Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोभिड विरुद्धको खोपले बढायो जेष्ठ नागरिकको मनोबल

कोभिड विरुद्धको खोपले बढायो जेष्ठ नागरिकको मनोबल

कल्पना आचार्य\ काठमाडौं : ललितपुर भैंसेपाटीकी ७७ वर्षीया सविता खड्कालाई एक वर्षअघि कोरोना संक्रमण भयो । उनी १२ दिन त अस्पताल नै बसिन त्यो क्रममा उनलाई निकै सकस भयो । तर अहिले भने उनी कोरोना विरुद्धको दुबै डोज खोप लगाउन पाएपछि भने ढुक्क भएकी छिन्। उनी भन्छिन्, ‘अहिले त कोरोना विरुद्धको खोप लगाइसकेकाले त्यति धेरै डर लागेको छैन्।’

उनी जस्तै काठमाडौंकाे एक खोप केन्द्रमा भेटिएकी ६५ वर्षीया चन्द्रकला शर्माले पनि कोरोना विरुद्धको खोप लगाएपछि आफनो मनोबल बढेको बताइ्न । उनले थपिन, ‘टोल छिमेकमा सबै जना संक्रमित हुँदा निकै डर लागेकाले घरबाट बाहिरसम्म निस्कन डर लाग्थ्यो तर अहिले त मलाई मास्क लगाएर हिंड्न खासै डर लागेको छैन्।’ उनले सुरुमा उच्च रक्तचाप र सुगरको बिरामी भएकाले खोप लगाउन हुँदैन भन्ने हल्ला सुनेकाले पहिलो चरणमा खोप नै लगाउन नगएको सुनाइन्। अहिले भने उनी खोप लगाएपछि निकै खुशी र ढुक्क देखिएकी छिन्।

सरकारले जेष्ठ नागरिकहरु कोभिड संक्रमणको उच्च जोखिममा रहेको भन्दै उनीहरुलाई खोप लगाउन प्राथमिकतामा राखेको छ । शुरुमै खोप सिमित मात्रामा आउँदा पनि उनीहरुलाई पहिलो चरणमै खोप दिइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेल बताउँछन्। तर शुरुमा खोप लगाउन भने धेरै जना डराएका थिए । पहिलो खोप लगाउन डराएका जेष्ठ नागरिकले भने दोस्रो डोज पाउँदासम्म यसको महत्व बुझिसकेका थिए । जसले गर्दा दोस्रो डोज लिन उनीहरु नै अग्रसर भएर आए, उनले थपे । तथ्यांकले पनि ६० वर्ष माथिका जेष्ठ नागरिकमा मधुमेह, उच्च रक्तचाप लगायतका अन्य दीर्घ रोगहरु समेत हुने भएकाले कोभिड भाइरसको संक्रमण पनि बढी हुने देखाएको छ । नेपालमा पनि कोरोना संक्रमणमा युवाहरुको समूह धेरै परे पनि मृत्यु भने ६० वर्ष माथिकाको धेरै रहेको छ ।

कोरोना भाइरसको संक्रमणबाट जोगिने एउटै उपाय भनेकै जनस्वास्थ्यका मापदण्ड जस्तै मास्कको उचित प्रयोग गर्ने, साबुनपानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने, २ मिटरको भौतिक दूरी कायम गर्ने र कोभिड विरुद्ध खोप लगाउनु नै हो । यो कुरा सबैले बुझ्ने हो र आफनो पालोमा नहिच्किचाइ खोप लगाउने हो भने यसबाट बच्नुका साथै जटिलताबाट बच्न सकिने बताउँछन् काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक तथा सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोला ।

नेपालमा अहिलेसम्म एक करोड ७८ लाख ५८ हजार भन्दा बढी डाेज खोप आइसकेको छ । ६२ लाख ५ हजार ७७० जनाले त पूर्ण खोप नै लगाइसकेका छन् । यसैगरी ६९ लाख ६० हजार ८२८  जनाले एक डोज खोप पाएका छन्। यसलाई प्रतिशतमा हेर्दा अहिलेसम्म नेपालमा ३२ प्रतिशत नागरिकले कोरोना विरुद्धको पहिलो मात्रा र २८ दशमलब ५ प्रतिशतले पूर्ण खोप पाइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । खोप सहज हुँदै जाँदा कोरोनाविरुद्धको लडाइँमा सरकार र जेष्ठ नागरिक मात्र हैन सम्पूर्ण नागरिकको मनोबल पनि बढेको छ ।

यस विषयमा मन्त्रालयका प्रवक्ता डा पौडेलले कोरोना विरुद्धको खोप पाएकाहरुमा मनोबल बढेको मात्र नभई उनीहरुमा बनेको कोरोना विरुद्धको एन्टीबडीले जटिलता र संक्रमण कम गराउन समेत सहयोग गरेको बताए । उनले केही समयअघि मात्र सरकारले गरेको एक अध्ययन अनुसार नेपालमा ६८ प्रतिशत नागरिकमा कोरोना विरुद्धको एन्टीबडी पाइएको समेत जिकीर गरे । मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४७ लाख ४२ हजार ९०८ जनाको परीक्षण गरिएको छ । यीमध्ये ८ लाख ८३ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ७ लाख ६२ हजार ४१६ जना भने संक्रमणमुक्त भएका छन्।

यसैगरी ११ हजार १०३ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । उता कोरोना संक्रमणबाट निको हुने दर भने ९६ दशमलब २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर १८ हजार ८४८ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।

नेपालमा अहिले पनि कोरोना विरुद्धको खोप जारी रहेको छ । यो वर्षको अन्तसम्ममा सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप दिने लक्ष्य राखे अनुरुप कोरोना खोप अभियान देशभर सञ्चालन भइरहेका छन्। खोप पाएकाहरुमा संक्रमण र जटिलता पनि कम देखिएको छ ।

थप समाचार