Health TV Online
Health TV Online
Health TV Online

चितवनवासी प्रदूषित पानी पिउन बाध्य

चितवनवासी प्रदूषित पानी पिउन बाध्य

चितवन : जिल्लामा रहेका खानेपानी आयोजनाबाट वितरित खानेपानी प्रदूषित रहेको पाइएको छ। स्वास्थ्य कार्यालय चितवनले आर्थिक वर्ष २०७४\७५ र २०७५\७६ मा गरेको अनुगमनका क्रममा खानेपानी आयोजनाबाट वितरित पानी प्रदूषित पाइएको हो ।

कार्यालयले मङ्गलबार आयोजित‘मेरो वर्ष २०७६ स्वास्थ्य प्रवर्धन’ अभियानको सरोकारवालाबीचको अन्तरक्रिया तथा खानेपानी गुणस्तर सार्वजनिक कार्यक्रममा यो जानकारी गराइएको हो। सो अवसरमा जनस्वास्थ्य अधिकृत अनुप अधिकारीले जिल्लामा ५७ प्रतिशत उपभोक्ताले प्रदूषित पानीको प्रयोग गर्ने गरेको बताए। दुई वर्षमा जिल्लामा खानेपानी सुरक्षा योजना लागू भएका २१ आयोजनाको अनुगमनका क्रममा नौ आयोजनाले मात्र शुद्ध पिउने पानी उपलब्ध गराउने गरेको पाइएको अधिकारीले जानकारी दिए।

अन्य १२ आयोजनाले वितरण गरेको पानीमा इकोलाइ नामक किटाणु देखिएको हो । अहिले उपभोक्ताले प्रयोग गर्दै आएको पानीमा मानिसको दिसामा हुने किटाणु भेटिएको छ। यसका कारण सरुवा रोगको महामारी आउनसक्ने सो अवसरमा जानकारी दिइएको थियो ।

अनुगमनका क्रममा माडीमा रहेका दुई, इच्छाकामना गाउँपालिकाका दुई र अन्य पूर्वी चितवन तथा पश्चिम चितवनका आयोजनाको पानी प्रयोगशालमा ल्याई परीक्षण गरिएको थियो। कार्यालयले विगत तीन वर्षदेखि खानेपानीको गुणस्तर मापन गर्दै आएको छ। अनुगमनका क्रममा आयोजनाको भौतिक अवस्था, ‘केमिकल’को प्रयोग र पानीको गुणस्तरका विषयमा अध्ययन गरिएको थियो।

पानी शुद्ध बनाउन आयोजनाले नयाँ प्रविधिका पाइपहरु जडान गर्नुपर्ने, पानीमा क्लोरिन राखेर पिउने, उमालेर मात्रै पानी पिउने, फिल्टर गरेको पानी प्रयोग गर्नेलगायतका उपाय अपनाउन सकेमा महामारीबाट बच्न सकिने अधिकारीले जानकारी दिए। जिल्लामा ९० प्रतिशत जनता खानेपानी आयोजनाको पहुँचमा रहेको सो अवसरमा जानकारी दिइएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार