गर्मीयाममा यसरी गर्नुहाेस् आँखाकाे सुरक्षा

हामी सबैलाई थाहा नै छ, आँखा शरीरको अत्यन्त संवेदनशील अङ्गमध्ये एक हो। गर्मी बढेसँगै आँखाका समस्या लिएर बिरामीहरू अस्पताल आउने क्रम बढ्छ।
जाडो सकिएर गर्मी शुरु हुने बेलामा आँखाको समस्या बढी देखिन्छ। चैतको अन्तिमतिरबाट हावा चल्ने र हावामा भएका धुलोका कण आँखामा जाने सम्भावना धेरै रहन्छ। त्यसैले पनि यो समयमा आँखा जोगाउन जरुरी छ। यो समयमा संक्रमणका कारण आँखा पाक्ने समस्या पनि धेरै देखिन्छ। संक्रमण हुनेबित्तिकै चिकित्सकलाई देखाएर औषधि राखे निको हुन्छ। तर धेरै मानिस आँखा चिलाए या बिझाए पसलमा गएर औषधि किनेर राख्ने गर्छन्। यसरी चिकित्सकको सल्लाहविना आँखामा कुनै पनि औषधि राख्न हुँदैन।
पसलमा पाइने औषधिमा ‘स्टेरोएड’ धेरै भएको हुनसक्छ। यसले आँखाको नानीमा सिधै असर गरेर अन्धोपन समेत निम्त्याउन सक्छ। केही मानिस यही कारण आँखाको ज्योति गुमाएर हामीकहाँ आइपुग्छन्। आँखाको सुरक्षाका लागि अपनाउनुस्, यी उपाय–
आँखा पोल्ने, चिलाउने, रातो हुने र पाक्नेजस्ता समस्याबाट बच्न विशेष सावधानी अपनाऔँ।
पहिलो कुरा त प्रत्येक दिन बिहान र बेलुका आँखा सफा चिसोपानीले धुने गरौँ।
आँखामा समस्या हुनेबित्तिकै जथाभावी आफूखुशी औषधि राख्ने नगरौँ।
आँखा चिलायो भनेर हातले माड्ने नगरौँ। यसले संक्रमण झन् बढी फैलिन्छ।
संक्रमण भएको आँखा प्रत्येक पटक छुँदा वा औषधि राखेपछि राम्ररी साबुनपानीले हात धुने गरौँ।
गर्मीमा बाहिर हिँड्दा चश्मा प्रयोग गर्दा आँखालाई सिधै घामबाट जोगाउन मात्र होइन धुलोबाट पनि जोगिन सकिन्छ ।
आँखा पोलेको छ भने डाक्टरको सल्लाह बमोजिम चिसो बरफ या आइसले सेक्न सकिन्छ। घरमा एकजनालाई आँखा पाक्ने समस्या भयो भने अन्य व्यक्तिलाई पनि हुने सम्भावना हुन्छ। त्यसकारण आँखा पाकेका बिरामीले केही समयका लागि सार्वजनिक स्थल, भीडभाड, विद्यालय, कलेज तथा मानिसको जमघट भएको स्थानमा नजानु नै राम्रो हुन्छ।
बिरामीले प्रयोग गरेको रुमाल साबुन लगायतका सामान अरुलाई प्रयोग गर्न दिनुहुँदैन। औषधि राखिदिने व्यक्तिले पनि साबुन पानीले राम्ररी हात धुनुपर्छ। यसरी हामी आँखामा हुने समस्याबाट जोगिन सक्छौँ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights