा सुर्तीजन्य पदार्थको सेवन अत्यधिक गर्ने पाइएको र यसलाई नियन्त्रण गर्न बेला बेलामा विभिन्न कार्यक्रम गर्ने गरेको समेत जिकीर गरे । उनले प्रहरी कार्यालयमा आउने जोकोहीलाई पनि यदि पान, गुट्खा, सुर्ती खाएको पाएमा उनीहरुलाई त्यो गेटमै फालेर मुख पानीले कुल्ला गरेर मात्र आउन भन्दै सूचना टाँस गरेको र यो केही प्रभावकारी पनि देखिएको बताए । उनले जिल्ला प्रशासन , स्थानीय निकाय सबै मिलेर सुर्तीजन्य पदार्थको सेवन नियन्त्रण गर्न लागेमा प्रहरी सधैं साथमा रहेको भन्दै सबैको तदारुकता आवश्यक रहेको जिकीर गरे ।
यसैगरी कार्यक्रममा जिल्ला प्रशासन कार्यालय गुलरियाका प्रशासकीय अधिकृत राजेश यादवले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने ऐन कार्यान्वन गर्न गरिनुपर्ने नियमन हुन नसकेको भन्दै नगरपालिकालाई बेला बेलामा अनुगमन गर्न आग्रह समेत गरे । अनुगमनबाट व्यापारी र सेवनकर्ता सचेत हुने भन्दै यसको तिब्रता बढाउन नगरपालिकालाई आग्रह गरे ।
विभिन्न सरोकारवाला निकाय तथा सञ्चारकर्मीको समेत उपस्थिती रहेको कार्यक्रममा स्वास्थ्य पत्रकार तथा आउटरिच मिडिया प्रालिकी निर्देशक कल्पना आचार्यले नेपालमा सुर्तीजन्य पदार्थ सम्बन्धी कानून र यसको कार्यान्वयन पक्षका बारेमा प्रस्तुती दिएकी थिइन ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण