Health TV Online
Health TV Online
Health TV Online

टुथपेस्ट, गाजल र सिन्दुरमा भेटियो सिसाको अधिक मात्रा, प्रयोग गर्न असुरक्षित

टुथपेस्ट, गाजल र सिन्दुरमा भेटियो सिसाको अधिक मात्रा, प्रयोग गर्न असुरक्षित

हेल्थ टिभी अनलाइन : नेपालमा दैनिक प्रयोग हुने सौन्दर्य सामग्री व्यक्तिगत सरसफाइ तथा परम्परागत उत्पादनहरूमा सिसा (लिड) को मात्रा अत्यधिक भएको अध्ययनले देखाएको छ।

जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सेपेड)ले ‘लिड एक्सपोजर एलिमिनेसन प्रोजेक्ट अमेरिका’ को प्राविधिक तथा आर्थिक सहयोगमा गरेको अध्ययनले यस्तो नतिजा देखिएको हो । सो अध्ययनले प्रमुख शहरहरु काठमाडौं, पोखरा, बिराटनगर र जनकपुरबाट स्याम्पल संकलन गरेर सो अध्ययन गरेको थियो । अक्टोबरदेखि डिसेम्बर २०२५ सम्म ती चार शहरका खुद्रा पसलबाट १०० नमुना (३१ टुथपेस्ट, ४० सिन्दूर र २९ गाजल) संकलन गरी परीक्षण गरिएको थियो।

‘एटोमिक एब्जोर्प्सन स्पेक्ट्रोस्कोपी’ (एएएस)बिधिबाट गरिएको प्रयोगशाला परीक्षणमा ३१ प्रतिशत नमूनमा लिड अर्थात सिसा भेटिएको छ, जसलाई अध्ययनले गम्भीर तथा अत्यन्तै चिन्ताजनक अवस्था भएको निष्कर्ष निकालेको छ।

सिसा भेटिएका नमुनामध्ये ८७ प्रतिशतले युरोपियन युनियनले तोकेको ०.५ पीपीएम र ७७ प्रतिशतले अमेरिका तथा क्यानडाले निर्धारण गरेको १ पीपीएमको कडा मापदण्ड पार गरेका छन्। नेपालमा सौन्दर्य सामग्रीका लागि स्वेच्छिक रूपमा तोकिएको १० पीपीएम मापदण्डसमेत ५१ प्रतिशत नमुनाले उल्लङ्घन गरेका छन्।

उत्पादनअनुसार सिन्दूर सबैभन्दा उच्च जोखिमयुक्त देखिएको छ। परीक्षण गरिएका सिन्दूरमध्ये ४० प्रतिशत नमुनामा सिसा भेटिएको छ भने केही नमुनामा १२४ पीपीएमसम्म सिसा पाइएको छ। टुथपेस्टका ४५ प्रतिशत नमुनामा सिसा भेटिएको छ, जसमा बालबालिकाका लागि भनेर बजारमा उपलब्ध केही ब्रान्डसमेत समावेश छन्। गाजलमा सिसा भेटिने मात्रा कम भए पनि आँखामा प्रत्यक्ष प्रयोग हुने भएकाले यसको स्वास्थ्य जोखिम उच्च रहेको अध्ययनले जनाएको छ।

प्रदेशगत रूपमा काठमाडौं उपत्यकामा सबैभन्दा बढी ९४२.५ प्रतिशत नमुनामा सिसा भेटिएको छ। अध्ययनले “हर्बल” वा “प्राकृतिक” भनेर बिक्री हुने उत्पादनहरू समेत सिसाबाट सुरक्षित नरहेको तथ्य उजागर गरेको छ।

उक्त अध्ययन सार्वजनिक कार्यक्रममा सहभागी सरोकारवाला निकायका प्रतिनिधीहरुले सिन्दूर, टुथपेस्ट र गाजलमा सिसाको मात्राबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार