Health TV Online
Health TV Online

बाँकेमा ५ देखि ११ वर्षसम्मका ७६ हजार बालबालिकालाई कोभिड खोप लगाइँदै

बाँकेमा ५ देखि ११ वर्षसम्मका ७६ हजार बालबालिकालाई कोभिड खोप लगाइँदै

हेल्थ टिभी अनलाइन \बाँके : सरकारले यही असार ९ गतेदेखि २७ जिल्लामा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको खोप दिन लागेको छ । यही क्रममा बाँके जिल्लाका ७६ हजारभन्दा बढी बालबालिकालाई कोरोना विरुद्धको खोप दिन लागिएको हो । आइतबार स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको सहकार्यमा स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको कोभिड खोप सम्बन्धी पत्रकार अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश बाबु श्रेष्ठले बाँकेका ७६ हजार २३९ बालबालिकालाई खोप दिन लागिएको बताए । उनले त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको र विद्यालयमा खोप केन्द्र तोकेर खोप दिइने समेत जानकारी दिए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेकी निमित्त प्रमुख सुनिता पौडेलले बालबालिकालाई दिन लागिएको फाइजर बायोनटेक पेडियाट्रिक खोप सुरक्षित र प्रभावकारी भएको भन्दै सबै अभिभावकले ढुक्क भएर आफना बालबालिकालाई खोप लगाउन आग्रह समेत गरिन । उनले खोपकाबारेमा समाचार लेख्दा सञ्चारकर्मीहरु अलि बढी संवेदनशिल भइदिन पर्ने र सूचना आधिकारीक हो होइन बुझेर मात्र समाचार सम्प्रेषण गरिदिन पर्ने जिकीर गरिन । उनले मिडियामा आएका सामग्रीका आधारमा जनमानसले धारणा बनाउने हुँदा भ्रमपूर्ण कुराहरु वा एउटा मात्र पाटो समाचारमा आउँदा त्यसको नकारात्मक असर तुरुन्त पर्ने समेत जनाइन।

कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालकी निवर्तमान अध्यक्ष कल्पना आचार्यले स्वास्थ्य सिधै मानिसको जीवनसँग जोडिने विषय भएकाले यस्ता समाचार लेख्दा समाजमा पार्ने प्रभावकाबारेमा बुझेर मात्र लेख्नपर्ने र यस्ता विषयमा हतार गर्न नहुने बताइन्। कहिलेकाहीं हतारमा लेखिएको समाचारले देशकै राष्ट्रिय अभियानहरुमा प्रभाव पार्ने भन्दै यस्ता कुरामा सञ्चारकर्मी स्वयं जिम्मेवार भएर समाचार सम्प्रेषण गर्नुपर्नेमा उनले जोड दिइन । उनले कोभिडको महामारीसँगै नेपालमा सूचनाको पनि महामारी जस्तै आएको समेत जिकीर गरिन ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार