प्रत्यारोपण केन्द्रका लागि छिट्टै नयाँ भवन बनाउने स्वास्थ्य मन्त्री बस्नेतको प्रतिवद्धता
हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका लागि छिट्टै जग्गा खोजेर नयाँ भवन बनाएर सेवा सञ्चालन गरिने प्रतिवद्वता व्यक्त गरेका छन् । सोमबार केन्द्रको अनुगमनपछि बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले उपयुक्त भवनको अभावमा केन्द्रले प्रदान गर्ने सेवा विस्तार हुन नसेकेकोले जग्गा खोजेर त्यहाँ तत्काल नयाँ भवन बनाएर सेवा विस्तार गर्ने बताएका हुन ।
मन्त्री बस्नेतले भने, ‘ केन्द्रले मिर्गौला र कलेजोका विरामीलाई प्रदान गरिरहेको सेवा उत्कृस्ट छ । भवन अभावमा सेवा विस्तार गर्न सकिरहेको छैन् । केन्द्रका लागि जग्गा खोज्ने र नयाँ भवन बनाउने कुरामा प्रधानमन्त्रीज्यू पनि सकारात्मक हुनु हुन्छ । यो प्रस्ताव म छिट्टै मन्त्रीपरिषदमा लैजान्छु र कार्यान्वयन गर्छु ।’
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विरामीहरुलाई प्रदान गरिरहेको सेवा र मिर्गौला तथा कलेजो प्रत्यारोपणमा गरिरहेको उल्लेखनीय कामको तुलनामा राज्यले गरेको लगानी न्युन भएकाले लगानी बढाउन पनि आफु सकारात्मक रहेको मन्त्री बस्नेतले बताए । केन्द्रले प्रदान गरिरहेको सेवाहरुको विषयमा मन्त्री बस्नेतले निरीक्षण गरेका थिए । मन्त्री बस्नेतलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका मिर्गौला एवम कलेजो प्रत्यारोपण विज्ञ डा पुकारचन्द्र श्रेष्ठले केन्द्रले प्रदान गरिरहेको सेवा भौतिक संरचना अभावले विरामीको चाप अनुसार सेवा विस्तार गर्न नसकिरहेको अनुभव सुनाएका थिए । केन्द्रको निरीक्षणपछि मन्त्री बस्नेतले विरामीको चापको तुलनामा भवन नभएकाले डायलासिस सेवा समेत बिस्तार गर्न नसकिएकोले स्वास्थ्य मन्त्रालय चाडो भन्दा चाडो जग्गा उपलब्ध गराएर नयाँ भवन बनाउने अभियानमा अगाडि बढेको बताए ।
केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले कम्तिमा पनि ३० रोपनी जग्गा उपलब्ध भए नयाँ भवन बनाएर तत्कालका लागि सेवा विस्तार गर्न सकिने जानकारी दिएका थिए । मन्त्री बस्नेतले केन्द्र सहित भक्तपुर अस्पताल र भक्तपुर क्यान्सर अस्पताल सहितलाई गाभेर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने योजनालाई पनि सरकारले अगाडि बढाउने उल्लेख गरे । केन्द्रका निर्देशक डा श्रेष्ठका अनुसार केन्द्रले स्थापनाको एक दशकमा एक हजार एकसय ६ वटा मिर्गौला प्रत्यारोपण र १३ वटा कलेजोको सफल प्रत्यारोपण गरिसकेको छ ।
केन्द्रले बर्षमा ८ सय सर्जरी गर्ने गरेको जानकारी दिदै गत वर्षमात्र केन्द्रमा ५५ हजार विरामीले बहिरंग सेवा लिएको डा श्रेष्ठले जानकारी दिए । केन्द्रले अहिले सेवा सञ्चालन गरिरहेको भवन भक्तपुर अस्पतालको हो । केन्द्रको आफ्नै भवन छैन् । केन्द्रले लामो समयदेखि सेवा विस्तारका लागि जग्गा उपलब्ध गराइदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्दै आइरहेको भए पनि अहिलेसम्म त्यो पुरा हुन सकेको छैन् । पूर्वाधार अभावमा केन्द्रले अहिले पनि एक हजार भन्दा बढी मिर्गौला फेल भएका विरामीलाई सेवा दिन नसकेर पालो कुर्नु पर्ने अवस्था छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र नेपाल सरकारको एक मात्र अंग प्रत्यारोपण केन्द्र हो ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’