अञ्चल अस्पतालमा दरबन्दी १३, कार्यरत दुर्इ, मेसु बन्छन् सबै विषयकाे विज्ञ

बाग्लुङ : धौलागिरी अञ्चल अस्पतालमा १३ विशेषज्ञसहित २३ जना डाक्टरको दरबन्दी छ तर, दुई जना मात्र विशेषज्ञ डाक्टर छन्। अस्पतालमा हाल केही मेडिकल अधिकृत र ११ औं तहका मेडिकल सुपरिटेन्डेन्ट(मेसु) छन्।
विशेषज्ञ नभए पनि मेडिकल सुपरिटेन्डेन्ट डा.सागरकुमार राजभण्डारीलाई सबै प्रकारको विज्ञ बन्न बाध्यता छ। त्यसमा पनि दैनिक आउने प्रसूति सेवालाई प्रभावकारी बनाउन बाध्यता बढी छ। अप्रेसन पनि उनैले गर्नुपर्छ। अस्पतालमा दैनिक दुई देखि चारजनासम्मको अप्रेसन हुन्छ। त्यसमा राजभण्डारी नै खटिनुपर्ने हुन्छ।
प्रमुख कन्सल्ट्यान्टको रूपमा मेसु भएका राजभण्डारीले त्यतिले मात्र सुख नपाएर रेडियोलोजिस्ट, बालरोग, फिजिसियन र हाडजोर्नी, नाक कान घाँटीको पनि काम गर्दै आएका छन्। मागेको दरबन्दी नपाएपछि यी सबै काम गर्नुपर्ने बाध्यता रहेको राजभण्डारी सुनाउँछन्।
बाग्लुङ–पोखरा राजमार्ग बन्दै गरेकाले त्यस क्षेत्रबाट पोखरा पुग्न पाँच घण्टा लाग्छ। त्यसैले तत्काल अप्रेसन गर्नुपर्ने बिरामीको ज्यान जाने सम्भावना हुने भएकाले अप्रेसन गर्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ। उनले पटक पटक मन्त्रालयमा दरबन्दी अनुसारका डाक्टर र विशेषज्ञ माग गरेको बताए।
केही समयदेखि अस्पताल विकास समिति पनि खारेज भएको छ। नयाँ समिति बनेको छैन। व्यवस्थापकीय कामका लागि चिकित्सकहरुकै टोलीले सामाजिक अगुवाको सल्लाहमा काम गरिरहेका छन्। अस्पतालमा रेडियोलोजिष्ट र नाक कान घाँटीको मात्र विज्ञ आएका छन्। प्रसूति विभागकी डा. अस्मिता पाठक समेत आफैं सुत्केरी बिदामा छिन्।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा