Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपाल औषधि लिमिटेडमा सेवा विस्तार, छिट्टै १३ प्रकारका औषधि उत्पादन गर्ने

नेपाल औषधि लिमिटेडमा सेवा विस्तार, छिट्टै १३ प्रकारका औषधि उत्पादन गर्ने

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल औषधि लिमिटेडले आफनो थप सेवा विस्तार गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै लिमिटेडले औषधि उद्योगमा नभई नहुने वाटर ट्रिटमेन्ट सिस्टम, माइक्रोबायोलोजी सेक्सन र हेमोडायलाइसिस यूनिटको शुभारम्भ गरेको हो ।

सो नयाँ सेवाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले गरेका हुन । उनले सो सेवाको सुरुवात गर्दै लामो इतिहास बोकेको नेपाल औषधि लिमिटेडले आफनो सेवा विस्तार गर्नुपर्ने र त्यसका लागि सरकार सहयोग गर्न तयार रहेको जनाए । उनले भने, ‘देशलाई चाहिने औषधि उत्पादन गर्न सक्षम हुनेगरी काम गर्नुस् त्यसका लागि कस्तो खालको सहयोग र वातावरण चाहिने हो त्यो सरकारले गर्छ ।’

यसैगरी कार्यक्रममा लिमिटेडका महाप्रबन्धक मोहम्मद सफीउल्लाहले आफूहरुले आज सुरु गरेको सेवासँगै विश्व स्वास्थ्य संगठनले तोकेको कुशल औषधि उत्पादन अभ्यासका लागि योग्य हुने र यसले आगामी दिनमा अन्य सेवा विस्तार गर्दै बन्द भएका औषधि उत्पादन पुन: गर्नका लागि सहयोग पुग्ने बताए । उनले आफूहरुले अबको केही महिनामा नै १३ प्रकारका औषधि उत्पादन गर्न सक्ने समेत जानकारी दिए ।

सुरुवाती दिनमा १२० प्रकारका औषधि उत्पादन गरेको औषधि लिमिटेडले कुशल औषधि उत्पादन अभ्यासको सर्टिफिकेट पाउन नसक्दा केही वर्ष बन्द प्राय बन्न पुगेको थियो भने अहिले ४ प्रकारका औषधि उत्पादन भइरहेका छन्। जीवनजल र सिटामोल यसका मुख्य उत्पादन हुन्।

वाटर ट्रिटमेन्ट सिस्टम र माइक्रोबायोलोजी सेक्सन यूएसएआइडीको आर्थिक सहयोग तथा पीक्युएम प्लसको प्राविधिक सहयोगमा निर्माण गरिएको हो । हेमोडायलाइसिस यूनिट भने सरकारको अनुदान तथा रिण सहयोगमा स्थापना भएको हो ।

नेपाल औषधि लिमिटेड ५० वर्ष अघि स्थापना भएको सरकारको एक मात्र औषधि कम्पनी हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार