के हाे मधुमेह, कसरी थाहा पाउने?

के हाे मधुमेह, कसरी थाहा पाउने?

रगतमा चिनी (सुगर)को मात्रा धेरै हुनुलाई मधुमेह अर्थात् डाइबिटिज भनिन्छ। ग्रन्थीमा हुने कोषहरू उत्पादन गर्ने प्याञ्क्रियाजले ‘इन्सुलिन’ भन्ने पदार्थ कम उत्पादन गरे वा उत्पादित इन्सुलिनले काम नगरे शरीरमा ग्लुकोजको मात्रा बढ्छ। यसकारण रगतमा चिनीको मात्रा बढ्छ।

बिहान खाली पेटमा रगत जाँच्दा चिनीको मात्रा १२६ मिलिग्रामभन्दा बढी देखियो भने यसको मात्रा बढेको मानिन्छ। १०० देखि १२६ मिग्राको बीचमा देखियो भने मधुमेह लाग्ने सम्भावना धेरै हुन्छ। यस्तो वेलामा चाँडै विशेषज्ञ चिकित्सककहाँ जानुपर्छ।

मधुमेह दुई प्रकारको हुन्छ। पहिलाे टाइप वान। दाेस्राे टाइप टु। पहिलाे इन्सुलिनमा भर पर्ने मधुमेह हो। शरीरले इन्सुलिन उत्पादन गर्न नसकेपछि यो रोग लाग्छ। यो रोग ३० वर्ष नपुग्दै पनि देखा पर्न सक्छ।  इन्सुलिन सुइको प्रयोग र उचित खानपिन यसको उपचार हो। नियमित व्यायामले यसलार्इ नियन्त्रणमा राख्न मद्दत गर्छ।

टाइप टु मधुमेह इन्सुलिनमा भर पर्दैन। यसमा प्याञ्क्रियाजले इन्सुलिनको उत्पादन गरे पनि त्यो शरीरका लागि चाहिने मात्रामा हुँदैन। प्याञ्क्रियाजले उत्पादन गरेको इन्सुलिनले राम्ररी काम गरेन भने याे किसिमकाे मधुमेह लाग्छ।

लक्षण

मुख सुख्खा हुने,

थकाइ लाग्ने,

आलस्य हुने,

पिसाब लाग्ने,

आँखा धमिलो हुने,

खाना बढी रुचि हुने,

खुट्टा पोल्ने,

खुट्टा झमझमाउने,

पिसाब फेरेको ठाउँमा कमिला लाग्ने,

कुनै पनि घाउ बिसेक हुन गाह्रो हुने आदि।

कसलार्इ हुन्छ?

यो रोग विशेषगरी मोटा, कम्मर र पेटमा बोसो जम्मा भएका मानिसलाई लाग्न सक्छ। घर परिवारमा आमाबाबु कसैलाई छ भने  छोराछोरीलार्इ पनि मधुमेह हुने सम्भावना हुन्छ। त्यस्तै, नियमित व्यायाम नगर्ने, तनाव लिने, विलासीपूर्ण जीवनशैली भएका, धूमपान र मद्यपान गर्ने मानिसलाई यो रोग लाग्ने सम्भावना बढी हुन्छ।

के खाने?

मधुमेह भएका मानिसले सादा खाना खानुपर्छ। हरिया सागपात, दूध, दही र कम कार्बोहाइड्रेड भएका खानेकुरा बढी खानुपर्छ। लामो समयसम्म भाकै वा व्रत बस्नु हुँदैन। सकेसम्म छिटोछिटो खाइरहनुपर्छ।

के नखाने?

चिनी भएका, बढी कार्बाेहाइड्रेट भएका खानेकुरा खानुहुँदैन। आँप, केरा, अंगुरजस्ता गुलिया फलफूल खानु हुँदैन। बजारमा पाइने फास्ट फुड, जंक फुड र मिठाइहरू पनि खानु हुँदैन। रातो मासु र तेलमा तारेका खानेकुरा खानु हुँदैन। धूमपान र मद्यपान गर्नु हुँदैन।

के गर्ने?

मधुमेह भएका मानिसले रक्तचापलाई १३०\८० भित्र राख्नुपर्छ।  मुटु, मिर्गौला, आँखा, मस्तिष्क र छालालाई समेत संक्रमण गर्ने हुँदा मधुमेह भएका र लामो समयसम्म यसकाे औषधि सेवन गरिरहेकाहरूले बेलाबेलामा चिकित्सकसँग जाँच गराउनुपर्छ।  विलासीपूर्ण जीवनशैली त्यागेर शरीरलाई सक्रिय बनाउनु पर्छ। नियमित व्यायाम गर्नुपर्छ।