Health TV Online
Health TV Online
Health TV Online

महिला जननाङ्ग छेदन : हानिकारक, अनावश्यक र मानव अधिकारविरुद्धको अभ्यास

महिला जननाङ्ग छेदन : हानिकारक, अनावश्यक र मानव अधिकारविरुद्धको अभ्यास

हेल्थ टिभी अनलाइन : महिला जननाङ्ग छेदन Female Genital Mutilation(FGM) अझै पनि विश्वका देश र समूदायहरुमा अभ्यासमा हुनु निकै दुखद र मानव अधिकारको गम्भीर हनन भएको अधिकारकर्मीहरुको बुझाई रहेको छ । चिकित्सकीय आवश्यकताबिना महिलाको बाह्य जननाङ्ग काट्ने वा क्षति पुर्‍याउने यो प्रथा अन्तर्राष्ट्रिय स्तरमा लैगिंक हिंसाको रूपमा मान्यता प्राप्त छ। संयुक्त राष्ट्रसंघ तथा विश्व स्वास्थ्य संगठनले यसलाई महिलाको स्वास्थ्य, सम्मान र स्वतन्त्रतामाथि प्रत्यक्ष आक्रमण भएको बताउँदै आएका छन् । तर पनि यो अभ्यास अझै पनि धेरै देशहरुमा व्याप्त छ यो विडम्बना हो उनीहरुले एक स्वरमा भने ।

She & Rights  सेसनमा बोल्दै उनीहरुले यो गलत अभ्यास विश्व समूदायबाट हटाउनैपर्नेमा जोड दिए । वेभिनारमार्फत आयोजना गरिएको सेसनमा केन्याकी नर्स इपिडिमियोलोजिस्ट तथा एफजिएमरसी पीडित क्याथरिन मेन्गान्यीले आफू समेत सो गलत अभ्यासको शिकार भएको बताउँदै त्यो सानो उमेरमा परेको आघात अहिले पनि पीडादायी भएको बताइन । उनी आफूले भोगको सो समस्या अन्य बालिकाले भोग्न नपरोस भनेर काम गरिरहेको समेत बताइन । उनले यो महिलाको शरीर तथा योनिकतामाथि आक्रमण गरेर थोपरिएको प्रथा भएकाले यसलाई सबै मिलेर हटाउनपर्नेमा जोड दिइन । उनले प्रत्येक बालिका र महिलाले सुरक्षित र हिंसामुक्त भएर बाँच पाउने अधिकार प्राप्त गरेको भन्दै यो अन्याय सहन नहुने जिकीर गरिन ।

सी एण्ड राइट्सकी संयोजक तथा महिला अधिकारकर्मी शोभा शुक्ला भन्छिन, महिला जननाङ्ग छेदन मानव अधिकार उल्लङ्घनमध्ये सबैभन्दा जघन्य अपराध हो। सन् २०१६ मा २० करोड महिलामा सीमित रहेको यो संख्या २०२४ सम्म आइपुग्दा १५ प्रतिशतले ले बढेर २३ करोडभन्दा बढी पुगेको छ। यसको करिब एक तिहाइ अर्थात् करिब ८ करोड घटना एसियामा हुन्छ। त्यसो त विश्वभरका धेरै देशहरूले यसलाई प्रतिबन्धित गरेका छन् र सन् २०३० सम्म यसलाई पूर्ण रूपमा अन्त्य गर्ने लक्ष्य राखिएको छ। तर के सम्भव छ त उनले प्रश्न गरिन ।

यसैगरी  The Asian-Pacific Resource & Research Centre for Women (ARROW) की कार्यक्रम अधिकृत सफिया रियाजका अनुसार महिला जननाङ्ग छेदन विश्वमा अझै पनि ९४ देशमा र एसिया र दक्षिणपूर्व एसियाका १३ देशमा यो गलत प्रथा प्रचलित छ- जसमा भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, इन्डोनेसिया, मलेसिया लगायतका देश पर्छन्। उनले भनिन्, ‘पछिल्लोा समय एसियामा स्वास्थ्यकर्मीहरूआफै संलग्न भई एफजिएमर सी गर्ने मेडिकलाइजेसन बढ्दो चिन्ताको विषय हो। यसले अहिलेको व्याप्त भएको हानिकारक अभ्यासलाई वैधता दिन्छ, जबकि यसका कुनै स्वास्थ्य लाभ छैन् हानी नै हानी छ । उनले यसका कारण बारम्बार हुने संक्रमण, दीर्घकालीन पीडा, प्रसूति जटिलता र मानसिक असरजस्ता गम्भीर समस्याकाबारेमा बोल्नपर्ने बताइन् ।

महिला अधिकारमा काम गर्ने दिव्या श्रीनिवासनले सार्वभौमिक आवधिक समीक्षा UPR जस्ता संयन्त्रहरूले सरकारलाई जवाफदेही बनाउन मद्दत गरेको बताइन्। हालै सार्वजनिक प्रतिवेदनले ९४ देशमा महिला जननाङ्ग छेदन रहेको र तीमध्ये ५९ देशमा मात्र स्पष्ट कानुन रहेको जनाएको छ। यद्यपि, मुद्दा दर्ता र न्यायमा पहुँच अत्यन्त दुर्लभ रहेको प्रतिवेदनले देखाएको छ।

स्मरण रहोस् -महिला जननाङ्ग छेदन भनेको चिकित्सकीय आवश्यकता बिना महिलाको बाह्य जननाङ्गको केही भाग काट्ने, छेदन गर्ने वा क्षति पुर्‍याउने हानिकारक अभ्यास हो। यो विश्व स्वास्थ्य संगठनले मानव अधिकार उल्लंघन र गम्भीर स्वास्थ्य जोखिम भएको प्रथा भनेर मान्छ। यो परम्परा र संस्कारका नाममा गरिंदै आइएको छ । यसमा बालिका वा महिलाको बाहिरी जननाङ्गमा अनावश्यक रूपमा काट्ने, छेदन गर्ने प्रक्रिया सामान्यतया गैर चिकित्सकीय व्यक्तिले पारम्परिक तरिकाले गर्ने गर्छन । जुन स्वास्थ्यका हिसाबले जोखिमपूर्ण अभ्यास मानिन्छ ।

कार्यक्रममा स्वतन्त्र लैङ्गिक न्याय अभियन्ता देबाञ्जना चौधरीले  महिला जननाङ्ग छेदन त हानिकारण अभ्यास भइरहेको छ यसलाई सबै मिलेर हटाउनैपर्छ तर भारतमा अझै पनि महिनावारी सम्बन्धी समस्या पनि हल हुन सकेको छैन् । महिनावारीका बारेमा बोल्दै भनिन, ‘भारतमा महिनावारी स्वास्थ्यलाई संविधानको धारा २१ अन्तर्गत सम्मानजनक जीवनको अधिकारसँग जोडेर अदालतले ऐतिहासिक निर्णय दिएको छ। तर यो विडम्बना पनि हो कि यस्तो आधारभूत अधिकारका लागि अदालत हस्तक्षेप गर्नुपर्‍यो। यसैगरी पत्रकार तथा वकिल Ruchi Bhattar ले महिनावारी स्वच्छता महिलाको मौलिक अधिकारको रुपमा स्थापित गर्नपर्नेमा जोड दिइन ।

सरकारी तथ्यांकअनुसार पछिल्ला चार वर्षमा करिब ४० लाख बालिकाले प्राथमिक शिक्षा छोडेका छन्, जसको एउटा प्रमुख कारण महिनावारीसँग सम्बन्धित पूर्वाधार र समर्थनको अभाव हो। स साना कुराले बालिकाको शिक्षामा असर परेको छ उनले भनिन । यो पाटो पनि बुझ्न जरुरी छ । उनले महिनावारीकै कारण, स्यानितटरी प्याड नभएका कारण विद्यालय छोड्ने अवस्था आउन नहुनेमा जोड दिइन । कार्यक्रममा महिलाका स्वास्थ्य तथा प्रजनन यौन अधिकारका विषयमा अब सबै मिलेर काम गर्नपर्नेमा र सबै सरोकारवालालाई झक्झकाउन आग्रह गरेका थिए ।

Humana People to People India का संयोजक सुब्रत मुहन्तेले महिलामा हुने स्तन क्यान्सर अर्को महिलाको बढदो समस्या रहेको जिकीर गरे र सरकारले नियमित स्तन जाँच प्याकेज ल्याउनपर्नेमा जोड दिएका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार