‘परीक्षणको दायरा नबढाए सुदूरपश्चिम क्वारेन्टाइनमा बसेकाको कोरोना परीक्षण गर्न कम्तिमा १ वर्ष लाग्छ’
सुदूरपश्चिम प्रदेश कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार बुधबारसम्म सुदूरपश्चिममा विभिन्न क्वारेन्टाइनमा रहनेको संख्या ६४ हजार भन्दा बढी रहेको छ । यो संख्या अन्य प्रदेशको भन्दा निकै धेरै हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेशमा कसरी काम भइहरेको छ र यसका साथै क्वारेन्टाइन, आइसोलेसनको व्यवस्थापन, परीक्षण र संक्रमितको उपचारका विषयमा सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीसँग हेल्थ टिभी अनलाइनले गरेको कुराकानी:
सुदूरपश्चिम कोरोनाको उच्च जोखिम भएको प्रदेशको रुपमा लिइन्छ । कोरोना रोकथामका लागि कसरी काम गरिरहनु भएको छ ?
सुदूपश्चिम कोरोनाको उच्च जोखिममा रहेको प्रदेश हो । भारतसँग सिमा जोडिएकाले पनि यो प्रदेश अति नै जोखिममा छ । अहिले देशमा सबैभन्दा बढी संख्यामा क्वारेन्टाइनमा रहनेको संख्या पनि सुदूरपश्चिममा बढी छ । हाम्रो प्रदेशमा ६४ हजार भन्दा बढी मानिसहरु क्वारेन्टाइनमा रहेका छन। अझै भारतबाट काम गुमाएर घर फर्किनेको संख्या बढ्दो छ । उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा निकै गाह्रो छ। तर पनि आफनो स्तरबाट प्रयास गरिरहेका छौं । यसमा स्थानीय सरकारसँग मिलेर क्वारेन्टाइन,आइसोलेसन बनाउनेदेखि व्यवस्थापनको काम गरिरहेका छौं। तर केन्द्रबाटै स्पष्ट निर्देशिका नबेसम्म काम गर्न निकै गाह्रो छ ।
सुदूरपश्चिममा कोरोना परीक्षण कसरी भइरहेको छ ?
परीक्षण गर्नुपर्ने संख्या असाध्यै धेरै छ । तर हाम्रो क्षमताका कारण कछुवाको गतिमा मात्र परीक्षण भएको छ । क्वारेन्टाइनमा रहेका ६४ हजार भन्दा बढीकोे कोरोना परीक्षण कसरी गर्ने हो खै म त अलमलमा परेको छु । सेती प्रादेशिक अस्पतालमा भएको एउटा पीसीआर मेशिनबाट दैनिक बढीमा १५० देखि २५० जनाको मात्र परीक्षण गर्न सकिन्छ । तर दैनिक रुपमा १ हजार भन्दा बढी स्वाब संकलन भइरहेको छ । कसरी व्यवस्थापन गर्ने निकै समस्या छ क्वारेन्टाइनमा यति धेरै संख्या भएपछि परीक्षण क्षमता बढाउन सरकारले केही गर्नुपर्ने हो । अहिलेसम्म सुदूरपश्चिममा १६४ जनामा कोरोना पुष्टि भएको छ । २ जनाको मृत्यु भइसकेको छ । सुदूरपश्चिममा अहिले एक मात्र सेती अस्पतालमा पीसीआर परीक्षण ल्याब छ । हालसम्म पीसीआर विधिमार्फत ९९५४ र ४४ हजार ८ सय ८८ जनाको आरडीटी विधिमार्फत परीक्षण भएको छ ।
५ दिनका लागि स्वाब संकलन रोक्ने भनेर सूचना जारी गरिएको थियो ? फेरी शुरु भयो की स्वाब संकलन ?
हो, हामीले स्वाब संकलन धेरै नै हुन थालेपछि कम्तीमा ५ दिनका लागि स्वाब सकंलन रोकेर जम्मा भएका स्वाब परीक्षण गर्ने भनेर सूचना त जारी गर्यौं तर स्वाब संकलन गर्न रोक्न सकिएन । अहिले नै १६ सय ४० वटा स्वाब स्टोरमा छन्। भण्डारण क्षमता प्रयाप्त नभएका कारण पनि हामीले केही दिन स्वाब संकलन रोक्न पत्र पठाएका हौं । एक त परीक्षण क्षमता कम त्यसमा जनशक्तिको पनि कमी छ । त्यसैले चाहेर पनि धेरै परीक्षण हुन सकेको छैन्। क्वारेन्टाइमा भएकाहरुले परीक्षण भएन भनेर झगडा गर्न थालेका छन्। कतिपय क्वारेन्टाइनमा त नाराबाजी समेत गरेका छन्। अब हामीले कसरी बुझाउने यो कुरा निकै गाह्रो छ काम गर्न।
केन्द्रिय सरकारसँग समन्वय भइरहेको छ होला नि ?
समन्वय त भइरहेको छ तर सरकारले स्पष्ट निर्देशिका नबनाउँदा अप्ठेरो परेको छ । क्वारेन्टाइनमा रहेकाको व्यवस्थापन कसरी गर्ने । परीक्षण कसरी गर्ने कुन परीक्षण गर्ने यी सबैको विषयमा सरकारले शुरुदेखि नै स्पष्ट नीति नबनाउँदा हामीलाई गाउँघरमा गएर काम गर्न निकै गाह्रो भएको छ । सबै जना हामीसँग झगडा गर्न आउँछन। अब क्वारेन्टाइनमा बसेका सबै जना पीसीआर परीक्ष्णको माग गर्दै नारा जुलुसमा उत्रिन थालेका छन्। उनीहरुलाई हामी पीसीआर त कुरै छोडौं आरडीटी परीक्षण सम्म पनि गर्न सक्ने अवस्थामा छैनौं । परीक्षण गर्न शुरु गर्न पाएको हँदैन कहिले किट सकिन्छ त कहिले के हुँदैन । प्रयाप्त आरडीटी किट सम्म नहुँदा समस्या भएको छ । अर्को कुरा क्वारेन्टाइनमा बसेका सबैको पीसीआर गर्न निकै गाह्रो छ । अब उनीहरु पीसीआर गदिर्एन भनेर विरोधमै आउन थालेका छन्। सबैको आरडीटी गरेर पोजेटिभ रिपोर्ट आएकाको मात्र पीसीआर परक्ष्णि गर्न सकेमा उनीहरु ढुक्क हुने अवस्था हुन्थ्यो । त्यो पनि गर्न सकिएको छैन्। अब सुदूर पश्चिममा मात्रै क्वारेन्टाइनमा रहेका सबैको पीसीआर परीक्षण गर्ने हो भने १ वर्ष सम्म परीक्षण गर्दा पनि सकिंंदैन । यो कुरा स्वास्थ्य मन्त्रालयले बुझ्न जरुरी छ । यो मैले धेरैपटक जानकारी पनि गराएको छु ।
क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था कसरी गरिरहनु भएको छ ?
अहिलेका अधिंकांश क्वारेन्टाइन विद्यालयमा बनाइएका छन्। धेरैको मापदण्ड नै पुगेका छैनन्। संख्या बढी हुँदा व्यवस्थापनमा पनि समस्या भएको छ । उनीहरुको खान बस्नमै समस्या भइहरेको छ । अर्को कुरा कोरोना संक्रमण देखिने वित्तिकै अस्पताल लैजाने भनेर शुरुमा भनियो तर यसले पनि समस्या बनाएको छ । सेती प्रादेशिक अस्पतालमा जम्मा २४ वटा आइासोलेसन बेड छन्। संख्या बढी भएमा कहाँ कसरी राख्ने भन्ने चिन्ता हुन्छ । अब क्वारेन्टाइनलाई नै आइसोलेसनमा स्तरोन्नती गरेर व्यवस्थित बनाएर त्यहीँ राख्न जरुरी छ । संक्रमित बढ्दै जाँदा सबै संक्रमितलाई अस्पतालमा राख्नै सकिंदैन्। लक्षण भएमा र संक्रमितलाई गाह्रो भए मात्र अस्पताल लैजानपर्छ । सुदूरपश्चिममा अझै यो समस्या बढ्ने देखिन्छ । भारतबाट रोजगारी गुमाएर नेपाल फर्किनेको संख्या बढिरहेका बेला उनीहरुले संक्रमण ल्याएर आउने सम्भावना अझ बढी छ । उनीहरुलाई तुरुन्त परीक्षण गरी व्यवस्थित आइसोलेसन सेन्टरमा राख्न जरुरी भइसकेको छ । अन्यथा अवस्था नियन्त्रण बाहिर जानसक्छ।
अहिलेकै गतिमा परीक्षण गरेर कहिलेसम्म सकिएला त ?
अहिलेकै गतिमा परीक्षण गर्ने हो भने सुदूरपश्चिमका क्वारेन्टाइनमा बसेकाको परीक्षण गर्न नै १ वर्ष लाग्न सक्छ । त्यसैले सरकारले अहिले नै स्पष्ट लक्षण नभएका र सिकिस्त नभएका व्यक्तिको परीक्षण गर्नुपर्दैन भनेर स्पष्ट रुपमा निर्देशिका जारी गर्न जरुरी छ । त्यसपछि हामी पनि उनीहरुलाई सम्झाउन सक्छौं । अर्को कुरा सबैको पीसीआर नसके आरडीटी सम्म परीक्षण गरेर घर पठाउन पाए उनीहरु ढुक्क हुने अवस्था हुन्थ्यो । परीक्षण नगरी पठाउँदा उनीहरु मानसिक रुपमा तनाव लिने पाइएको छ । त्यसैले परीक्षणको दायरा बढाउनका लागि सुदूरपश्चिममा अझ दुई स्थानमा पीसीआर मेशिन थप्नै पर्ने हुन्छ । यसले परीक्षणका दायरा बढाउँदै उनीहरुलाई छिटो रिपोर्ट पनि दिन सकिन्छ ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने