घर घरमा डेंगुका बिरामी, सिकिस्त भएर अस्पताल पुग्ने बिरामीको संख्या पनि बढ्दो
हेल्थ टिभी अनलाइन \काठमाडौं : यतिबेला काठमाडौं उपत्यका लगायतका ७६ जिल्लामा डेंगुका बिरामी फेला परेका छन्। सबैभन्दा बढी बागमती प्रदेशमा डेंगु फैलिरेहेको पाइन्छ । अझ भनौं बागमती प्रदेशका घर घरमा डेंगुका बिरामी छन् भन्दा पनि हुन्छ । काठमाडौं उपत्यकाका सबै अस्पताल यतिबेला बिरामीले भरिएका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगंज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल लगायतमा बिरामीको निकै भिडभाड देखिन्छ ।
डेंगु भाइरस संक्रमित लामखुट्टेको टोकाइबाट हुने डेंगु ज्वरोले महामारीकै रुप लिंदा पनि सरकारले भने खासै चासो देखाएको देखिंदैन्। मंगलबारसम्म देशभर ३२ जनाको डेंगु संक्रमणका कारण मृत्यु भएको छ । यसैगरी २५ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन्। जबकी यो संख्या साउन महिना यताको मात्र हो ।

सरकारले लामखुट्टे खोज र नष्ट गर अभियान चलाएको भए पनि त्यो खासै प्रभावकारी देखिएको छैन्। पानी परिरहेकाले डेंगु संक्रमण अझ फैलिने अनुमान विज्ञहरुले लगाएका छन्।
डेंगु संक्रमण हुँदा उच्च ज्वरो आउने, वाकवाकी आउने, मांसपेशी दुख्ने, टाउको दुख्ने लगायतका लक्षण देखा पर्छन । कतिपयको राता बिमीरा आउने सेमत हुन्छ । शरीरमा प्लेट्सलेट्स कम भएर बिरामीको मृत्यु समेत हुने गर्छ । पछिल्लो समय सिकिस्त भएर अस्पताल भर्ना हुने बिरामीको संख्यामा पनि वृद्धि भएको टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेर बहादुर पुन बताउँछन्। डेंगु संक्रमणलाई व्यवास्ता गर्दा ज्यानै जानसक्ने हुँदा विशेष ख्याल गर्न उनको आग्रह छ ।
लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगुबाट जोगिनु हो । त्यसका लागि पूरा बाहुला भएको लुगा लगाउने, घर कार्यालय वरपर पानी जम्न नदिने, झुल लगाएर मात्र सुत्ने, पानी छोपेर राख्ने लगायतका काम गर्न सके धेरै हदसम्म डेंगु संक्रमणको जोखिमबाट बच्न सकिन्छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य