मोटा व्यक्ति उच्च रक्तचापको उच्च जोखिममा

डा मन बहादुर केसी, मुटुराेग विशेषज्ञ
एक जना वयस्क व्यक्तिको रक्तचाप माथि १४० वा सो भन्दा माथि र तल ९० वा सोभन्दा माथि भएमा त्यसलाई उच्च रक्तचाप मानिन्छ । रक्तचाप माथि वा तल गडबडी हुनु शरीरका लागि खतरापूर्ण मानिन्छ । रक्तचापको सामान्य अवस्था भनेको १२० \८० हो । त्यसमै काय राख्न सक्नु राम्रो । तर कहिलेकाहीं यसमा विविध कारणले तलमाथि हुनसक्छ ।
उच्च रक्तचापलाई साइलेन्ट किलरको रुपमा पनि लिइन्छ । यसको धेरै अवस्थामा कुनै लक्षण नै देखिंदैन र अन्तिममा यसले मुटु मिर्गौला, आँखा मष्तिष्कमा असर गरेर मानिसको ज्यानै लिनसक्छ । त्यसैले उच्च रक्तचापलाई वेवास्ता गर्न हुँदैन । अहिले मुटु, मिर्गौला, स्ट्रोकको प्रमुख कारण नै उच्च रक्तचापलाई लिइन्छ । त्यसैले यसको लक्षण नदेखिए पनि आफनो रक्तचाप कति छ भनेर ६ \६ महिनामा जाँच गर्नु बुद्धिमानी हुन्छ ।
कस्ता व्यक्ति उच्च रक्तचापको जोखिममा ?
सामान्यतया हाम्रो अस्वस्थकर जीवनशैली नै उच्च रक्तचापको प्रमुख कारण हो। तर उच्च रक्तचाप भएको पारिवारिक पृष्ठभुमिका व्यक्तिहरू अझ बढी यसको जोखिममा पर्छन । उच्च रक्तचाप परिवारमा आमा, बुवा, फुपु, काकामा छ भने त्यो वंशाणुगत रुपमा सन्तानमा हुने सम्भावना उच्च हुन्छ । यसैगरी नुनको सेवन बढी गर्ने व्यक्ति, शारीरिक रुपमा निष्क्रिय व्यक्ति, सुर्तीजन्य पदार्थको सेवन गर्ने, मद्यपान बढी गर्ने, चिल्लो खानेकुरा खाने, मोटोपना भएका व्यक्तिहरु तथा तनाव लिने व्यक्तिहरुमा उच्च रक्तचापको जोखिम बढी हुन्छ ।
उच्च रक्तचाप भएमा पहिलो कुरा त आफनो अस्वस्थकर जीवनशैलीलाई स्वस्थकर बनाउन जरुरी हुन्छ । बढी नुन, बढी गुलियो, चिल्लो खानेकुरा खान छोड्नैपर्छ । यसैगरी दैनिक शारीरिक व्यायाम गर्ने, तनाव नलिने, मोटोपना घटाउने लगायतका काम गर्न जरुरी हुन्छ । यदि जीवनशैली परिवर्तन गर्दा पनि उच्च रक्तचाप घटेन भने चिकित्सकको सल्लाह बमोजिम औषधीको सेवन गर्नुपर्ने हुन्छ । औषधी उपचार र सही जीवनशैली नै उच्च रक्तचाप व्यवस्थापन गर्ने मुख्य तरिका हो। उच्च रक्तचाप भएको व्यक्ति चिकित्सकसँग नियमित परामर्शमा रहनुपर्छ।
औषधीको बानी लाग्छ भनेर कतिपय बिरामीले औषधी खान आनाकानी गरेको पनि पाइन्छ । तर यसो गर्नु बुद्धिमानी होइन । उच्च रक्तचापका सुरक्षित औषधीहरु छन् ती औषधीको सेवन गरेर भविष्यमा हुने ठूलो क्षतिबाट जोगिन सकिन्छ । त्यसैले यदि खानै पर्ने अवस्था आएको छ भने चिकित्सकको परामर्श अनुसार औषधी सेवन गरेर अन्य रोगहरु लाग्नबाट जोगिन सकिन्छ । कतिपय अवस्थामा औषधीसँगै जीवनशैली परिवर्तन गरेमा कतिपय अवस्थामा औषधी खान नपर्ने अवस्था पनि आउनसक्छ । नेपालमा गरिएको एक अध्ययन अनुसार शहरी क्षेत्रका २० देखि २५ प्रतिशत जनसंख्यामा उच्च रक्तचापको समस्या भएको अनुमान गरिएको छ ।
(वरिष्ठ मुटुरोग विशेषज्ञ डा केसी ह्याम्स अस्पतालमा कार्यरत छन्।)
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै