‘ब्रेन डेथ’ पछिको अंगदानबाट ८ जनाले पाउन सक्छन् नयाँ जीवन

हेल्थ टिभी अनलाइन : ब्रेन डेथ अर्थात मस्तिष्क मृत्यु भएका एक जना व्यक्तिबाट ८ जनाले नयाँ जीवन पाउन सक्छन् । मरेपछि खरानी भएर खेर जाने अंगबाट ८ जना जो यस संसारमा बाँच्न सक्छन् र उनीहरुलाई बचाउन सकिन्छ। यसरी खेर जाने अंग दान गर्न किन कन्जुस्याइँ गर्ने ? भनेर नेपालमा ब्रेन डेथपछिको अंगदान गर्न सक्ने बलिलाे कानून समेत आइसकेको छ ।
एक जना ब्रेन डेथ भइसकेको व्यक्तिबाट २ वटा मिर्गौला, एउटा कलेजो, एउटा मुटु, २ वटा फोक्सो, एउटा प्यान्क्रियाज, एउटा सानो आन्द्रा गरेर आठ वटा अंग प्रत्यारोपणका लागि निकाल्न सकिन्छ ।
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले ब्रेन डेथ अर्थात मस्तिष्क मृत्यु भएपछि खेर जाने अंगले अर्को कसैलाई नयाँ जीवन दिने जस्तो पुण्यको काम अरु कुनै हुनै नसक्ने बताउँछन्। उनले भने, ‘यो संसारमा आफनो खेर जाने अंग दान गरेर अरुलाई बचाउनु जस्तो महान काम अर्को के होला र ? यसको महत्ववारे सबैले बुझ्न जरुरी छ । तर नेपालमा सोचे अनुसार र बे्रन डेथको अनुपात अनुसार अंगदान गर्ने नगरेको देखिन्छ । ब्रेन डेथ भएका सबैको परिवारले अंग दान गर्ने काममा सहयोग गरिदिने हो भने सयौं बिरामी जो अंग कुरेर बसिरहेका छन् उनीहरुले नयाँ जीवन पाउने बताउँछन डा श्रेष्ठ ।
डा श्रेष्ठ आफन्तले ब्रेन डेथ भइसकेका व्यक्तिको अंग निकाल्न अझै पनि स्वीकृति दिन हिच्कचाउने गरेकाे बताउँछन् । खरानी भएर जाने अंग दिनुस, यसले अरूको ज्यान बचाउन सहयोग गर्छ भन्दा पनि धेरै जना मान्नु हुन्न। यसबारे व्यापक सचेतना जगाउन जरुरी भएको उनको भनाई छ । आफू मरेर पनि अरुलाई बाँच्न सहयोग गर्ने पुण्य काममा लाग्न उनले सबैलाइ आग्रह समेत गरे ।
मिर्गौलाले काम नगरेर डायलाइसिसमा बसिरहेका लाजिम्पाटका १९ वर्षीय मिलन श्रेष्ठ ब्रेन डेथ भएका एक व्यक्तिको मिर्गौला पाएर नयाँ जीवन पाउनेमध्येका एक युवा हुन्। जो अहिले सक्रिय जीवन बिताइरहेका छन् । नेपालमै पहिलोपटक ब्रेन डेथ भएका व्यक्तिका परिवारले दान गरेको मिगौला पाएर नयाँ जीवन पाएका १९ वर्षीय मिलनले आफूले ब्रेन डेथ भएका व्यक्तिले दिएको मिर्गौलाका कारण नयाँ जीवन पाएको बताए । उनले आफू जस्तै धेरै बिरामी जो डोनरको खोजीमा बर्षौ कुर्न बाध्य छन् उनीहरुलाई पनि सहयोग गरिदिन आग्रह गरे । श्रेष्ठ १० वर्षको हुँदा मिर्गौला फेल भएको थियो । परिवारमा कसैको पनि मिर्गौला म्याच नगरेपछि उनको प्रत्यारोपण हुन नसकेको अवस्थामा ब्रेन डेथपछि चिन्दै नचिनेको मानिसको मिर्गौलाले आफूलाई पूर्नजन्म दिएको भन्दै दातालाई उनले धन्यवाद दिए । उनले भने, आज म तपाइँहरु समक्ष दाताकै कारणले छु ।
कतिपय अवस्थामा अस्पतालहरूबाट ब्रेन डेथका घटनाको खबर समयमै नगरेर त कहिले परिवारबाट समेत अनिच्छा देखाएर यसले अपेक्षित रूपमा गति लिन नसकेको केन्द्रका निर्देशक डा श्रेष्ठ बताउँछन् । नेपालमा हालसम्म १३ जनाले ब्रेन डेथ भएकाको अंग पाएर नयाँ जीवन पाएका छन् ।
नेपालमा मस्तिष्क मृत्युसम्बन्धी बलियो ऐन बनिसकेको छ। तर कार्यान्वयन पक्ष फितलो हुँदा अनुमान गरे अनुसारको सफलता प्राप्त भएको छैन। ऐनमा व्यवस्था भएअनुसार कार्यान्वयन पक्ष प्रभावकारी हुने हो भने अंग प्रत्यारोपणमा क्रान्ति नै आउने डा श्रेष्ठको भनाइ छ।
नेपालमा पहिलो पटक २००८ मा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण भएको थियो । सुरुका दिनहरूमा नजिककाे नाताको दायरामा मात्रै रहने गरी प्रत्यारोपणका लागि अंग लिन सकिने कानुनी व्यवस्था थियो । पछि ऐन,संशोधनसँगै नाता प्रमाणीकरणको दायरा फराकिलो बनाउँदै दुई परिवारबीच अंग साटासाट गर्ने र ब्रेन डेथ भएकाको अंग दान गर्ने बाटो समेत खुलाइएकाे हाे । जसले गर्दा धेरैलाइ सजिलाे भएकाे छ ।
मस्तिष्कले पूर्ण रूपमा काम गर्न नसक्ने अवस्थालाई मस्तिष्क मृत्यु भनिन्छ। चिकित्सकीय भाषामा मस्तिष्क मृत्युको अर्थ व्यक्तिको मृत्यु नै हो। मस्तिष्क मृत्यु भएका व्यक्ति ज्युँदो हुँदैन। यसमा मस्तिष्कको काम गर्ने र गराउने क्षमता दुवै बन्द भइसकेको हुन्छ। यही कुरा सबैलाई बुझाउन जरुरी छ ।
मुख्यतया सडक दुर्घटनामा परेर, रुखबाट वा अग्लो स्थानबाट लडेर, कुनै कारणले टाउकोमा गम्भीर चोट लागेमा मस्तिष्कको मृत्यु हुन सक्छ । यसैगरी मस्तिष्कघात हुँदापनि मस्तिष्क मृत्यु हुन सक्छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु