Health TV Online
Health TV Online

मेडिसिटी अस्पतालमा एक वर्षमा २३ जनाको मिर्गौला प्रत्यारोपण

मेडिसिटी अस्पतालमा एक वर्षमा २३ जनाको मिर्गौला प्रत्यारोपण

हेल्थ टिभी अनलाइन : नेपाल मेडिसिटी अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको एक वर्षमा २३ जनाको सफल प्रत्यारोपण गरेको जनाएको छ । विश्व मिर्गौला दिवसको अवसरमा अस्पतालमा आयोजित कार्यक्रममा उक्त कुराको जानकारी दिइएको हो ।

नेपालमा मिर्गौला रोगको समस्या जटिल बन्दै गइरहेको छ । नेपालमा कूल जनसंख्याको १० प्रतिशत अर्थात करीब ३० लाख मानिसमा कुनै न कुनै रुपमा मिर्गौलाको समस्या रहेको विभिन्न अध्ययनहरुले देखाएको छ । यीमध्ये तीन लाख मानिसको मिर्गौलामा दीर्घरोग रहेको छ । हरेक वर्ष नेपालमा मिर्गौलाका ३ हजार नयाँ बिरामीहरु डायलासिसका लागि थपिने गरेको चिकित्सक बताउँछन्।

दुबै मिर्गौला खराब भइसकेपछि गरिने डायलासिस पनि जिन्दगीभर गनुपर्ने हुन्छ र यसको उपयुक्त उपचार भनेकै मिर्गौला प्रत्यारोपणलाई मानिन्छ । तर प्रत्यारोपण गर्न बिरामीको घर जमिन बिक्री त हुन्छ नै तर समयमै प्रत्यारोपण गर्न अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था रहन्छ । यही समस्यालाई मध्यनजर गर्दै नेपाल मेडिसिटी अस्पतालमा २०७९ माघबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । हालसम्म अस्पतालमा २३ जना बिरामीको मिर्गौला प्रत्यारोपण गरिएको जनाइएको छ । अस्पतालमा १७ वर्षको युवा देखि ६५ वर्षका बृद्धको सफल रुपमा प्रत्यारोपण गरिएको पनि अस्पतालले जनाएको छ ।

अस्पतालमा प्रत्यारोपण गर्न आएका अधिकाशं बिरामीहरुको मिर्गौला बिग्रनुको प्रमुख कारण उच्च रक्तचाप र मधुमेह रहेको नेफ्रोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रमुख डा. प्रकाश पौडेलले बताए । ‘२३ जनामा अधिकाशं उच्च रक्तचाप र मधुमेहकै कारण मिर्गौला बिग्रेर उपचारका लागि आएका थिए । अर्को कारण भनेको ग्लोमेरुलो नेफ्राइटीस्, शरीरमा प्रोटिनको मात्रा बढि भएर लिकेज हुन थालेपछि मिर्गौला बिग्रेर जान्छ,’ डा पौडेलले भने । यति मात्र नभई प्रत्यारोपणका लागि विदेशबाट काम गरेर फर्केका व्यक्तिहरुको संख्या पनि बढेको छ । विशेषगरी खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरुमा यो समस्या देखिएको छ । ५ जना मिर्गौला प्रत्यारोपण भएका व्यक्तिहरु कतार, दुवईबाट फर्केर उपचारका लागि आएका छन् ।

गर्मीमा काम गर्ने तथा पानीको कमीका कारण खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरुमा मिर्गौलाको समस्या बढि देखिएको डा पौडेलले बताए । प्रत्यारोपण गर्न सरकारले पाँच लाखसम्मको उपचार खर्च प्रदान गर्ने गरेको छ । विभिन्न उपचार खर्च जोड्दा बिरामीकोे कूल खर्च ७ देखि ८ लाख पर्दछ । तर निकै लामो समयसम्म कुर्नुपर्ने अवस्था रहिआएको छ ।

नेपाल मेडिसिटी अस्पतालमा प्रत्यारोपण देखि सम्पूर्ण उपचार खर्च १५ लाखसम्ममा हुने मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले बताए । ‘यहाँ ल्याप्रोस्कोपी विधिबाट उपचार गरिन्छ, जसका कारण मिर्गौला दाता तथा ग्रहणकर्तालाई दुखाई पनि कम हुन्छ भने बिरामी चाँडै निको भएर घर जान पाउँछन्,’ डा. काफ्लेले भने । मिर्गौला दाता ३ देखि ४ दिनमा र ग्रहणकर्ता ६ देखि ७ दिनमा डिस्चार्ज हुने गरेका छन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार