प्रदूषणपीडितले अब क्षतिपूर्ति पाउने

काठमाडौं : नेपालको संविधानले व्यवस्था गरेबमोजिम अब प्रदूषणबाट पीडित व्यक्तिले तोकिएबमोजिम क्षतिपूर्ति पाउने भएका छन्।
त्यसका लागि सरकारले वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानूनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था गर्न ‘वातावरण संरक्षण ऐन, २०५३ मा आवश्यक संशोधन गर्ने तयारी थालेको छ।
पीडितलाई प्रदूषकबाट क्षतिपूर्ति पाउने व्यवस्था गर्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘वातावरण संरक्षण ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक’ सङ्घीय संसद् सचिवालयमा दर्ता गराउनुभएको हो ।
सो प्रावधान लागू गर्न मन्त्रालयले मूल ऐनको दफा १७ मा संशोधनको प्रस्ताव गरेको जनाएको छ। प्रस्तावअनुसार कसैले वातावरण ऐन विपरीत प्रदूषण वा फोहरमैला गरेको कारणबाट कुनै व्यक्ति वा संस्थालाई हानि नोक्सानी पुगे त्यस्तो व्यक्ति वा संस्थाले क्षतिपूर्ति भराई पाउन निवेदन दिन सक्नेछ।
त्यस्तो निवेदनका सम्बन्धमा तोकिएको अधिकारीले क्षतिको यकिन गरी त्यसरी हानिनोक्सानी पुर्याउने व्यक्ति, संस्था वा प्रस्तावकबाट पीडितलाई तोकिएबमोजिम क्षतिपूर्ति भराई दिनुपर्ने विधेयकमा प्रस्ताव गरिएको छ ।
नेपालको संविधानको भाग ३ को मौलिक हकअन्तर्गत धारा ३० मा स्वच्छ वातावरणको हकसम्बन्धी व्यवस्था छ। सो धारामा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनुका साथै वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानूनबमोजिम क्षतिपूर्ति पाउने हक हुने उल्लेख छ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा