सिगरेटको विकल्प ई -सिगरेट होइन
पछिल्लो समय सुर्तीजन्य पदार्थमा ई -सिगरेट \भेप धेरै देशको टाउको दुखाइ बन्न थालेको छ । अझ चुरोटको विकल्पको रूपमा ई–सिगरेटलाई लिएर त्यही अनुसार प्रयोग गर्न थाल्नु झनै खतरनाक देखिएको छ । चुरोटको विकल्प ई सिगरेट होइन भनेर विज्ञहरुले भनिरहेका छन् तर पनि प्रयोगकर्ता समक्ष यो कुरा पुग्नै नसकेको जस्तो देखिन्छ । चुरोट भन्दा ई -सिगरेट कम हानिकारक हुन्छ भन्नु नै गलत भएको बताउँछिन ह्याम्स अस्पतालकी कन्सल्टेन्ट पल्मोनोलोजिस्ट डा रक्षा पाण्डे । उनी भन्छिन, ‘कसैले चुरोटको विकल्प ई -सिगरेट हो भनेर प्रयोग गर्छ भने यो सरासर गलत हो । ई सिगरेटमा त झन निकोटिन र अन्य केमिकल हुन्छ जसले लत बसाउन मद्दत गर्छ ।’
के हो ई सिगरेट ?
ई -सिगरेट अर्थात भेप एक इलेक्ट्रोनिक सिगरेट हो जसमा तरल अवस्थामा रहेको निकोटिनलाई तताएर वाफको रुपमा लिने गरिन्छ । यसलाई वाफका रुपमा लिने भएकाले भेप पनि भन्ने गरिन्छ । बोलीचालीमा धेरैले यसलाई भेप भनेर बुझ्छन्। बाफमा निकोटिन सहित विभिन्न फ्लेभर र विषाक्त मानिएका रसायनहरु समावेश हुन्छन्।
चुरोट र ई -सिगरेट मध्ये कुन राम्रो भन्ने प्रश्न नै गलत भएको डा पाण्डेको भनाई छ । उनी भन्छिन, ‘दुई विष छ यो विषमध्ये कुन राम्रो भन्ने प्रश्न गरे जस्तो भयो यो त ।’ त्यसैले दुबै हाम्रो स्वास्थ्यका लागि हानिकारक छन् भन्ने बुझ्न जरुरी छ । उनले ई -सिगरेटको माध्यमबाट चुरोटको लत छोड्न सकिन्छ भन्ने भ्रम भएको र यसको पछि नलाग्न पनि सल्लाह दिन्छिन् । उनले चुरोट छोड्न ई- सिगरेटले मद्दत नगर्ने भन्ने एक अध्ययन नै सार्वजनिक भइसकेको समेत जनाइन्। हुन् त सन् २००६ मा ई सिगरेट बनाउने कम्पनीले चुरोट छोड्न मद्दत गराउने एक डिभाइसका रुपमा यसलाई बनाए पनि यो प्रमाणित नभएको उनको भनाई छ । तर अहिले त्यही ई -सिगरेटको लतमा धेरै युवा पर्न थालेपछि सबैको टाउको दुखाइ बनेको छ ।
अरुको अगाडी चुरोट तान्न अप्ठेराे मान्ने युवा जमात पनि खुलेआम भेपको धुवाँ उडाउन भने संकोच मानेको देखिंदैन । अझ डरलाग्दो कुरा प्रयोगकर्तामध्ये ५५ प्रतिशतलाई त भेप हानिकारक हो भन्ने पनि थाहा छैन्। ग्ल्यामरस रुपमा जसरी विज्ञापन गरे पनि ई -सिगरेट स्वास्थ्यका लागि हानिकारक छ र यसको सेवन गर्न हुँदैन भन्ने कुरा बुझ्न र बुझाउन जरुरी भइसकेको छ ।
केही वर्षयता विशेष गरी माध्यमिक विद्यालय र कलेज जाने केटाकेटीका लागि ई -सिगरेट फेसन जस्तै बन्न थालेको छ । आफूलाई मोडर्न देखाउनका लागि धेरैले यसको प्रयोग गरेको पाइए पनि पछि यसमा भएको निकोटिन लत नै बन्न जान्छ । बिस्तारै उनीहरु चुरोटको पनि सेवन गर्न थाल्छन्। अझ ई -सिगरेटले त युवा पुस्तालाई अझ बढी असर गरिरहेको छ । पहिलो त उनीहरुलाई निकोटिनको लत बसाइरहेको छ अर्को उनीहरुको सानै उमेरदेखि फोक्सो खराब गरिरहेको छ । अरुको अगाडी चुरोट तान्न अप्ठेराे मान्ने युवा जमात पनि खुलेआम भेपको धुवाँ उडाउन भने संकोच मानेको देखिंदैन ।
नेपालमा गरिएको एक सर्वे अनुसार कलेज जाने १८ वर्षदेखि २४ वर्ष मुनिका युवा जमातमध्ये २१ प्रतिशतले एकचोटी वा सोभन्दा बढी ई सिगरेटको प्रयोग गरेको पाइएको छ । उक्त सर्वेक्षणमा १८ देखि २४ वर्ष उमेर समूहका ४ सय जनालाई सहभागी गराइएको थियो । जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष सहभागी थिए । यसैगरी सोही अध्ययनले पहिलो पटक भेप सेवन गर्नेहरुमध्ये २८ प्रतिशतले निरन्तर सेवन गरेको पाइएको डा पाण्डेले बताइन् । यसमध्ये पनि ८० प्रतिशतले आफनो साथीको लहै लहैमा लागेर यसको सेवन सुरु गरेको पाइएको छ । सर्वेक्षण अनुसार अझ डरलाग्दो कुरा त ई सिगरेट खरिद गर्नेहरुमध्ये २५ प्रतिशतले अनलाइनबाटै यसको खरिद गर्ने गरेको पाइएको छ । अन्य ७५ प्रतिशतले मार्टहरुमा गएर किन्ने गरेको पाइएको छ । प्रयोगकर्तामध्ये ५५ प्रतिशतलाई त भेप हानिकारक हो भन्ने पनि थाहा छैन्। सानो समूहमा गरिएको अध्ययन भए पनि यसले अहिले हाम्रो समाजमा बढ्दै गइरहेको ई सिगरेटको महामारीलाई आँकलन गर्न सकिने डा पाण्डेको भनाई छ ।
अर्का पल्मोनोलोजिस्ट डा राजु पंगेनी भन्छन, ‘भेपमा प्रयोगकर्तालाई लत बसेको थाहा नै हुँदैन। यसमा निकोटिन तरल रुपमा हुन्छ । साथै १५ हजार भन्दा बढी फ्लेभर छन् । यही फ्लेभरको पछि लाग्दा विस्तारै निकोटिनको लत बसिसकेको हुन्छ तर प्रयोगकर्तालाई थाहा नै हुँदैन । यही नै कम्पनीवालाहरुको चलाखीपन हो ।’ यसमा त झन निकोटिन मात्रै नभई भिटामिन ईसँगै गाँजाका तत्त्व पनि राखेर बनाइन्छ । अब भन्नुस त यो कसरी कम हानीकारक भयो, उनी थप्छन ।
डा पंगेनीका अनुसार भेपमा भएको केमिकलले प्रयोगकर्तालाई क्षणिक आनन्द दिइरहेको त हुन्छ तर त्यही लत बसिसकेको हुन्छ जसले फोक्सो ड्यामेज गर्ने मात्र होइन मुटु,मस्तिष्क, मिर्गौला, पाचनप्रणाली सबैतिर असर गरिरहेकाे हुन्छ । निद्रा नपर्ने तथा छटपटी हुने पनि यसका साइड इफेक्ट हुन। ई- सिगरेटमा तताउनका लागि जुन केमिकलहरु प्रयोग हुन्छन ती तत्व तान्नका लागि हानिकारक हुने पनि उनको भनाई छ । ई- सिगरेट प्रयोगकर्ताको फोक्सोमा हुने इन्जुरी चुरोट सेवनकर्ताको भन्दा पनि बढी डरलाग्दो हुने उनको भनाई छ ।
ग्लोबल सेन्टर फर गुड गर्भरनेन्स इन टोबाको कन्ट्रोलका अनुसार हालसम्म ई सिगरेटबाट हुने हानीलाई मध्यनजर गर्दै नेपाल लगायत ३७ देशहरुले ई सिगरेटको बिक्री वितरणमा निषेधको नियम लगाएको पाइन्छ । अष्ट्रेलिया, अर्जेन्टिना, भुटान, भारत, ब्राजिल, कम्बोडिया सिंगापुर, श्रीलंका, टिमोरलिस्टे लगायतका ३७ देशले ई सिगरेटको बिक्री वितरणमा निषेध लगाएका छन् ।
नेपालको कुरा गर्दा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को दफा २८ को उपदफा ३ बमोजिम इलेक्ट्रोनिक सिगरेटको उपभोग गर्न नपाउने उल्लेख छ । उक्त निर्देशिकाको उपदफा ३ मा स्पस्ट रुपमा लेखिएको छ – कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्री वितरण सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चार माध्यमबाट प्रवर्धन तथा विज्ञापन गर्न पाउने छैन् ।
तर नेपालमा प्रतिबन्ध लगाएको भनिए पनि भने ई सिगरेटको नियन्त्रण र नियमन गर्ने व्यवस्था धमिलो भएका कारण ई सिगरेट बनाउने व्यापारीहरु हाबी भएको डा पाण्डेको भनाई छ । हामीकहाँ पसल पसलमा छ्यापछ्याप्ती सजिलै ई सिगरेट किन्न पाइन्छ, कसरी निषेध छ भन्नु तर यसको कडाई गर्ने बेला आइसकेको छ । त्यसका लागि स्पष्ट रुपमा यसका बारेमा बोल्ने कानून चाहिन्छ ।
उता राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा भक्त बहादुर केसीसँग यस विषयमा कुरा गर्दा उनले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने निर्देशिकाले स्पस्ट रुपमा ई सिगरेटलाई निषेध गरेको भए पनि उद्योग मन्त्रालयसँगको समन्वयको कमीका कारण पूर्ण रुपमा कार्यान्वयनमा आउन नसकेको स्विकार गरे । डा केसीले पछिल्लो समय बढ्दै गएको ई सिगरेटको खपतलाई लिएर आफूहरु पनि चिन्तित भएको बताएका छन् । आयात र उत्पादन निषेध गर्ने काम उद्योग मन्त्रालय अन्तर्गत पर्ने भएकाले यसको लागि स्वास्थ्य मन्त्रालय मार्फत पत्राचारको प्रक्रिया अघि बढिसकेको उनले बताए । उनले भने, ‘कानूनमा भएको कुरा मन्त्रालय मन्त्रालयवीच समन्वय गरेर कार्यान्वयनमा जानै पर्छ । अब पनि ई सिगरेट नियन्त्रण गर्न तर्फ लाग्न सकिएन भने युवा पुस्तामा यसले महामारी नै ल्याउने संकेत देखिएको छ ।’
डा केसीले केही वर्षयता ई सिगरेटलाई गलत रुपमा ब्याख्या गरी व्यापारीहरुले युवा जमातलाई टार्गेट गरेर विभिन्न फ्लेभरमा डिभाइस तयार गरिरहेको र त्यसको लतमा युवा नजानिंदो ढंगबाट निकोटिनको लतमा फस्दै गएको जनाए । उनले गत आर्थिक वर्षमा मात्र ३२ लाख ई सिगरेटको डिभाइस नेपाल भित्रिएको तथ्यांक रहेको भन्दै यसको कस्तो भयावह स्थिती छ भन्ने सजिलै अनुमान लगाउन सकिने बताए ।
स्टेप सर्भे २०१९ अनुसार नेपालमा २८ दशमलब ९ प्रतिशत १५ देखि ६९ उमेर समूहका व्यक्तिले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको पाइन्छ । तीमध्ये ४८ दशमलब ३ प्रतिशत पुरुष र ११ दशमलब ६ प्रतिशत महिला रहेका छन् । नेपालमा वर्षेनी २७ हजार १३७ जनाको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण लाग्ने क्यान्सर जस्ता रोगबाट हुने गरेको छ भने १६ प्रतिशतले सुर्तीजन्य पदार्थको कारण हुने क्यान्सरको उपचारका लागि आफनो घर खेत बेच्न बाध्य हुने गरेको तथ्यांक छ । नेपालमा एकातिर सुर्तीजन्य पदार्थको सेवनका कारण यो अवस्था छ भने परम्परागत रुपमा खाइने सुर्तीजन्य पदार्थसँगै अब बदलिएको रुपमा ई सिगरेटले निम्त्याएको चुनौती थपिएको छ ।
ई सिगरेटको विज्ञापन यसरी गरिएको हुन्छ की यो पूर्ण रुपमा सुरक्षित छ र यो खाँदा स्वास्थ्यमा केही असर गर्दैन । तर ग्ल्यामरस रुपमा जसरी विज्ञापन गरे पनि ई सिगरेट स्वास्थ्यका लागि हानिकारक छ र यसको सेवन गर्न हुँदैन भन्ने कुरा बुझ्न र बुझाउन जरुरी भइसकेको छ । साथै ई सिगरेटलाई सिगरेटको विकल्पको रुपमा लिइनु नै गलत बुझाई भएको छ । यो बुझाई बदल्ने बेला भइसकेको छ अन्यथा यसले युवा समूहमा ई सिगरेटको लतको महामारी नल्याउला भन्न सकिन्न ।
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना