Health TV Online
Health TV Online
Health TV Online

विपन्न बिरामीको भरोसा बन्दै खड्गी इन्स्टिच्युट, ४० जना बिरामीको नि:शुल्क शल्यक्रिया गरिने

विपन्न बिरामीको भरोसा बन्दै खड्गी इन्स्टिच्युट, ४० जना बिरामीको नि:शुल्क शल्यक्रिया गरिने

हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको कुपन्डोलमा रहेको खड्गी इन्स्टिच्युट अफ इन्डोयूरोलोजीले आरुस लाइफस्टाइल अस्पताल तथा रेड क्रसन्ट साेसाइटी अफ कुवेत( Red Crescent Society of Kuwait)  सँगको सहकार्यमा मिर्गौला पत्थरी तथा प्रोस्टेट ग्रन्थीका बिरामीका लागि नि:शुल्क शल्यक्रिया शिविर आयोजना गर्ने भएको छ ।

आगामी पुस १४ देखि १६ गतेसम्म तीन दिन एकैपटक ४० जना मिर्गौला पत्थरी र प्रोस्टेट ग्रन्थीका विपन्न बिरामीको लागि नि:शुल्क शिविर आयोजना गर्न लागिएको इन्स्टिच्युटका प्रबन्ध निर्देशक तथा कन्सल्टेन्ट युरोलोजिस्ट डा संजय खड्गीले जानकारी दिए ।

सो नि:शुल्क शिविरकाबारेमा जानकारी दिन शुक्रबार गरिएको पत्रकार सम्मेलनका क्रममा उनले खड्गी इन्स्टिच्युट विपन्न बिरामीका लागि सधैं एक कदम अघि रहेर सेवा दिने प्रतिवद्धता जनाए । उनले कसैले पनि उपचार सेवा नपाएर ज्यान गुमाउन नपरोस भनेर आर्थिक अवस्था कमजोर भएका बिरामीकै लागि निशुल्क शल्यक्रिया शिविरको आयोजना गर्न लागेको बताए । कार्यक्रममा डा खड्गीले भने, ‘हाम्रो उद्धेस्य नै हुने बिरामीसँग लिने र नहुनेलाई नि:शुल्क उपचार दिने हो । यसमा हामी सधैं कटिबद्ध छौं ।’

डा खड्गीले शिविरमा आउने बिरामीको शल्यक्रिया मात्र नभई उनीहरुलाई लाग्ने औषधि तथा बेड चार्ज समेत निशुल्क गरिने जानकारी दिए । उनले पत्थरी शल्यक्रियाका लागि मिनि पीसीएनएल विधि र प्रोस्टेट प्रन्थीका लागि बाइपोलार टर्भ विधिबाट बिरामीमा ठूलो चिरफार नगरी अत्याधुनिक प्रविधिबाट शल्यक्रिया गरिने समेन जनाए ।

सो शिविरबाट ४० जना विपन्न वर्गका बिरामीले निशुल्क शल्यक्रिया सेवा पाउने छन्। खड्गी इन्स्टिच्युटले यसभन्दा अघि पनि विपन्न वर्गका बिरामीका लागि निशुल्क शल्यक्रिया गर्दै आएको छ भने अफनो स्थापना कालदेखि हरेक महिना ४ जना विपन्न बिरामीको अत्यन्त कम शुल्कमा शल्यक्रिया गर्दै आएको छ ।

नेपालमा कयौ बिरामी आर्थिक अभावका कारण उपचार गर्न नसकेर मिर्गौला तथा प्रोस्टेट ग्रन्थी फेल हुने अवस्थामा पुग्ने अवस्थामा यस्तो निशुल्क शिविरबाट धेरै बिरामीलाई राहत हुने विश्वास इन्स्टिच्युटले लिएको छ ।

कार्यक्रममा डा खड्गीले यो एक वर्षमा आफूहरुले १४ सय ४० जना बिरामीको मेजर र माइनर गरी शल्यक्रिया गरेको र त्यसमध्ये २८ जनाको पूर्ण निशुल्क र ७५ जनाको अत्यन्त कम शुल्कमा शल्यक्रिया सेवा दिएको जानकारी दिएका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार