Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले जारी गरेको बिज्ञप्ति प्रति एक्सन नेपालको असहमति

सूर्तीजन्य पदार्थमा लाग्ने करको प्रतिशतमा भ्रामक सूचना जारी

नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले जारी गरेको बिज्ञप्ति प्रति एक्सन नेपालको असहमति

हेल्थ टिभी अनलाइन : नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले मिति २०८१ जेठ ४ गते जारी गरेको सूर्तीजन्य पदार्थमा लाग्ने करको प्रतिशत र करको बिधा सहित प्रकाशित गरेको भ्रामक विज्ञप्ति प्रति एक्सन नेपालले असहमति जनाउँदै ध्यानाकर्षण गराएको छ ।

सूर्ती उद्योगीहरुले संसार भरी नै भ्रामक सुचना सम्प्रेषण गर्ने, वैज्ञानिक बिधिमा आधारित नभएका तथ्य बाहिर ल्याउने र निति निर्माणमा संलग्न भएका नेता तथा कर्मचारीहरुलाई त्यस्ता तथ्य र अन्य बिधिहरु प्रयोग गरि प्रलोभनमा पार्ने एवं निति निर्माणमा हस्तक्षेप गरी आफू अनुकुल कानुन र परिस्थिती निर्माण गर्ने प्रचलन सर्वबिदितै भएकाले यसप्रति ध्यानाकर्षण हुनुपर्ने एक्सन नेपालले जनाएको छ । आज काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गर्दै एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले यस्तो बताएका हुन् । उनले भने, ‘एक्सन नेपालले सधै वैज्ञानिक बिधि र अनुसन्धानमा आधारित तथ्य र संसारभर प्रचलनमा आएका बिशिष्टकृत अभ्यासहरुको मात्रै परिपालना र वकालत गर्दै आएको छ । तर यहाँ सूर्ती उद्योगीहरुले थप कर बढाउन नदिन विभिन्न  किसिमका हुँदै नभएका र सबैलाई झुक्याउने गरी कर अहिले नै बढी छ भनेर भ्रम फैलाइरहेका छन्। जुन सरासर गलत हो ।’

आन्तरिक राजश्व बिभागको तथ्याङ्क अनुसार गत वर्ष नेपालमा लगभग ११ अर्ब २६ करोड ६६ लाख ६६ हजार ६ सय ६७ खिल्ली चुरोट उत्पादन भयो । यस हिसाबमा कुल अन्तःशुल्क २६ अर्ब २२ करोड रुपैया (प्रति खिल्ली औसत रु २.३२ को दरले) राजश्व संकल भएको थियो । प्रति खिल्ली अन्तः शुल्क रु ४ (औसतमा) मात्रै बनाउँदा पनि ४५ अर्ब ६ करोड ६६ लाख ६६ हजार ६ सय ६८ रुपैया राष्ट्रले राजश्वको रुपमा संकलन गर्नेछ जुन अहिलेको भन्दा रु १८ अर्ब ८४ करोड ६६ लाख ६६ हजार ६ सय ६८ रुपैया बढी हो ।

अहिले प्रति खिल्ली रु ०.६ स्वास्थ्य जोखिम कर हुँदा राष्ट्रले कुल ६ अर्ब ७६ करोड रुपैया राजश्व उठाउँछ । स्वास्थ्य मन्त्रालयले प्रस्ताब गरे अनुसार प्रति खिल्ली रु ३ स्वास्थ्य जोखिम कर बृद्धि गर्ने हो भने लगभग ३३ अर्ब ८० करोड रुपैया स्वास्थ्य जोखिम कर उठ्ने देखिन्छ  जुन अहिलेको भन्दा रु २७ अर्ब ४ करोड रुपैया बढि हो । नेपालमा करको दर कम भएकै कारण यहाँ चुरोटको मुल्य विश्वकै तुलनामा सबैभन्दा कम छ ।

चुरोटमा कर बढाइयो भने नेपाली भन्दा विदेशी चुरोट सस्तो हुने र अवैध रुपमा विदेशी चुरोट नेपाल भित्रिने झुटो पैरवी गरिएको तर वास्तवमा त्यसो नहुने विभिन्न तथ्यहरुले देखाउँछ । नेपालमा सर्वाधिक बिक्रि हुने चुरोटको मुल्य रु ३२० पर्छ भने भारतमा त्यस्तै चुरोटको मुल्य करिब नेपाली रु ५४४ छ । तसर्थ कर बढे पनि भारतबाट नेपालमा अवैध रुपमा चुरोट नभित्रिने प्रष्ट हुन्छ । बरु यसको ठिक बिपरित, नेपालबाट गैरकानूनी रुपमा चुरोट भारत निर्यात हुँदै आएको छ चन्दले जानकारी दिए । जसको प्रमाण स्वरुप बाँके प्रहरीले केही दिनअघि जमुनाह नाकाबाट अवैध रुपमा भारत निकासी भैरहेको १२८० बट्टा खुकुरी चुरोट बरामद गरेको छ ।

विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको कर दर (७५%) भन्दा नेपाल सरकारले सूर्तीजन्य पदार्थमा लगाएकोे कर निकै कम छ । यसले सूर्तीजन्य उद्योग प्रति नेपाल सरकारको सम्झौतावादी निति प्रष्ट देखिएकाे एक्सन नेपालकाे दाबी छ ।  बर्तमान सरकारले विश्व स्वास्थ्य संगठनको शिफारिस अनुसार सूर्तीेजन्य पदार्थमा कर बृद्धि गर्यो भने मौजुदा राजश्व ३२ अर्व ९८ करोडमा थप ४५ अर्व ८९ करोड गरि जम्मा ७८ अर्व ८७ करोड राजश्व संकलन हुन देखिन्छ ।

सूर्तीेजन्य पदार्थबाट लाग्ने रोगहरु जनस्वास्थ्यको प्रमुख चिन्ताको रुपमा देखिएको अवस्थामा सरकार त्यस प्रति गम्भिर हुन जरुरी छ । सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने कानुनको कार्यान्वयन र सूर्तीजन्य पदार्थमा उपयुक्त करको संयोजनले मात्र सूर्तीजन्य पदार्थको सेवनबाट उत्पन्न हुने स्वास्थ्य, सामाजिक र आर्थिक संकटलाई प्रभावकारी रुपमा सम्बोधन गर्न सकिने चन्दको भनाई छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार