नेपालमा डेंगु बिरामीको संख्या झण्डै १० हजार पुग्यो, बजारमा सिटामोलको अभाव
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा डेंगु पुष्टि हुने बिरामीको संख्या झण्डै १० हजार पुगेको छ । सरकारले मंगलबार जारी गरेको तथ्यांक अनुसार नेपालमा ९ हजार ८ सय ३५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । तर विज्ञहरु समूदायमा यो भन्दा पाँच गुणा बढी डेंगुका बिरामी रहेको अनुमान गरेका छन्। काठमाडौं स्वास्थ्य कार्यालयका प्रमुख बसन्त अधिकारी भन्छन्, ‘अहिले घर घरमा ज्वरोका बिरामी छन् कतिपय त जाँच नै गर्न आउँदैनन् । यसको कुनै विशेष औषधि नभएकाले सिटामोल त खाने हो भन्दै घरमै आराम गर्ने बिरामीको संख्या ठूलो छ ।’ अहिले आएको संख्या भनेको सरकारी स्वास्थ्य संस्थाको मात्र हो उनले थपे ।
उता निजी अस्पताल तथा स्वास्थ्य संस्थामा पनि ज्वरोका बिरामीको भिड बढिरहेको छ । एकातिर ज्वरोका बिरामी बढिरहेका छन अर्कोतिर यही बेला बजारमा सिटामोलको अभाव भइरहेको छ । देशभर प्रयाप्त मात्रामा सिटामोल नपाइँदा बिरामीहरु मारमा परेका छन्।
सरकारले सिटामोलमा मूल्य बढाउन नदिंदा निजी औषधी कम्पनीले सिटामोल बनाउन चासो दिइरहेका छैनन्। जसले गर्दा बजारमा अहिले माग बढी भएका बेला सिटामोल छैन्। ललितपुर खोकनाका सानुबाबु महर्जनको ५ जनाको परिवारमा ४ जनालाई ज्वरो आएको छ । उनी सिटामोल खोज्न काठमाडौंका धेरै औषधि पसल धाउँदा बल्ल बल्ल एक पत्ता सिटामोल पाएको बताउँछन्। उनी जस्ता धेरै बिरामी आफूले सिटामोल पनि नपाएको भन्दै गुनासो गरिरहेका छन्।
सरकारी स्वामित्वको एक मात्र औषधि कम्पनी नेपाल औषधि लिमिटेडले सिटामोल उत्पादन कार्यलाई बढाएको त छ । तर उसले पनि बजारको माग धान्न सकिरहेको छैन्। यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङसँग बुझ्दा उनले माग एकैपटक धेरै भएकाले केही कमी भए पनि छिटै यो अभाव सहज हुने बताए ।
हालसम्म देशभरका सातै प्रदेशका ७५ जिल्लामा डेंगु फैलिएको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य