४० वर्षदेखि चुरोट सेवन गरिरहेकी जमुना भन्छिन्, अब चाहिं छोड्न चाहन्छु
हेल्थ टिभी अनलाइन : बाँके खजुराकी ५५ वर्षीया जमुना क्षेत्रीले चुरोट सेवन गर्न लागेको ४० वर्षभन्दा बढी भइसक्यो । उनी आफू १५ वर्षको उमेरदेखि चुरोटको सेवन गर्न थालेको बताउँछिन्। उनी अहिले दिनको दुई बट्टासम्म चुरोट सेवन गर्छिन । त्यसबेला हजुरबुवालाई हुक्का सल्काएर दिने क्रममा आफूले पनि रहरै रहरमा सेवन गरेको र पछि लत बसेको उनको भनाई छ ।
चुरोटको सेवनले क्यान्सर हुनसक्छ, ह्दयघात हुनसक्छ भन्ने कुरा उनलाई अहिले भने राम्ररी थाहा छ । तर त्यसबेला यसको सेवन गर्न हुँदैन क्यान्सर मुटुरोग जस्ता डरलाग्दा रोग लाग्नसक्छ भनेर कसैले नभनेको बताउँछिन । त्यस बेला खान हुन्न यो खराब चिज हो भन्दिएको भए आज म यो लतमा फस्दिन थिए होला के गर्नु त्यसबेला हेक्का भएन रहरै रहरमा खाना पुगियो । केटाकेटी बुद्धी त हो उनले थपिन ।
अहिले त उनलाई अरु कुनै खाना नभए पनि हुन्छ तर चुरोट चाहिं चाहियो, चाहियो। बिहानको सुरुवात नै उनको चुरोटबाट हुन्छ । घरमा उनका श्रीमान पनि चुरोटको सेवन गर्छन। यसले पनि उनलाई कसैले यसको सेवनको रोकटोक गरेनन । जसले गर्दा कसैको डर बिनै उनी चुरोटको सेवन गर्न थालिन । उमेरमा खासै वास्ता गरिनन। तर अब उमेर ढल्कदै जाँदा उनलाई अहिले चाहिं विभिन्न समस्याहरु देखिन थालेका छन्। छाती दुख्ने, खोकी लागिरहने हुन्छ । थोरे हिंड्दा पनि स्याँ स्याँ हुन्छ । सायद यसैको कारणले होला । उनले भनिन्। शरीर सुकेर सानो भएको छ । उनलाई खानामा खासै रुचि छैन । उनी भन्छिन्, खाना बरु नभए नि हुन्छ चुरोट चाहिं जहाँ गए पनि जसरी पनि चाहिन्छ । एउटा चुरोट सल्काएर खाइ नसक्दै तलतल लागिहाल्ने बताउँछिन उनी । त्यसैले उनको साथमा अरु केही नभए पनि चुरोटको बट्टाचाहिं जहिले पनि हुन्छ । चुरोट सेवन गर्न नपाइने ठाउँमा जानै नपरे हुन्थ्यो जस्तो लाग्छ उनलाई । गाउँँघरमा मेलापात गर्न बोलाउँछन्। गाउँमा मेलापात गर्न जाँदा पनिउनी चुरोटसाथमै लिएर जान्छिन्।
पैसा त कति हो कति खर्च । यसको सट्टा फलफूल वा अन्य खानेकुरा खाएको भए शरीर त बन्थ्यो होला । के गर्नु बेलामा बुद्धि पुगेन अब पछुतो लागिरहेको छ । उनले थपिन्। तर अझै पनि म यो लतबाट बाहिर आउन चाहन्छु तर कसरी थाहा छैन्।
सुरुमा उनी बिंडी सेवन गर्थिन । विगत १५ वर्षभन्दा बढीदेखि भने चुरोट सेवन गर्छिन । यही ब्रान्ड भन्ने छैन् शिखर, पाइलट चुरोट उनी बढी सेवन गर्छिन । घरमा छोराछोरीले नखाउ भनेर गाली गर्छन । के गर्नु लागेको लत कसरी छोड्न सक्नु । छोराछोरीले गाली गरेकै कारण छोड्न पर्यो भनेर कतिपटक प्रयास पनि गरिन । तर उनले केही घण्टाभन्दा बढी छोड्नै सकिनन । मुखमा ल्वाङ हाले, चकलेट खल्तीमा राखेर पनि हिंडे । तर कहाँ सजिलै सकिंदो रहेछ र चुरोट छोड्न त । अहिले स्वास्थ्यमा समस्या देखिंन थालेपछि भने उनी चिन्तित हुन थालेकी छिन्। डाक्टरलाई देखाउन जान पनि डर लाग्छ । केही भएको छ की ? त्यसैले मत जाँच गर्न नि जान्न उनले भनिन ।
जमुना जस्ता धेरै जना चुरोट सेवन गर्नेहरु पछि गएर यसलाई छोड्न चाहिरेका छन् । तर कसरी छोड्ने भन्ने कुरामा भने अलमलमा छन् । उनीहरुका लागि चुरोट छोड्न सिकाउने तथा उनीहरुलाई सहजीकरण गरिदिने हो भने जमुना जस्ता धेरे यसको लतबाट बाहिर आउन सक्थे । त्यसका लागि सरकारले क्वीट टोबाको प्याकेज कार्यक्रमहरु चलाउन जरुरी भइसकेको छ । जसले गर्दा चुरोट छोड्न चाहनेहरुका लागि सहज होस्।
विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार सुर्तीजन्य पदार्थ सेवनकै कारण नेपालमा वर्षेनी २७ हजार बढी मानिसकाे मृत्यु हुने गरेको छ । यसले मुटु, मिर्गौला, क्यान्सर, दम, श्वासप्रश्वासजन्य रोग निम्त्याउने गर्छ ।
सुर्तीजन्य पदार्थ छोड्नका लागि सेवन गरेको जति वर्ष भए पनि ढिला नहुने चिकित्सकहरु बताउँछन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?