डेङ्गुको स्रोत नष्ट गर्ने अभियान शुरु

दमक : झापाको दमक नगरपालिकामा डेङ्गुको स्रोत नष्ट गर्ने अभियान शुरु भएको छ। डेङ्गुको भाइरसद्वारा सङ्क्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्ने भएकाले यसको स्रोत नष्ट गर्ने अभियान सुरु गरिएको दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले बताए।
यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइने भएकाले बजार क्षेत्रमा आफूहरूले स्रोतको अनुगमन गरेर त्यसलाई नष्ट गर्ने अभियानमा लागेको पनि अर्यालको भनाइ छ। उनका अनुसार यसले स–साना सफा पानी जमेको स्थानमा फूल पार्छ।
खासगरी वर्षाको पानी जम्ने टिनका डब्बा, रङका खाली डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, फूलदानी, गमला, पानीका ट्याङ्कीमा यसले फूल पार्छ। सहरी क्षेत्रमा यस्ता वस्तु धेरै हुने भएकाले पनि यो लामखुट्टे शहरमा बढी देखिने गरेको उनले बताए।
वडा नं. ५ का अध्यक्ष इन्द्र गुरुङ, वडा नं. ८ का अध्यक्ष पशुपतिराज गौतम, नगरपालिकाका प्रशासन शाखा प्रमुख मोहन ओली, स्वास्थ्य स्वयंसेविका सहितको टोलीले जमेको पानी भएका ठाउँको अनुगमन गरेर नष्ट गर्न निर्देशन दिएका थिए।
स्वास्थ्यकर्मी बुद्धिशेखर भट्टराईका अनुसार डेङ्गु एडिस एजेप्टाई र एडिस एल्वाेपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल सङ्क्रमणका रूपमा लिइन्छ। यो भाइरस डेङ्गु–१, डेङ्गु–२, डेङ्गु–३ र डेङ्गु– ४ गरी चार प्रकारका हुन्छन्। एडिज लामखुट्टे कालो रङको हुन्छ, जसमा सेतो थोप्ला पनि देखिन्छ।
यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्छ। औलो उत्पन्न गर्ने लामुखुट्टे फोहोर पानीमा पाइने भए पनि डेङ्गु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फूल पार्छ।
दमकमा दुई वर्षअघि डेङ्गुले महामारीको रूप लिएको थियो। सरकारी दमक अस्पतालमा त्यो समयदेखि अहिलेसम्म पनि डेङ्गु रोग जाँच तथा उपचारका लागि केन्द्र तोकिएको छ।
निःशुल्क रूपमा किटको माध्यमबाट अस्पतालमा डेङ्गु परीक्षणको व्यवस्था मिलाइएको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले बताए।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा