Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘रुघाखोकीको भाइरसले क्यान्सरको जोखिम कम’

‘रुघाखोकीको भाइरसले क्यान्सरको जोखिम कम’

रुघाखोकीका लागि जिम्मेवार एक प्रकारको भाइरसले मूत्रथैलीमा रहेका क्यान्सरका कोषहरूलाई मार्न मद्दत गर्न सक्ने एउटा अध्ययनले देखाएको छ।

सानो स्तरमा गरिएको उक्त अध्ययनका क्रममा एकजना बिरामीमा क्यान्सरको सङ्केत पूर्ण रूपमा निर्मूल भएको र अन्य १४ जनामा क्यान्सर सम्बन्धी कोषहरू मरेको प्रमाण फेला परेको थियो।

ब्रिटेनस्थित युनिभर्सिटी अफ सरीका अनुसन्धानकर्ताहरूले उक्त भाइरसले क्यान्सरको उपचारमा ठूलो फेरबदल ल्याउन सक्ने र क्यान्सरको सङ्क्रमण दोहोरिने सम्भावना घटाउने विश्वास लिएका छन्।

मूत्रथैली सम्बन्धी क्यान्सरको क्षेत्रमा कार्यरत एउटा संस्थाले वृहत् अध्ययनबाट पनि यस्तै परिणाम आए त्यो निक्कै उत्साहप्रद हुने बताएको छ।

ब्रिटेनमा हरेक वर्ष लगभग १० हजार एनएमआइबीसी भनिने थैली सम्बन्धी क्यान्सरका नयाँ बिरामी देखिने गर्छन् र त्यसलाई आम रूपमा देखिने क्यान्सरको सूचीमा दशौँ स्थानमा राखिएको छ।

हाल मूत्रथैलीको क्यान्सरको उपचार पद्धति निक्कै कडा छ र त्यस विधिले गम्भीर र विषाक्त असर समेत गर्ने गर्छ।

निको भइसकेपछि पनि क्यान्सर दोहोरिएको छ कि छैन भनेर गरिने नियमित जाँच समेत महङ्गो छ।

यो उपचारका क्रममा १५ जना बिरामीलाई ट्युमर हटाउने शल्यक्रिया गर्नु एक हप्ताअघि क्यान्सरको जीवाणु मार्ने सीभीएटुवान नामक भाइरस ‘क्याथेटर’ (पिसाब बाहिर निकाल्ने पाइप) मार्फत दिइएको थियो।

शल्यक्रियापछि तन्तुका नमुनाहरूको विश्लेषण गर्दा भाइरसले थैलीमा रहेका क्यान्सरका कोषहरूलाई निशाना बनाएको पाइएको थियो।

ती कोषहरू मरेपछि भाइरसले आफूलाई बिस्तार गर्दै अन्य क्यान्सर लागेका कोषहरूलाई नष्ट बनाउँदै लगेको तर अरू कोषहरूलाई जस्ताको त्यस्तै छाडिदिएको पाइएको थियो।

विशेष

अनुसन्धान टोलीका नेता प्राध्यापक हरदेव पाण्डाले भाइरसले जे गर्‍यो त्यो विशेष हो भनेका छन्।

उनले भने, ‘भाइरसले क्यान्सरका कोषहरूभित्र प्रवेश गरी त्यसलाई मार्ने क्रममा त्यहाँ प्रतिरोधी प्रोटिन निर्माण गर्छ जसका कारण अरू निरोगी कोषहरू उतिर आकर्षित हुन्छन् र जोडिन्छन्।’

साधारणतया मूत्रथैलीमा रहेका ट्युमरहरू ‘चिसा’ हुन्छन् किनभने तिनिसँग क्यान्सरसँग लड्ने प्रतिरोधी कोषहरू हुँदैनन्।

तर भाइरसको गतिविधिले त्यसलाई ‘तातो’ बनाउँछ जसले शरीरको प्रतिरोधी क्षमतालाई क्रियाशील बनाइदिन्छ।

प्राध्यापक पाण्डाले छालाको क्यान्सरमा यसअघि नै उक्त भाइरसको परीक्षण गरिएको तर मूत्रथैलीको क्यान्सरमा पहिलो पटक अध्ययन गरिएको बताए।

अध्ययनका क्रममा बिरामीहरूमा कुनै पनि किसिमको नकारात्मक प्रभाव नदेखिएको वैज्ञानिकहरूको भनाइ छ।

अब रुघाखोकी निम्त्याउने उक्त भाइरसलाई निश्चित प्रकारको रोग प्रतिरोधी औषधीसहितको उपचार पद्धतिसँग मिसाएर थप बिरामीहरूमा अध्ययन गर्ने योजना बनाइएको छ।

बीबीसी नेपालीबाट

थप समाचार