विज्ञ भन्छन् : बच्चाको क्यान्सर निको हुने सम्भावना बढी हुन्छ, उपचारमा ढिलाई नगरौं

हेल्थ टिभी अनलाइन : क्यान्सर रोगका विशेषज्ञहरुले बालबालिकामा हुने क्यान्सर निको हुने सम्भावना बढी हुने भएकाले समयमै उपचार गराउन आग्रह गरेका छन् । अन्तराष्ट्रिय बाल क्यान्सर दिवसको अवसर पारेर नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विशेषज्ञहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बाल क्यान्सर रोग विशेषज्ञ डा प्रकाशनिधी तिवारीले वयस्क भन्दा बाल क्यान्सर फरक हुने र बालबालिकामा निको बनाउन सकिने सम्भावना धेरै हुने बताए । उनले नेपाल क्यान्सर अस्पतालमा निको हुने दर ८५ प्रतिशतभन्दा बढी रहेको समेत जिकीर गरे । उनले बोनम्यारो ट्रान्सप्लान्टका लागि सरकारले सहयोग गरेमा १० देखि १२ प्रतिशत अझ निको हुने दर बढ्ने बताए । उनले तर धेरै बालिबालिका उपचारको पहुँचमै नभएको समेत जिकीर गरे ।
यसैगरी अर्की बाल क्यान्सर रोग विशेषज्ञ डा अन्जली पण्डितले लगभग १४ सय बालबालिकामा बाल क्यान्सर रोग भएको अनुमान गरिएकोमा जम्मा ६ देखि ७ सय जति बालबालिका मात्र उपचारमा रहेको तथ्यांक रहेको भन्दै आधा भन्दा बढी बालबालिका उपचारको पहुँच बाहिर रहेको जानकारी दिइन् । उनले कतिपय बालबालिकाका अभिभावकलाई क्यान्सरका लक्षणबारे जानकारी नहुँदा ढिला गरी अस्पताल आउने र त्यसबेला उपचारमा कठिनाई हुने पनि उनले जनाइन् । उनले बालबालिकामा हुने क्यान्सर उपचार गरेमा निको हुन्छ भन्ने जनचेतना जगाउन जरुरी रहेको भन्दै आफूहरुले उपचार गरेका धेरै बालबालिकाले अहिले स्वस्थ जीवनयापन गरिरहेको बताइन् । उनले आफू कार्यरत अस्पतालमा बाल क्यान्सरको उपचारमा चाहिने सम्पूर्ण सेवा तथा विशेषज्ञको टिम राम्रो भएकाले रिजल्ट राम्रो दिन सकेको पनि जिकीर गरिन् ।
अन्तरक्रिया कार्यक्रममा अस्पतालका अध्यक्ष तथा क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठले सरकारले निको हुने क्यान्सरमा लगानी गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘अहिले सरकारले सबै क्यान्सरलाई एउटै बास्केटमा राखेर एक लाख रुपैयाँ दिने गरेको छ । निको नहुने क्यान्सर भन्दा पनि बच्चाहरु जस्तो निको हुने क्यान्सरको उपचारमा सरकारले ५ लाख सम्म सहायता गरेमा धेरै बालबालिकालाई बचाउन सकिने थियो । उनीहरु उपचार गरेर निको हुनु भनेको राज्यको सम्पत्ति हुन्। उनीहरुले देशका लागि धेरै गर्न सक्छन् ।’ उनले कतिपय अभिभावकले आर्थिक अभावकै कारण बच्चाकोे उपचार बिचमै छोडेको र सम्पर्कमै नआएको पनि अनुभव सुनाए ।
कार्यक्रममा रेडियोलोजी, प्याथोलोजी, प्रिभेन्सन विभाग लगायतका विशेषज्ञहरुले बालबालिकाको क्यान्सर उपचारमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा अस्पतालका सिइओ कपिल गौतमले आफूहरुले ५ वर्षमा १५० बाल क्यान्सर भएको बालबालिकाको उपचार गरेकोमा कसैलाई पनि आर्थिक अभावका कारण उपचारबाट वञ्चित नगराएको बताए । उनले आफूहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर आर्थिक कमजोर भएका कयौं बालबालिकालाई निशुल्क औषधि तथा उपचार उपलब्ध गराएको बताए । उनले सरकारले सहायता स्वरुप दिने भनिएको एक लाख रुपैयाँ आफूहरुले बिरामीलाई नियमित दिंदै आएको भए पनि सरकारले भने कहिल्यै पनि उक्त रकम समयमा पठाउने नगरेको गुनासो गरे ।
बालबालिकामा सबैभन्दा धेरै देखिने र पहिलो नंबरमा रक्त क्यान्सर रहेको छ भने क्रमस ब्रेन ट्युमर,लिम्फोमा क्यान्सर, हड्डीको क्यान्सर लगायतका रहेका छन् । ८० प्रतिशतभन्दा बढीमा भने रक्त क्यान्सर नै देखिने गरेको तथ्यांक छ । जन्मेदेखि १८ वर्षसम्मका बालिबालिकामा देखिने क्यान्सरलाई बाल क्यान्सर भनिन्छ ।
डा सविना र डा शैलेशको नयाँ गित ‘चाहना बेग्लै छ’ सार्वजनिक
अन्तर्राष्ट्रिय मिडवाइफ दिवस मनाइयो
नेपाल विश्वविद्यालयको उपकुलपतिमा प्राडा अर्जुन कार्की नियुक्त
सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य
अब आफू बसेकै स्थानबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने