Health TV Online
Health TV Online
Health TV Online

नेपालमा मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्ति हेमराज : भन्छन्, मिर्गौला बिग्रिँदैमा मरिँदैन

नेपालमा मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्ति हेमराज : भन्छन्, मिर्गौला बिग्रिँदैमा मरिँदैन

ठ्याक्कै १० वर्ष अघि अर्थात् २०६५ साल साउन २४ गते देखि नेपालमा मिर्गौला प्रत्यारोपण शुरु भएको हो।याे हिसाबले नेपालमा मिर्गौला प्रत्यारोपण शुरु भएको यही साउन २४ गते दश वर्ष पुग्दैछ।

दश वर्षअघि शुरु गरेको मिर्गौला प्रत्यारोपणले कति फड्को मारेको छ भन्ने एउटा पाटो होला तर त्यति बेला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको बारेमा धेरैलार्इ थाहा नहुन सक्छ।

नेपालमा मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्ति हेमराज श्रेष्ठको जीवन कस्तो छ। उनी के गरिरहेका छन् ? हामीले जान्र खाेज्याैँ। काठमाडाैं बुढानीलकणठका रैथाने उनलाई झण्डै १६ वर्ष अघि अचानक रगत बान्ता हुन थाल्यो। वीर अस्पताल पुगे र जाँच गराए तर रोग पत्ता लागेन।

केही दिनको उपचारपछि पनि समस्या बीसकाे उन्नाइस नभएपछि त्रिवि शिक्षण अस्पताल पुगे त्यहा सम्पूर्ण जाँच गर्दा मिर्गौलामा गम्भीर समस्या भएकाे पत्ता लाग्यो। चिकित्सकहरूले उपचार शुरु गरे।’ त्यतिबेलासम्म मलाई मिर्गौला रोग के हो थाहा नै थिएन’, उनले भने।

‘पाँच वर्षजति त मैले अाैषधि नै खाएँ’, एक दशकअघिका दिन सम्झिए हेमराजले। तर अब औषधिले काम गर्न छोडेपछि चिकित्सकले उनलाई मिर्गौलाले काम गर्न छोडिसकाले प्रत्यारोपण गर्न सुझाए।

‘त्यसको केही महिना ‘हेमोडायलाइसिस’मा बसेँ’, श्रेष्ठले भने, ‘त्यसबेला नेपालमा प्रत्यारोपण हुँदैनथ्यो। मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाहले ‘तपाँइले कि जीवनभर डायलाइसिस गर्नुपर्छ कि प्रत्यारोपण नै हो। यो दुई विकल्पबाहेक अरू छैन’, भनिन्। त्यसपछि उनी भारत गए।

भारतमा त्यतिबेला मिर्गाैला प्रत्याराेपण गर्न २० देखि २५ लाख नेपाली रुपैयाँ लाग्थ्यो। पैसाको जोहो गरेर श्रीमतीसहित उनी भारत गए ।

दिल्लीको सर गंगाराम अस्पतालमा एक महिना बस्दा स्वास्थ्यमा झनै समस्या आयो। ‘त्यसबेला केही आत्तिएकाे थिएँ’, उनले भने। नेपालमा पनि प्रत्यारोपणको प्रयास हुँदैछ भन्ने उनले दिल्ली बसाइकै क्रममा सुने। यो सुन्नेबित्तिकै उनी ‘मर्नुपरे नेपालमै मर्छु’ भन्ने निर्णय गरेर फर्के र डा दिव्या सिंहलाई भेटे।

हेमराजलाई त्यतिबेला ‘नेपालमा प्रयारोपण नगर भारत जाऊ’ भन्नेहरु धेरै थिए। शिक्षण अस्पतालमा पहिलो भएकाले पनि धेरै आफन्तहरु डराएका थिए। तर श्रेष्ठले स्वदशमै उपचार गर्छु भन्ने आँट गरे। र सफल पनि भयो । ३५ वर्षको उमेरमा मिर्गौला प्रत्यारोपण गरेका हेमराज अहिले ४५ वर्षका भए।

हेमराजलाई त्यतिबेला ‘नेपालमा प्रत्यारोपण नगर भारत जाऊ’ भन्नेहरु धेरै थिए। शिक्षण अस्पतालमा पहिलो भएकाले पनि धेरै आफन्तहरु डराएका थिए। तर श्रेष्ठले स्वदशमै उपचार गर्छु भन्ने आँट गरे। सफल पनि भयो । ३५ वर्षको उमेरमा मिर्गौला प्रत्यारोपण गरेका हेमराज अहिले ४५ वर्षका भए।

हेमराजले नियमित परिक्षण र खानपानमा ध्यान दिएकाले अहिलेसम्म ठूलो समस्या नआएको बताउँछन्। उनी अहिलेसम्म सक्रिय जीवन बिताइरहेका छन्। घर जग्गाको काम गर्ने श्रेष्ठ बिहानैदेखि खटिन्छन्। ‘कहिलेकाहीँ त म मिर्गौला प्रत्यारोपण गरेकोछु भन्ने पनि बिर्सन्छु’, उनले हाँस्दै भने।

मिर्गौैला रोग लाग्दैमा मान्छे मरिहाल्छ र प्रत्यारोपण गर्दैमा निष्क्रिय हुन्छ भन्ने गलत सोचाइ हो। ‘म त पहिले भन्दा नि बढी सक्रिय छु’, उनले भने।

पहिलोपटक शुरु गरिएको प्रत्यारोपण सफल होला कि नहोला भन्ने त थियो नै, तर जे भए पनि रोगको सकस र डायलाइसिसको झण्झटिलो प्रक्रिया सहनुभन्दा प्रत्यारोपण गर्छु भन्ने निधो गरेर हेमराज प्रत्याराेपणका लागि तयार भए। उनलाई मिर्गौला दिन तयार भइन्, श्रीमती ज्ञानी श्रेष्ठ।

त्याे वेला धेरैले उनलाई नेपालमा प्रत्यारोपण नगर भनेर नसुझाएका होइनन्। ‘तिमीमाथि ‘ट्रायल’ गर्न खोजेका हुन्। त्यसैले तिमी मर्न पनि सक्छौ’ भन्दै धेरै आफन्तले अन्तिमसम्म सम्झाउने प्रयास गरे। ‘तर मैले मानिन, प्रत्याराेपण गराएरै छाडेँ’, हेमराजले भने, ‘मैले त्यसबेला सही निर्णय लिएको रहेछु जस्तो लाग्छ।’

श्रेष्ठले प्रत्यारोपण गरेदखि नै महिनाको कम्तीमा पन्ध्र देखि २० हजारको औषधि खानुपर्छ। ‘त्यो सबै खर्च म आफैँ काम गरेर जोहो गर्छु’, उनले भने ‘कसैप्रति निर्भर छैन।’

उता मिर्गौला दिने श्रीमती ज्ञानी पनि उत्तिकै सक्रिय छिन्। दुवै जना एउटा\एउटा मिर्गौलाको भरमा छन् तर पनि स्वास्थ्यमा ठूलो समस्या आएको छैन। बिरामीमा आत्मबल बलियो भयो भने रोगलाई नि जित्न सकिन्छ भन्ने लाग्छ हेमराजलाई।

मिर्गाैला राेगीका लागि अहिले सरकारले गरेकाे व्यवस्थाकाे उनी प्रशंसा गर्छन्। ‘अहिले त सरकारले नै मिर्गौला रोगीलाई सहुलियत दिन थालेकाे छ। हाम्रो पालमा त सबै आफैँले गर्नुपर्थ्यो’, उनले भने  ‘उपचार पनि यति सहज थिएन।’

उनलाई झट्ट हेर्दा कसैले पनि मिर्गौलाका रोगी भनेर भन्दैनन्। हेर्दै स्वस्थ र स्फूर्त देखिन्छन्। त्यसको रहस्य रहेछ, उनकाे सकारात्मक सोचाइ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।