Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्थानीय तहले गरे औषधिमा अनियमितता

स्थानीय तहले गरे औषधिमा अनियमितता

हुम्ला : यहाँका स्थानीय तहले औषधिमा अनियमितता गरेको भेटिएको छ।  गाउँपालिका र औषधि वितरकको मिलेमतोमा मूल्य मेटाएर औषधि खरिद गरी अनियमितता गरेको स्थानीय बासिन्दाको आरोप छ।

हुम्लाको सार्केगार्ड गाउँपालिकाले खरिद गरेको मूल्य मेटाएको औषधि स्वास्थ्य संस्थामा पुगेपछि यसको खुलासा भएको हो । स्थानीय तहका सबै स्वास्थ्य संस्थामा वितरण गरिएको औषधिमा मूल्य भएको स्थानमा कालो मसी लगाएर औषधी वितरण गरिएको छ।

सर्केगाडका वडाहरूले खरिद गरेको औषधिमा मूल्य उल्लेख भए पनि गाउँपालिकाले खरिद गरेको औषधिमा मूल्य मेटिएको बराई स्वास्थ्यचौकीका अनमी विपना पुन मगरले बताइन्। ‘वडाले खरिद गरेको औषधिमा मूल्य थियो, तर गाउँपालिकाले खरिद गरेको औषधिमा पूरै मूल्य मेटिएर आएको छ,’उनले भनिन्।

सर्केगाड गाउँपालिका–५ का वडाध्यक्ष कर्ण शाहीले मूल्य मेटिएको औषधि आएको बताए। ‘हामीले खरिद गरेको औषधिमा मूल्य थियो’, वडाध्यक्ष शाहीले भने, ‘उही औषधि गाउँपालिकाले खरिद गर्दा मूल्य मेटाएको पाइएको छ।’

सर्केघाड ५ मा मात्रै होइन, अन्य वडाका स्वास्थ्य संस्थामा पनि त्यस्तै औषधि भेटिएको छ। गोठी स्वास्थ्यचौकीमा रहेको औषधिमा पनि मूल्य मेटाइएको पाइएको छ।

अनियमितता गर्न मूल्य मेटाएको स्थानीय बासिन्दाको भनाइ छ। नागरिकलाई भ्रममा पारेर अनियमितता गर्न मूल्य मेटाएको उनीहरूको आरोप छ ।

अनियमितता भएको छैनः स्वास्थ्य संयोजक धामी

सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीले अनियमितता नभएको दाबी गरे । वितरकसँग मिलेरै औषधिको मूल्य मेटाएको उनले स्वीकार गरे। ‘सहुलियत दरमा दिइएको औषधि बाहिर बिक्री नहोस् भनेर वितरकबाटै मूल्य मेटाएको हुँ’, धामीले भने। यसरी सात लाख दुर्इ हजारको औषधि खरिद गरिएको उनले बताए।

स्वास्थ्य संस्थामा औषधि अभाव

गाउँपालिकाले सात लाखको औषधि खरिद गरेको जनाए पनि स्वास्थ्य संस्थाहरूमा भने अभाव देखिएको छ। सर्केगाडका पाँचवटै स्वास्थ्यचौकी र दुईवटा सामुदायिक स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको जनाइएको छ। गाउँपालिकाले थोरै मात्रै औषधि दिने गरेको छ। यसले गर्दा दुई–तीन सातामै औषधि अभाव हुने गरेको स्वास्थ्यकर्र्मीको भनाइ छ।

स्वास्थ्य संयोजक धामीले औषधिपर्याप्त मात्रामा खरिद गरिएको दाबी गरे। ‘आपतकालीन अवस्थाका लागि औषधि ‘स्टक’ राखेका छौँ,’उनले भने।

  • नवराज महतरा

    महतरा हेल्थ टिभी अनलाइनका प्रदेश ६ का संवाददाता हुन् ।

थप समाचार