Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मधुमेह दिवसको अवसरमा आरुस लाइफस्टाइल अस्पतालले वाकाथन गर्दै

मधुमेह दिवसको अवसरमा आरुस लाइफस्टाइल अस्पतालले वाकाथन गर्दै

हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको कुपन्डोलमा रहेको आरुस लाइफस्टाइल अस्पतालले विश्व मधुमेह दिवसको अवसर पारेर वाकाथन अर्थात प्रभातफेरी गर्ने भएको छ । बुधबार अस्पतालले पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रमकाबारेमा जानकारी दिएको हो । मधुमेह रोग सम्बन्धी जनचेतना जगाउने उद्धेस्यले अस्पतालले मधुमेह तथा इन्डोक्रिनोलोजी एसोसिएसन अफ नेपाल, प्रज्ञा फाउन्डेसन नेपाल, साउथ एसियन फेडेरेसन अफ इन्डोक्राइन सोसाइटीज र रोटरी क्लब अफ एलको सहकार्यमा उक्त वृहत कार्यक्रम गर्न लागेको जानकारी दिएको छ ।

शनिबार बिहान ७ बजे पाटन दरबार स्क्वायर परिसरबाट वाकाथन सुुरु भई पुल्चोक, कुपन्डोल हुँदै माइतीघर मण्डलामा गएर अन्तरक्रिया कार्यक्रम भई समापन हुनेछ । कार्यक्रममा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन प्रमुख अतिथी र काठमाडौं महानगरपालिकाका उप मेयर सुनिता डंगोल विशेष अतिथीका रुपमा सहभागी हुने अस्पतालका मेडिकल डाइरेक्टर डा अमित शाक्यले जानकारी दिए । नेपालमा पछिल्लो समय प्रि डाइबेटिज, डाइबेटिज, मोटोपना अत्यधिक बढिरहेको सन्दर्भमा यसलाई कसरी कम गर्न सकिन्छ भन्दै उक्त वाकाथन कार्यक्रम आयोजना गर्न लागिएको पनि उनले जानकारी दिए ।

कार्यक्रममा अस्पतालका सिइओ डा सन्तोष शाक्यले वाकाथन कार्यक्रम गर्नुको मुख्य उद्धेस्य मधुमेह सम्बन्धी जनमानसमा रहेको भ्रम हटाई यसबारे जनचेतना जगाउनु रहेको बताए । उनले मधुमेह भइसकेपछि यसको उपचारमा जाने भन्दा पनि यो रोग लाग्नु भन्दा पहिलेदेखि नै जीवनशैली र खानपानमा ध्यान दिनुपर्नेमा जोड दिए । यसैगरी कार्यक्रममा साउथ एसियन फेडेरेसन अफ इन्डोक्राइन सोसाइटीजकी अध्यक्ष डा दिना श्रेष्ठले मधुमेहकाबारेमा अझै पनि जनमानसमा चेतना नपुगेको भन्दै यसबारेमा व्यापक चेतना बढाउनुपर्नेमा जोड दिइन । उनले वयस्कमा र अलि बढी उमेरमा हुने टाइप २ मधुमेह अहिले सानै उमेरदेखि देखिन थालेको भन्दै यसबारे बेलैमा सचेत  भएर पाइला चाल्नुपर्ने बेला आएको बताइन्।

नेपालमा मधुमेहको व्यापकता शहरी क्षेत्रमा १५ प्रतिशत र ग्रामीण क्षेत्रमा ५ प्रतिशतसम्म रहेको अनुमान गरिएको छ । हरेक वर्ष नोभेम्बर १४ तारिखका दिन मधुमेह रोग सम्बन्धी जनचेतना जगाउने उद्धेस्यले विश्व मधुमेह दिवस मनाउने गरिन्छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार