Health TV Online
Health TV Online
Health TV Online

बागलुङ अस्पतालमा स्तनपानकक्ष

बागलुङ अस्पतालमा स्तनपानकक्ष

बागलुङ : धवलागिरि अञ्चल अस्पताल बागलुङले स्तनपानकक्ष स्थापना गरेको छ। आमा र शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै अस्पताल परिसरमै स्तनपानकक्ष सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ।

सार्वजनिकस्थलमा आफ्ना शिशुलाई स्तनपान गराउन महिलाले असजिलो महसुस गर्ने र त्यसले आमा तथा बच्चाको स्वास्थ्यमा असर गर्ने भएकाले अस्पताल परिसरमै स्तनपानकक्ष तयार गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बी पोखरेलले बताए।

पछिल्लो समय धवलागिरि अञ्चल अस्पताललाई सुविधासम्पन्न, विश्वासिलो र भरपर्दो अस्पतालका रूपमा विकास गर्न अस्पतालको नयाँ व्यवस्थापन समितिले धेरै सुधार प्रयास गरिरहेको छ। अस्पतालमा हालै मात्र नवनिर्मित अस्पतालको ‘बी’ ब्लक भवन सञ्चालनमा आएसँगै सेवा प्रवाहमा सहजता आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले बताए।

अस्पतालमा स्वास्थ्य उपचारका लागि आउने आमा तथा शिशुलाई स्तनपानकक्षले निकै सहज हुने अध्यक्ष रानामगरले जानकारी दिए। ‘स्तनपान गराउने कक्ष नहुँदा अस्पतालमा आउने सुत्केरी आमालाई निकै असहज भएको थियो’, मगरले भने, ‘गोप्य स्तनपान कक्ष स्थापनाले आमा तथा शिशु दुवैलाई सहज हुनेछ।’ अस्पतालको टिकट काउण्टर नजिकै स्थापना गरिएको स्तनपानकक्षमा आमाले शिशुलाई स्तनपान गराउनुका साथै आराम गर्ने व्यवस्थासमेत गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार