जनसंख्या सम्बन्धी दीर्घकालीन नीति आवश्यक : स्वास्थ्यमन्त्री यादव
काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनसंख्या व्यवस्थापन गर्नका लागि दीर्घकालीन नीति आवश्यक रहेको बताएका छन्।
विश्व जनसंख्या दिवसको अवसरमा बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले नेपालको दूरदराजमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जनचेतना केही हदसम्म पुगेको बताए।
‘तर अझै सबै स्तरमा पुर्याउन आवश्यक छ’, उनले भने, ‘जुन जनसंख्या व्यवस्थापनमा सिधै सम्बन्ध राख्छ।’ उनले जनसंख्या र विकासका लागि अन्तर्राष्ट्रि सम्मेलन (आईसीपीडी) को २५ वर्षे यात्रामा नेपालले जनसंख्या सम्बन्धी थुप्रै प्रगति गरेको जिकिर गरे।

कार्यक्रममा यूएनएफपीए नेपालकी प्रमुख लुब्ना बाकीले २५ वर्षअघि आईसीपीडी सुरु गर्दा र अहिले नेपालमा प्रजनन एवं यौन स्वास्थ्य र अधिकारमा धेरै परिवर्तन आएको बताइन्। सहश्राब्दी विकास लक्ष्य पूरा गर्न आईसीपीडीले ठूलो मद्दत गरेको पनि उनले बताइन्। उनले भनिन्,नेपालमा ‘प्रजनन र यौन स्वास्थ्यमा राम्रा कानुन बनेका छन्। तिनलाई सही कार्यान्वयन गर्न भने जरुरी छ।’

कार्यक्रममा स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले अन्तर्राष्ट्रिय स्तरमा चिनाउने गरी नेपालले स्वास्थ्यका क्षेत्रमा काम गरेको भए पनि अझै केही चुनौती भने बाँकी रहेको बताइन्। ‘हामीले केही गर्न सकेनौँ भन्ने लाग्छ। तर अन्तर्राष्ट्रिय फोरममा गएर प्रस्तुति दिँदा अन्य देशभन्दा हामीकहाँ धेरै काम भएको भान हुन्छ’, उनले भनिन्।

जनसंख्या दिवस समग्र देशको विकास एवं मानव अधिकारसँग जोडिएको विषय बन्न पुगेको उनको भनाइ छ। ‘नीति राम्रा छन्। यसलाई कार्यान्वयन गर्न सिभिल सोसाइटी एवं सरोकारवाला सबै हातेमालो गरेर अघि बढ्नुपर्छ’, उनले भनिन्।
कार्यक्रममा परिवार नियोजन संघका अध्यक्ष केपी बिष्टले आईसीपीडीले जनसंख्या विकासका लागि नयाँ आयाम थपेको भन्दै यसमा गरेका प्रतिबद्धता पूरा गर्न सबै लाग्नुपर्ने बताए ।

सन् १९९४ मा इजिप्टको राजधानी कायरोमा जनसंख्या र विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन आर्ईसीपीडी आयोजना भएको २५ वर्ष पुगेको छ। नेपाल लगायत १७९ देशहरूले हस्ताक्षर गरेको आईसीपीडी कार्ययोजनाले विकासको प्रयासमा महिलाको प्रजनन स्वास्थ्य र अधिकारलाई केन्द्रमा राख्न जोड दिएको छ।
त्यसयता थुप्रै प्रगति भए पनि धेरै महिला तथा किशोरीलाई अझै यसको एजेन्डाले छुन सकेको छैन।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित