Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डाेल्पामा टाइफाइडकाे प्रकाेप, औषधि सकिने चिकित्सककाे चिन्ता

डाेल्पामा  टाइफाइडकाे प्रकाेप, औषधि सकिने चिकित्सककाे चिन्ता

डोल्पा : हिमाली जिल्ला डोल्पामा टाइफाइडका बिरामी दिनप्रतिदिन बढेका छन्। प्रत्येक दिन पाँचसम्म बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ।

एक सातायता जिल्ला अस्पतालका शय्या बिरामीले भरिएको छ। बिरामीको चाप बढेका कारण १५ शय्या अस्पतालमा २१ जनासम्म राखेर उपचार गराइरहेको जिल्ला अस्पताल डोल्पाका डाक्टर सिजन रावलले जानकारी दिए।

‘अहिलेजस्तै पहिलोपटक प्रकोप फैलिँदा सूचना सन्देश प्रवाह तथा उपचारपछि नियन्त्रणमा आएको थियो, अहिले फेरि उस्तै प्रकोप बढेको छ”, रावलले भने, ‘ प्रकोप बढ्दै जाँदा अस्पतालमा औषधिको अभाव हुनथालेको छ, आजभोलि जस्तै दिनप्रतिदिन बिरामी आउन थाले तीन दिनभित्र औषधि सकिन्छ।’

ठुलीभेरी नगरपालिकामा पर्ने वडा नं २ र ३ का सर्वसाधारण धेरै उपचारका लागि आउने गरेक छन्। दूषित पानी प्रयोगका कारण दिनप्रतिदिन प्रकोप फैलिँदै गएको डा. रावलको भनाइ छ। अस्पतालको क्षमताभन्दा धेरै बिरामी भर्ना गर्नुपरेपछि भुइँमा सुताएरै बिरामीको उपचार गरिरहेको अस्पतालले जनाएको छ। बिरामीको चापका कारण उपचारमा खटिएका स्वास्थकर्मी नै थला परेका छन् ।

‘भाइरल’को रूपमै टाइफाइडको प्रकोप फैलिएपछि अस्पतालकै कर्मचारीसमेत बिरामी पर्न थालेको स्टाफ नर्स तारा बोहोराले बताए। यार्सा ‘सिजन’ सकिएर यार्सा पाटनबाट मानिस फर्किएसँगै टाइफाइडका बिरामी बढेको जिल्ला अस्पतालले बताएको छ ।

भाइरलको रूपमा दिनप्रतिदिन टाइफाइडका बिरामी बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले आकस्मिक बैठक राखेको छ। प्रकोप नियन्त्रणका लागि जिल्लास्थित सम्पूर्ण सरोकारवालासहितको बैठक राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार