Health TV Online
Health TV Online
Health TV Online

डेंगु नियन्त्रण गर्न लार्भा नष्ट गर्ने अभियानलाई व्यापकता दिंदै काठमाडौं स्वास्थ्य कार्यालय

डेंगु नियन्त्रण गर्न लार्भा नष्ट गर्ने अभियानलाई व्यापकता दिंदै काठमाडौं स्वास्थ्य कार्यालय

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा डेंगुको जोखिम बढेसँगै स्वास्थ्य कार्यालय काठमाडौंले लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई व्यापकता दिने भएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक बसन्त अधिकारीले डेंगु नियन्त्रण गर्नका लागि लामखुट्टे मारेर मात्र नहुने भन्दै यसको मुख्य स्रोत लार्भा तथा अण्डा नै नष्ट गर्नुपर्ने बताउँदै यसको व्यापक अभियान चलाउने बताए । अधिकारीले बुधबार पत्रकारहरुसँग कुरा गर्दै अहिले लामखुट्टे मार्ने की लार्भा मार्ने विवाद आएको भन्दै लामखुट्टे मारेर साध्य नहुने र स्रोत नै नष्ट गर्नुपर्ने भन्दै यस अभियानमा सबैले साथ दिनुपर्ने जनाए । स्थानीय निकाय, जनप्रतिनिधि, स्वयंसेवक सबैले साथ दिएमा मात्र डेंगु नियन्त्रण सम्भव हुने समेत उनले जिकीर गरे ।

उनले एउटा लामखुट्टेले आफनो जीवनकालमा विभिन्न स्थानमा गई ८ सय बढी अण्डा पार्ने हुँदा  यसको अण्डा र लार्भा नष्ट गर्दा बढी प्रभावकारी हुने जिकीर गर्दै यस अभियानलाई नै व्यापकता दिइनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘लामखुट्टेको जीवनकाल जम्मा ३० दिनको हुन्छ । ३० दिनपछि लामखुट्टे आफै मर्छ । त्यसैले लामखुट्टे होइन यसको अण्डा तथा लार्भा मार्ने तर्फ सोचौं ।’ उनले लामखुट्टेलाई छेक्ने र लार्भा नष्ट गर्ने अभियान उत्कृष्ट हुने जनाए ।

पछिल्लो केही दिन यता देशभर नै डेंगु रोगका बिरामी ह्वात्तै बढेका छन्। अस्पतालहरु डेंगुका बिरामीले खचाखच भरिन थालेपछि स्वास्थ्य कार्यालय काठमाडौंले स्थानीय निकायसँग समन्वय गरेर डेंगु फैलाउने लामखुट्टेको वासस्थान खोजी गरी लार्भा तथा अण्डा नष्ट गर्ने अभियानलाई अझ बढी सशक्त बनाउन लागेको हो ।

स्वास्थ्य कार्यालयका अनुसार कालिमाटी, टेकु, कोटेश्वर, न्युरोड क्षेत्रमा बढी डेंगुको बिरामी भेटिएका छन्। काठमाडौंमा मात्र मंगलबारसम्म ११ सय ८२ जनामा डेंगु पुष्टि भएको जनाइएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार