पोषिलो क्वाँटी

हेल्थ टिभी अनलाइन : हरियो तरकारी जत्तिकै फाइदाजनक क्वाँटी । तर हरियो तरकारी भन्दा धेरै सस्तो हुन्छ, टुसा उमारेको खाना। यसले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ। विभिन्न भिटामिन र खनिजको उत्कृष्ट स्रोत पनि हो, टुसा उमारेको खाना। रोगी, बालबालिका तथा वृद्ध बिरामी भएपछि धेरै खान सक्दैनन्। अनि कुपोषण हुन्छ। टुसाको सुप, तरकारीले कुपोषण हटाउन सकिन्छ।
टुसा उम्रिने क्रममा नै एउटा विशेष पाचन रस पनि पैदा हुन्छ जसले भोजनमा रहेको कार्बोहाइड्रेटलाई र प्रोटिनलाई सजिलै पच्ने गराउँछ। हाम्रो भोजन पचाउन शरीरलाई ‘इन्जाइम’को अत्यन्त आवश्यक हुन्छ। खाना पचेन भनेर कति जनाले त बोतलमा रहेको इन्जाइम किन्छन् र प्रयोग गर्छन् तर यो शरीरका लागि काम लाग्दैन। टुसादार गेडागुडी प्रयोग गर्दा इन्जाइम पर्याप्त पाइन्छ।
सुक्खा दाल, गेडागुडी र बीउ जस्ता खाद्य पदार्थमा भिटामिनहरू पनि हुन्छन्। तर, टुसा उम्रिने प्रक्रिया पछि भिजाउने, उम्रिने, टुसा पलाउने, यी खाद्य पदार्थमा रहेको भिटामिनको मात्रा धेरै वृद्धि हुन्छ। यसमध्ये भिटामिन सी एउटा महत्त्वपूर्ण तत्त्व हो। टुसा उमारेपछि ६ गुणा बढी भिटामिन सी पाइन्छ। भिटामिन बी कम्प्लेक्स र अन्य भिटामिन पनि त्यसैगरी वृद्धि भइरहेको हुन्छ।
यसरी टुसादार गेडागुडीले शरीरका लागि सस्तो र अति आवश्यक महत्त्वपूर्ण भिटामिन प्रदान गर्छ। टुसा उमारिएको खाना खाएमा पोषक तत्त्व पूर्ति गर्न अतिरिक्त खानेकुरा आवश्यक पर्दैन। टुसायुक्त खाना खानेले भिटामिन, क्याल्सियम, लवणजस्ता तत्त्व प्राप्त गर्न बजारबाट किनेर ट्याब्लेट, क्याप्सुल, टनिक आदि खानु पर्दैन। म आफैँ पनि मासु खान्नँ तर टुसा उमारेको मेथी र चना दिनदिनै खान्छु।
हाम्रो शरीरमा भिटामिनको जति आवश्यकता छ, त्यति नै खनिज पदार्थ पनि आवश्यक पर्छ। शरीरका लागि आवश्यक खनिज पदार्थ क्याल्सियम, लौहतत्त्व, फोस्फोरस, सोडियम, पोटासियम र म्याग्नेसियम आदि हुन्। तीमध्ये सबैभन्दा महत्त्वपूर्ण क्याल्सियम, लौहतत्त्व र फोस्फोरस हुन्। यी तत्त्वले हाम्रो हाड बलियो बनाउन र स्नायु प्रणाली सक्षम बनाउन सहयोग गर्छ।
जुनसुकै तरिकाले खाए पनि स्वस्थ्यकर हुन्छ टुसा
टुसा उमारेको चना, मुंग आदि अनेक तरिकाले खान सकिन्छ। उसिनेको अण्डा काटेर टुसा उमारेको चना, सानो केराउमा अलिकति कागती र नुन राखेपछि सलाद बन्छ। माथिबाट हरियो धनियाँ हालेपछि त झन् मिठो। टुसा उमारेको चना, सानो केराउ आलुमा हालेर तरकारी बनाएर खान सकिन्छ। बासी भातमा मिसाएर भुटेर खान पनि सकिन्छ।
मेथीसा उमारेर दिन दिनै खाँदा मधुमेहको समस्या भएका व्यक्तिहरूलाई पनि फाइदा गर्छ। सुत्केरी महिलालाई टुसा उमारेको मेथीको खिरले धेरै फाइदा गर्छ। यसमा रहेको लौह तत्त्वले रगत बढाउँछ।
नेपाली संस्कृतिमा पनि कुनै विशेष दिनमा टुसा उमारेर खाने चलन पुर्खाले चलाए, तर यसलाई दैनिक जीवनको अंग नै बनाउन सकियो भने हाम्रो स्वास्थ राम्रो हुन्छ।
डा अरुणा उप्रेती
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा