Health TV Online
Health TV Online

बालबालिकाको आँखा कसरी जोगाउने ? यस्ता छन् प्राडा सविना श्रेष्ठका सल्लाह

बालबालिकाको आँखा कसरी जोगाउने ? यस्ता छन् प्राडा सविना श्रेष्ठका सल्लाह

हेल्थ टिभी अनलाइन \काठमाडौं : आँखा मानव शरीरको अत्यन्तै सुन्दर र महत्वपूर्ण अंग हाे ।  यो अत्यन्तै संवेदनशील अंग पनि हो । आँखामा विभिन्न कारणहरुले समस्या देखिन सक्छ । विशेष गरी आजभोलिका बच्चाहरुमा आँखाको समस्या बढ्दै गएको पाइन्छ। अहिलेको बढ्दो डिजिटल प्रविधिको विकास‌ र यसकाे जथाभावी  प्रयोगले बालबालिकाकाे आँखामा समस्या निम्त्याइरहेकाे छ ।

बालबालिकामा देखिने आँखाका समस्याहरु के के हुन् त ?

प्रविधिको विकाससँगै विकृति र विनास पनि बढिरहेको पाइन्छ । धेरै प्राविधिक कुराहरुको प्रयोग जस्तै टिभी, मोबाईल, ट्याबलेट, ल्यापटप आदि जस्ता कुराको प्रयोगले आँखामा धेरै समस्या निम्त्याएको पाइन्छ। आँखा चिलाउने, दुख्ने,आँखा सुक्खा हुने, आँखाबाट आँसु आउने आदि समस्या पनि यसको बढ्दो प्रयोगले निम्त्याइरहेको छ । त्यसैगरी रिफ्र्याक्टिभ एरर (दृष्टि दोष) मोतीबिन्दु ,मायोपिया (टाढाको नदेख्ने), आँखा डेढो हुने, आँखाको क्यान्सर आदि जस्ता समस्याहरु त छँदैछन्।

पछिल्लो समय त झन कोरोना महामारीका कारण बच्चाहरुको अनलाइन पठनपाठन लगायतका कारणले गर्दा यसको प्रयोग दिनानुदिन बढ्दो छ। व्यस्त अभिभावकले आफ्नो व्यस्तताको कारणले आफ्ना बालबालिकाको हातमा मोबाइल वा ल्यापटप दिएर आफनो काम गर्ने गरेको पाइन्छ । वास्तवमा यसले बालबालिकाको आँखामा मात्र समस्या ल्याउने हैन की उनीहरु यसको लतमा समेत फस्ने गर्छन । त्यसैले जुनबेला पनि बच्चालाइ माेबाइल दिन हुँदैन।

आँखामा विभिन्न कारणले समस्याहरु आउन सक्छन्। जस्तै गर्भवती महिलामा मधुमेह छ भने उसबाट जन्मिने बच्चामा मोतिबिन्दु हुन सक्ने सम्भावना हुन्छ। डेलिभरी गर्ने बेलामा इन्जरी भएको छ भने पनि बच्चाको आँखा असर पर्न जान्छ । अन्य कारण भनेको मोबाइल फोनको प्रयोग, धेरै टिभी स्क्रीन हेर्दा भने पनि आँखामा समस्या देखा पर्दछ । पछिल्लो समय कोभिडको कारणले पनि बच्चाहरुको अधिंकांश समय घरमै बितेकाले पनि उनीहरुको आँखामा समस्या बढ्दै गएको पाइन्छ।

आँखामा समस्या भएको कसरी थाहा पाउने  ?

आँँखामा केही समस्या छ भने आँखाबाट बारम्बार आँसु आउने, कचेरा लाग्ने जस्ता असामान्य कुराहरु देखा पर्दछन्। यसबारे हामीले हेक्का राखनपर्छ । आँखाको सेतो भाग सेतो नै र कालो भाग कालो नै हुनुपर्दछ। विशेषगरी बुबा आमाले ध्यान दिनु पर्दछ । बच्चाले कुन किसिमको कार्य गर्दा आँखालाई कसरी प्रयोग गरिरहेको छ भन्ने कुरा थाहा पाउँन जरुरी छ। जस्तै टिभी हेर्ने क्रममा यदि बच्चाले नजिक‌बाट हेरिरहेको छ र टाढाबाट केही देख्दैन भने उसमा समस्या भएको बुझ्नुपर्दछ । बच्चा ३ महिनाको हुदा हाँस्न सुरू गर्छ । यदि उसले आफ्नो आमा बुबालाई देखेर हाँसेन भने पनि चिन्तित हुन जरूरी छ। यसैगरी घाममा निस्किंदा उसले एउटा आँखा बन्द गर्दछ भने पनि समस्या भएको हुन्छ। यस्ता कुरामा अभिभावकले विशेष ध्यान दिन जरुरी छ। आखाँको माथिको ढकनीले आँखाको नानीलाई २ मिलीमिटर ढाकेको हुनुपर्छ। तलको ढकनीले कालो भागलाई छोएको मात्र हुन पर्छ। यदि ढकनीले आँखालाई २ मिलीमिटर भन्दा बढी ढाकेको छ भने आँखामा समस्या भएको जनाउँछ।

यसलाई कसरी समाधान गर्ने ?

आँखाका भूमिका मानिसको जीवनमा अत्यन्तै महत्वपूर्ण भएको हुनाले यसलाई बेलामै जोगाउन जरुरी छ। विशेषगरी बच्चा उमेरबाटै ख्याल गर्नुपर्छ । यसबाट जोगिने भनेकै नियमित चेक जाँचबाट हो । भर्खरै जन्मिएको बच्चालाई १ वर्ष पुगेपछि आई स्क्रिनिङ गर्न जरुरी हुन्छ । यसले केही समस्या रहेछ भने पत्ता लाग्न सक्छ। आज भोलि बच्चाहरुलाई भुलाउने सहज माध्यम बनेको छ मोबाईल फोन । तर यसलाई रोक्न जरुरी हुन्छ । एकछिन भुलाउन खो्ज्दा बच्चाको आँखामा दीर्घकालिन असर पर्नसक्छ । अर्को कुरा विद्यालय भर्ना गर्नुअघि बच्चाहरुको आँखा जाँच गरेर पठाउनु अत्यन्त राम्रो हुन्छ । यसले गर्दा उनीहरुको आँखाको अवस्था पत्ता लाग्छ । केही पाइएमा समयमै उपचार गर्न सकिन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार