सर्पदंशमा परम्परागत उपचार विधि प्रयोग नगर्न चिकित्सककाे सुझाव
चितवन : सर्पले डसेमा परम्परागत विधि प्रयोग नगर्न विशेषज्ञले सुझाव दिएका छन्। उनीहरूले सर्पले डसेको अंग नचलाई जतिसक्दो छिटो अस्पताल पुर्याउनु नै उत्तम उपाय भएको बताएका छन्।
वर्षातकाे मौसम भएकाले सर्प बढी मात्रामा बाहिर निस्कने गर्छ। खेतबारी र झाडीमा काम गर्नुपर्ने भएकाले पनि सर्पले डस्ने जोखिम यो मौसममा बढी हुने गर्छ।
भरतपुर अस्पतालमा सर्पदंशको उपचार र अनुसन्धान गरिरहेकाे प्रा.डा. विजयप्रसाद पौडेल सर्पले डसेमा परम्परागत विधिबाट उपचार गर्नाले धेरैको अकालमा ज्यान जाने गरेको बताउँछन्। जतिसक्दो छिटो सर्पदंशको उपचार हुने ठाउँमा पुर्याउन सकेमा बचाउन सकिने उनको भनाइ छ ।
पाैडेलका अनुसार सर्पले टोकेको अंग चलाइरहनु हुँदैन। खुट्टामा विषालु सर्पले डसेको भए बिरामीलाई हिँडाएर अस्पताल लग्नुहुँदैन। शरीरको जुन भागमा सर्पले डसेको छ, त्यो भागलाई नचलार्इ, स्थिर गरी बिरामीलाई अस्पतालसम्म पुर्याउनुपर्छ। सर्पले डसेको अङ्ग मुटुभन्दा माथि लग्नु हुँदैन। डसेको भागलाई बढी चलाउँदा विष फैलिने क्रम बढ्छ।
यसैगरी विषालु वा विषहीन जुनसुकै सर्पले डस्दा परम्परागत विधिअनुसार विष निक्लियोस् भनेर डसेको ठाउँमा चिरेर रगत बगाउने चलन छ। कहिलेकाहीँ मुखले चुसेर रगत झिक्ने पनि गरिन्छ। यस्तो गर्दा विष बाहिर निस्किँदैन तर अझ छिटो शरीरमा फैलिनुका साथै विभिन्न प्रकारको संक्रमणको जोखिम बढ्छ।
सर्पदंश भएको ठाउँमा आगोले डाम्नु, चुस्ने वा काट्नेजस्ता प्रक्रिया अपनाउनु गलत भएको प्रा.डा. पौडेलको भनाइ छ। चिकित्सकका अनुसार मुखले चुस्दा रगतको नली खुल्ला हुन्छ र विष चाँडै फैलिन्छ।
विज्ञहरुका अनुसार सर्पले डसेको बिरामी उत्तेजित हुने गर्छन्। यसले शरीरमा रगतको सञ्चार बढ्छ र यसले विष फैलाउँछ। बिरामीको डर घटाउने उपाय गर्नुपर्छ । साथै उनीहरुमा हृदयाघातसमेत हुनसक्ने भएकाले बिरामीलाई सान्त्वना दिएर शान्त राख्नुपर्ने विज्ञहरू बताउँछन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’