‘छोरीलाई दाइजो होइन, क्यान्सरबाट जोगाउने एच पी भी भ्याक्सिन दिनुस्’

पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण एच पी भी अर्थात् ‘हयुमन प्यापिलोमा भाइरस’ हो। यसका कारण धेरै महिलाले ज्यान गुमाइरहेका छन्। त्यसो त पाठेघरको मुखको क्यान्सर अन्य कारणले पनि हुन्छ। जस्तै ‘प्राइभेट अंग’को सरसफाइमा ध्यान नपुर्याउने, धेरै जनासँग यौनसम्पर्क गर्नेे, धेरै बच्चा जन्माउने, कम उमेरमै विवाह गर्ने, अत्यधिक धूमपान गर्नेहरूमा पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्छ। तर सबैभन्दा बढी भने एच पी भी भाइरसकै कारण हुन्छ।
यो भाइरसका कारण हुने क्यान्सरबाट जोगिन भ्याक्सिन दिन सकिन्छ, जसलाई एचपीभी भ्याक्सिन भनिन्छ। एचपी भ्याक्सिन नेपालमा पनि उपलब्ध छ। सरकारले यो भ्याक्सिन निशुल्क उपलब्ध गराउने भनेर ‘पाइलट प्रोजेक्ट’का रूपमा शुरु पनि गरेको थियो। तर त्यो कार्यक्रम त्यति प्रभावकारी रूपमा अघि बढ्न सकेन त्यसैले यो सबैको पहुँचमा छैन।
यो अन्य भ्याक्सिनभन्दा निकै महँगो पनि छ। प्राइभेटमा एउटै भ्याक्सिनको लगभग ६ हजार रुपैयाँ जति पर्छ । यसको कोर्स पूरा गर्न तीन वटा भ्याक्सिन लगाउनु पर्छ। यसको मतलब एक छोरीलाई १८ हजार जति खर्च गर्नुपर्छ। तर सबै आमाहरूले गर्न सक्दैनन्। त्यसैले पनि यसलाई सबैको पहुँचमा पुर्याउनुपर्छ ।
छोरीहरूलाई नौ वर्ष पुग्नेबित्तिकै एच पी भी भ्याक्सिन’ चाहिँ लगाउने वातावरण बनाउन जरुरी छ, जसले पछि हुनसक्ने क्यान्सरबाट बचाउँछ। सबै आमालाई मेरो आग्रह– छोरीलाई दाइजो नै दिने हो भने पाठेघरको मुखको क्यान्सरविरुद्धको एच पी भी भ्याक्सिन दिनुस्। छोरीका लागि यो भन्दा ठूलो दाइजो अरु हुनै सक्दैन।
यो भ्याक्सिन नौ वर्षको उमेरदेखि ‘सेक्स लाइफ’ शुरु गर्नुभन्दाअघि नै दिनु राम्रो मानिन्छ। तर ९ देखि ४५ वर्ष सम्मका महिलाले समेत भ्याक्सिन लिन सक्छन्। यो उमेरसम्म पाठेघरमा ‘इन्फेक्सन’ नभएको भए अब उपरान्त हुने इन्फेक्सन रोक्ने काम गर्ने हुनाले ४५ वर्षसम्मका महिलाले एच पी भी भ्याक्सिन लिन मिल्छ। यो भ्याक्सिनको कोर्स भने पूरा गर्नैपर्छ, छ महिना भित्र तीन वटा भ्याक्सिन लगाएर।
आजभोलि मानिसहरूमा जनचेतनाको स्तर निकै बढेको छ। मेरो क्लिनिकमा धेरै आमाहरू आफैँ यो भ्याक्सिनका बारेमा बुझ्न आउँछन्। हामी यसबारे सबै कुरा बताउँछौँ। कसले लगाउने, किन लगाउने, लगाउँदा के हुन्छ, सबै बताउँछौँ।
अझ म त सबै आमाहरूलाई शुरुमै तपाईँको छोरी छ कि छैन भनेर सोध्छु। अनि भ्याक्सिनको बारेमा बताउँछु। दुःखको कुरा, भ्याक्सिन लगाउनुपर्छ भन्ने थाहा पाउँदापाउँदै पनि रकम अभावका कारण महंगो रहेछ भनेर नलगाउने पनि धेरै छन्। यो देख्दा निकै दुःख लाग्छ।
यो हामीले महंगो बनाएका होइनौँ। बाहिरबाट भ्याक्सिन आउँदा नै महंगो पर्छ। कमसेकम सरकारी अस्पतालमा निःशुल्क यो भ्याक्सिन दिएर छोरीहरूलाई क्यान्सरबाट जोगाउन जरुरी छ। भ्याक्सिन दिएर क्यान्सरबाट जोगिन सकिन्छ भने किन नदिने!
बरु कम मूल्य पर्ने लुगा किनेर लगाउन दिने तर हरेक आमाले आफ्ना छोरीलाई नौ वर्ष पुग्नेबित्तिकै एच पी भी भ्याक्सिन’ चाहिँ लगाउने वातावरण बनाउन जरुरी छ, जसले पछि हुनसक्ने क्यान्सरबाट बचाउँछ।
त्यसैले सबै आमालाई मेरो आग्रह– छोरीलाई दाइजो नै दिने हो भने पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एच पी भी भ्याक्सिन’ दिनुस्। छोरीका लागि यो भन्दा ठूलो दाइजो अरु हुनै सक्दैन।
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights
नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न
किम्स अस्पतालले नेपाली स्वास्थ्य संस्थासँग सीप विकास र क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने
सम्पादक आचार्यसहित ४ जना पत्रकारलाई ‘ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’
सुर्तीजन्य पदार्थ : वर्षेनी ३९ हजार नेपालीको लिन्छ ज्यान