Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य स्वयंसेविकाको गुनासो : २० वर्ष अघिको सेवा सुविधामा कसरी काम गर्न सकिन्छ ?

स्वास्थ्य स्वयंसेविकाको गुनासो : २० वर्ष अघिको सेवा सुविधामा कसरी काम गर्न सकिन्छ ?

हेल्थ टिभी अनलाइन \काठमाडौं :  महिला सामूदायिक स्वास्थ्य स्वयंसेविकाले २० वर्षअघिकै सेवा सुविधामा काम गर्न परेको भन्दै गुनासो गरेका छन् । मंगलबार २० औं राष्ट्रिय महिला सामूदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आयोजित कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् । स्वास्थ्य सेवा विभागको नसिंङ तथा सामाजिक सुरक्षा महाशाखाले आज दिवसको अवसर पारेर स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गर्ने कार्यक्रम राखेको भए पनि उनीहरुले सम्मान भन्दा पनि आफूहरुलाई काम गर्नका लागि सेवा सुविधामा वृद्धि गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै काठमाडौंकी स्वास्थ्य स्वयंसेविका गीता थिङले सरकारले स्वास्थ्य स्वयंसेविकाले गरेको कामको मूल्यांकन गर्न नसकेको र सेवा सुविधामा पनि कन्जुस्याइँ गरेको आरोप लगाइन् । उनले भनिन, ‘२० वर्ष अघि तय गरेको भत्ता तथा यातायात खर्च अहिले पनि त्यही छ । मूल्यवृद्धि कति बढिसक्यो । कहिलेसम्म भोको पेटले महिला स्वयंसेविकाले काम गर्ने ?’ उनले सरकारले १० वर्ष काम गरिसकेका र ६० वर्ष पुगेको महिलालाई बिदाई गर्ने क्रममा दिइने २० हजार निकै कम भएको भनदै उनीहरुलाई कम्तीमा पनि एक लाख रुपैयाँ दिनुपर्ने बताइन् । कार्यक्रममा अन्य महिला स्वास्थ्य स्वयंसेविकाले पनि आफूहरुको कामको मूल्यांकन नभएको र अहिलेकै सेवा सुविधामा काम गर्न गाह्रो भएको गुनासो गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा दिपेन्द्र रमण सिंहले नेपाली महिला तथा बालबालिकाको स्वास्थ्य सुधार गर्नका लागि महिला स्यास्थ्य स्वयंसेविकाले पुराएको योगदान निकै ठूलो भएको भन्दै उनीहरुको सेवा सुविधामा वृद्धि गर्न कन्जुस्याइँ गर्न नहुने जिकीर गरे । उनले त्यसका लागि प्रयासहरु भइरहेको पनि बताए ।

महिला सामूदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम वि सं २०४५ सालदेखि सुरु भएको हो । हाल देशभर ५१ हजार ४२३ जना स्वास्थ्य स्वंयंसेविका रहेका छन् । उनीहरुको मातृमृत्यु, बाल मृत्यु नवजात शिशु मृत्यु रोक्न तथा कम गर्न सबैभन्दा ठूलो भूमिका रहेको छ ।

नसिंङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिरा कुमारी निरौलाका अनुसार स्वास्थ्य स्वयंसेविकाले अहिले वार्षिक रुपमा १२ हजार यातायात खर्च तथा १० हजार पोषाक भत्ता पाउँदै आएका छन् । यसैगरी सरकारले उनीहरुको एक लाख बराबरको स्वास्थ्य बीमामा तिर्नुपर्ने ३५ सय रुपैयाँमा ५० प्रतिशत छुट दिएको छ । यसबाहेक उनीहरुले १० वर्ष सेवा पुगेमा बिदाई हुने बेलामा एकमुस्ट २० हजार रुपैयाँ पाउँछन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार