Health TV Online
Health TV Online
Health TV Online

नेपालमा नै मुटुको कृत्रिम भल्व राख्न थालेपछि विदेश जाने घटे

नेपालमा नै मुटुको कृत्रिम भल्व राख्न थालेपछि विदेश जाने घटे

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा नै मानिसको मुटुमा कृत्रिम भल्व राख्न थालेपछि विदेश उपचार गराउन जाने घटेका छन्। शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले ‘ट्रान्सक्याथर इरोटिक भल्व इम्प्लामेन्टेशन (टाभी)’ विधिबाट मुटुमा कृत्रिम भल्व राख्ने गरेको छ। यसअघि उक्त कृत्रिम भल्व राख्न भारतलगायत बिरामी विदेश जाने गर्दथे। उपचार पनि सस्तो र सजिलो भएकाले बिरामीले कृत्रिम भल्व नेपालमा नै राख्ने गरेका छन्।

हृदय केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले अहिलेसम्म छ बिरामीको मुटुको कृत्रिम भल्व राखिएको जानकारी दिए। एक कृत्रिम भल्व ह्याम्स अस्पतालले पनि राखेको छ। उहाँले एक बिरामीको सफलतापूर्वक कृत्रिम भल्व राखेपछि आत्मविश्वासले अन्य बिरामीको पनि राख्न थालेको बताए। नेपालमा पहिलो पटक केन्द्रले नै गत वर्ष फागुनमा मानिसको मुटुको कृत्रिम भल्व राखेको हो।

नेपालमा रु २५ देखि ३८ लाखसम्म र भारतमा रु ६० देखि ८० लाखसम्म खर्च हुने गरेको छ। उनका अनुसार एक हप्ताभित्र पुनः एक बिरामीको पनि मुटुको कृत्रिम भल्व राख्ने तयारी भइरहेको जानकारी दिए। “नेपालमा नै मुटुको भल्व राखिने भएपछि धेरै बिरामी हाम्रोमा नै आउने गरेका छन्”, उनले भने, “महिनामा एक–दुई जना कृत्रिम भल्व राख्न भारत जाने गर्दथ्ये, तर अहिले हामीले नै नेपालमा सुरु गरेदेखि बिरामी बाहिर गएका छैनन्।”

उनका अनुसार मुटुको कृत्रिम भल्व राख्न वार्षिक करिब १२ बिरामी भारत जाने गरेका थिए। केन्द्रले नै मुटुको भल्व राख्न थालेपछि भने एक बिरामी मात्र भारत गएको आफूले जानकारी पाएको उनले बताए। मुटुको एओर्टिक भल्व साँघुरो र उमेरका कारणले छाती चिरेर शल्यक्रिया गर्न जोखिम भएपछि उक्त भल्वको स्थानमा नयाँ कृत्रिम भल्व राख्ने गरिन्छ। यस विधिअनुसार तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमले निर्मित तार अर्थात् क्याथेटरद्वारा मानव निर्मित भल्व मुटुभित्र छिराएर एओर्टिक भल्वको स्थानमा प्रत्यारोपण गरिन्छ।

प्रत्यारोपण भएको भल्वले तुरुन्तै काम सुरू गर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसुस हुने गर्दछ। मुटुको एओर्टिक भल्व साँघुरो भएपछि मानिसमा छाती दुख्ने, बेहोस हुने र रिंगटा लाग्ने गर्दछ। उनका अनुसार उक्त एओर्टिक भल्वको वयस्क मानिसमा शल्यक्रियाद्वारा उपचार गर्न सकिन्छ भने वृद्धाअवस्थामा शल्यक्रिया गर्न असहज हुने हुँदा भल्व नै प्रत्यारोपण गर्नुपर्ने हुन्छ। मुटुबाट निस्कने मुख्य धमनीमा रहेको एओर्टिक भल्व साघुरिने रोगलाई ‘एओर्टिक स्टेनोसिस’ भनिन्छ।

यस रोगको प्रचलित उपचार भनेको शल्यक्रियामार्फत छाती तथा मुटु चिरेर भल्व प्रत्यारोपण गरिने विधि हो। वृद्धावृद्धामा यस रोगका शल्यक्रिया गरेर उपचार गर्दा जोखिम हुने भएकाले ‘टाभी’ विधिबाट मात्र सम्भव हुने उनले बताए।

केन्द्रले कृत्रिम मुटुको भल्व भारत, नेदरल्याण्डलगायत मुलुकबाट ल्याउने गरेको छ। बिरामीको मुटुमा २३ एमएम, २६ एमएम, २९ एमएम र ३१ एमएमका कृत्रिम भल्व राख्ने गरिन्छ।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार