Health TV Online
Health TV Online
Health TV Online

सामाजिक उत्तरदायित्वको नाममा आफनो व्यापार विस्तार गर्दै सुर्ती उद्योगी

एकातिर ज्यान लिने, अर्कोतिर स्वास्थ्य प्रवर्धन भन्दै सहयोग गरे जस्तो गर्ने !

सामाजिक उत्तरदायित्वको नाममा आफनो व्यापार विस्तार गर्दै सुर्ती उद्योगी

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने कानूनले सुर्ती उद्योगलाई संस्थागत सामाजिक उत्तरदायित्वको नाममा कुनै पनि प्रकारको गति विधि गर्न छुट दिएको छैन्।तर फितलो राज्य प्रशासनका अगाडी सुर्ती उद्योगहरुले मनोमानी ढंगबाट आफ्ना गतिविधि सञ्चालन गर्दै आएका छन्। ऐन नियमलाई कुल्चेर हिडेका सुर्ती उद्योगीलाई स्वयं सरकारी अधिकारीहरुले विशिष्ट सम्मानका साथ रातो कार्पेटमा स्वागत गर्ने गरेको सबैका अगाडी छर्लगं नै छ ।

नेपालमा सुर्तीजन्य पदार्थ को सेवनबाट बार्षिक २७ हजार बढीले ज्यान गुमाउने गरेका छन्। त्यसबाट लाग्ने दीर्घरोगको उपचारका लागि अर्बौ खर्च भइरहेको छ। तर, केही करोड राजश्व तिरेको भरमा सरकारी अधिकारीले कानून विपरितका गतिविधि गर्दै आएका सुर्ती उद्योगका धन्दालाई प्रसय दिदै आएका छन्।

के छ नियम ? कस्ता छन् गतिविधी  ? 

सरकारले बनाएको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ को परिच्छेद ३ को दफा २२ ले सुर्ती उद्योगले संस्थागत सामाजिक उत्तरदायित्वका नाममा कुनै पनि प्रकारको काम गर्न नपाउने व्यवस्था गरेको छ। सोही दफाको उपदफा १ मा सरकारी वा गैरसरकारी वा निजी क्षेत्रबाट संचालित शिक्षण संस्था, मदरसा, नाट्यशाला, धार्मिकप्रवचन, सत्सङ्ग, स्वास्थ्य संस्था आदिलाई आर्थिक, प्राविधिक, भौतिक, संरचनागत तथा अन्य कुनै पनि प्रकारको सहयोग उत्पादक लगायतले प्रदान गर्न पाउने छैन भन्ने उल्लेख गरेको छ तर ति नियम ठूला सुर्ती उद्योगको गतिविधि नियन्त्रण गर्नपर्ने बेलामा क्रियाशिल हुँदैनन्।त्यसको उदाहरण लिन सकिन्छ सूर्य नेपालको गतिविधि।

नेपालको सुर्तीजन्य पदार्थको व्यापारमा एक छत्र राज गरेको उद्योग हो सूर्य नेपाल । तर उसले यी व्यवस्था कुल्चेर संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र खेलकुदका क्षेत्रमा संलग्न भइरहेको छ। समाज र समग्र देशको लागि आफ्नो तर्फबाट योगदान गरि रहेको झुटो दावी गर्दै आईरहेको छ। सुर्ती नियन्त्रण सम्वन्धी अभियानमा क्रियाशिल संस्था एक्सन नेपालले गरेको पछिल्लो अनुसन्धानले सूर्य नेपालले आफ्नो व्यापार प्रवद्र्धनका लागि सरकारी अधिकारीलाई प्रभावमा पार्ने र आम सर्वसाधारणलाई भ्रममा पार्ने गतिविधि गर्दै आएको छ। उसले कानून विपरित सामाजिक उत्तरदायित्वको नाममा आफ्नो ब्राण्डलाई थप स्थापित गर्ने काम गरेको छ। केही गैर सरकारी संस्था, आमा समूह र युवा क्लव मार्फत पनि कानून विपरितका गतिविधिहरु गर्दै आएको छ।

अनुसन्धानमा के पाईयो ? 

एक्सन नेपालले गरेको अनुसन्धान प्रतिवेदनमा भनिएको छ, ‘शैक्षिक तथा सामुदायिक स–शक्तिकरण भन्दै समाजका विपन्न बर्गका सदस्यलाई शिक्षा प्रदान गर्ने, व्यवसायिक तालिमको माध्यमबाट महिला स–शक्तिकरण र आम्दानीका स्रोतहरु सृजना गर्न सहयोग गर्ने नाममा सुर्य नेपाल प्रा लि ले विशेषगरि महिला, बालबालिका र युवाहरु माझ आफ्नो ब्राण्ड प्रवद्र्धन गर्दै आईरहेको छ।जुन सरासर सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेका कानुनको ठाडो उल्लंघन हो।

यस्तै सूर्य नेपालले अहिले पर्सा र तनहुँका केही सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार गर्ने भन्दै एक गैर सरकारी संस्था ‘टिच फर नेपाल’ सँग साझेदारीमा काम गर्दै आईरहेको छ। जुन कानुन विपरित रहेको छ।

तर सत्य यो हो की सुर्ती उद्योगले समाजमा रहेको आफ्नो नकारात्मक छवि सुधार्न यस्ता कृयाकलापहरु गर्ने गर्दछ। साथै यस्ता गतिविधिहरुले सुर्ती उद्योगलाई महिला, बालबालिका तथा पुरुषहरुमा सहजै पहुँच पुग्न सजिलो हुँने र उनीहरुलाई सूतिजन्य पदार्थ उत्पादकहरुको आनिबानी उपभोक्ता हुन प्रभाव पार्दछ। यस्तै सामुदायिक स्वास्थ्य प्रवद्र्धन गर्ने भन्दै निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने, आँखा दान शिविर संचालन गर्ने, स्वास्थ्य सामग्रीहरु दान गर्ने, स्वास्थ्य संरचना तयार पार्न आर्थिक तथा भौतिक सहयोग प्रदान गर्ने इत्यादीलाई सुर्य नेपाल सु–स्वास्थ्य रणनीति अन्तर्गत कानुन विपरित काम गदै आईरहेको छ।

स्वास्थ्य क्षेत्रमा विभिन्न प्रकारका आर्थिक तथा भौतिक सहयोग प्रदान गरि जनताको स्वास्थ्य प्रवद्र्धन गर्नमा सुर्ती उद्योगले सरकारको सहयोगीको रुपमा आफुलाई प्रस्तुत गर्दै आईरहेको छ।तर वास्तवमा यस्ता सुर्तीजन्य पदार्थले आफ्ना आधा प्रयोगकर्ताहरुलाई मार्छ र यस्ता पदार्थहरु विभिन्न नसर्ने रोगको प्रमुख कारक तत्वको रुपमा मानिन्छन्।मुटु, क्यान्सर, दम, मधुमेह, मिर्गौला, लगायतका नसर्ने रोगका प्रमुख कारक सुर्तीजन्य पदार्थ नै हो।

सुर्तीजन्य पदार्थ नियन्त्रण गर्ने कानुनले सुर्ती उद्योगलाई कुनै पनि प्रकारको कार्यक्रम तथा प्रतियोगिता संचालन तथा प्रायोजन गर्नबाट रोक लगाएको छ। तर सूर्य नेपालले आफुले खेलकुद प्रायोजन मार्फत देशको खेल, पर्यटन विकासमा टेवा पूर्याएको गलत दावी गर्दै आईरहेको छ। अहिले पनि सूर्य नेपालको नाममा काठमाडौं, पोखरा र धरान जिल्लाहरुमा गल्फ प्रतियोगिता प्रायोजन तथा संचालन गर्दै आईरहेको छ। यसरी खेलकुद प्रायोजन भनेको सुर्ती उद्योगद्धारा प्रयोग गरिने दीर्घकालिन तथा अप्रत्यक्ष विज्ञापन मात्र हो।झन यस्ता प्रायोजनहरुले गर्दा युवा पुस्तामा झन् सूर्तिजन्य पदार्थको प्रयोग बढाई सूर्ति उद्योगले आफ्नो नाफा बढाउने एक अप्रत्यक्ष रणनीति मात्र हुन्।

एक्सन नेपालको प्रतिवेदनमा सूर्य नेपालको अर्को गैर कानूनी काम बाताबरण क्षेत्रमा गर्दै आएको छ। हरियाली तथा बृक्षारोपण गरी आफू समाजका लागि जिम्मेवार संस्थाको रुपमा काम गरेको देखाउने प्रयास गरेको छ।तर यस्ता उद्योग आफैमा वातावरणको लागि ठुलो खतरा हो। उदाहरणका लागि ४ दशमलब ५ ट्रिलियन सिगरेटहरुका ठुटा हरुले विश्वभर १ दशमलब ७९ विलीयन पाउन्ड विषाक्त फोहोर गर्दछ भने अर्को तिर हजारौ रसायनहरु हावा, पानी र माटोमा छोड्छ भन्ने डव्लुएचओको अध्ययनले देखाँउछ। त्यसो त एक्सन नेपालको अनुसन्धानले कोभिड–१९ महामारीको बेलामा समेत सूर्य नेपालले कानून विपरितका गति विधिलाई बढावा दिएको भेटाएको छ।

उसले ठूला सरकारी अस्पतालमा मेडिकल सामग्री र उपकरण उपलव्ध गराउने देखि प्रदेशका कोरोना कोषका लागि भन्दै करोडौँ रुपैयाँ नगद हस्तान्तरण गर्ने काम गरेको छ।सामाजिक उत्तर दायित्वको नाममा बाँढिने यस्ता बस्तु तथा नगदहरु न अस्पतालले न जनप्रतिनिधिहरुले लिन मिल्छ । तर यस्तै भई रहेको छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ अनुसार बनेका निर्देशिकाहरुमा स्पष्ट व्यवस्था हुँदाहुँदै राज्यले त्यस विरुद्धका गतिविधि सञ्चालन गर्न दिनु ले उनीहरुको भूमिकामा ठूलो प्रश्न उठाई दिएको छ।

एक्सन नेपालले सामाजिक उत्तरदायित्वका नाममा गरिने यस्ता कानून विपरितका क्रियाकललाप तुरुन्त रोक्न आग्रह समेत गरेको छ भने देशको कानून विरुद्ध जानेलाई कारवाही गर्न सरकारसँग माग समेत गरेको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार