पोखरामा बन्दै प्राकृतिक चिकित्सालय
कास्की : पोखरास्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्राकृतिक चिकित्सालय बनाउने भएको छ।
एक वर्षभित्रै सेवा दिने गरी बन्न लागेको चिकित्सालयको उद्घाटन पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले मंगलबार गरे।
पोखरा १ नदीपुरमा रहेको विन्ध्यवासिनी धार्मिक गुठीको २१ रोपनी जग्गामा चिकित्सालय बनाउन लागिएको हो। आधुनिक चिकित्सा विधामा आधारित रहेर ल्याबसहितको प्राकृतिक चिकित्सालय बनाउन लागेको समितिले जनाएको छ। ल्याबको अनुमानित लागत २६ करोड छ।
चिकित्सालय २ चरणमा बन्ने समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए। पहिलो चरणमा सय शय्याको चिकित्सालय बनाउने र बाँकी शय्या पछि थप्दै जाने जानकारी दिइएको छ ।
सचिव श्रेष्ठले चिकित्सालयमा दीर्घ तथा सरल पद्धतिबाट विभिन्न रोगको उपचार हुने जानकारी दिए । उनले भने, ‘यसमा विभिन्न प्राकृतिक उपचार विधि अपनाइन्छ । पञ्चकर्म पद्धति, थेरापी, वाष्प स्नान, माटो लेपन उपचार लगायत विधिबाट उपचार हुन्छ ।’ चिकित्सालय बनाउन प्रदेश सरकारबाट ५० लाख रुपैयाँ प्राप्त भएको छ । सचिव श्रेष्ठले चिकित्सालय बनाउन दाताहरूको खोजी पनि सँगसँगै भइरहेको सुनाए।
चिकित्सालय सञ्चालनका जिम्मा लिएका डा. विनोद गौतमले बन्न लागेको चिकित्सालय अस्पताल नभई जीवन जिउन सिकाउने विद्यालय हुने दाबी गरे। उनले प्राकृतिक चिकित्सालय औषधिविहीन चिकित्सालय भएको बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?