Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्नायु नसा पुनः जोड्ने विधि पक्षघात : बिरामीलाई नयाँ जीवन

स्नायु नसा पुनः जोड्ने विधि पक्षघात : बिरामीलाई नयाँ जीवन

अष्ट्रेलियाका शल्य चिकित्सकहरूले पक्षघात भएका मानिसको शरीरमा नसा पुनः जोडेर हात र औँलाहरू चल्नसक्ने बनाएको दाबी गरेका छन्।

पक्षघात भएका बिरामीहरूले अब आफैँ खान, श्रृङ्गार गर्न, ढोकाको ताल्चा खोल्न, पैसा सम्हाल्न र कम्प्युटरमा टाइप गर्न सक्छन्।

ब्रिसबेनका ३६ वर्षीय पल रोबिनसनले यो नयाँ शल्यक्रियाले आफूलाई कहिल्यै नसोचेको परिणाम दिलाएको बताएका छन्।

पूर्ण रूपमा सामान्य व्यक्तिको जस्तो शरीर चल्ने नभए पनि बिरामीका लागि यो सुधार जीवन बदल्ने खालको भएको बताएका छन्।

यो उपचार प्रणालीले कसरी काम गर्छ?

मेरुदण्डमा चोटपटक लागेपछि बाँकी शरीरलाई नियन्त्रण गर्नका लागि दिमागले सूचना लिन बन्द गर्छ। स्नायु नसाहरू टुटेपछि यस्तो हुने गर्दछ। यसैको असरलाई पक्षघात भनिन्छ।

परीक्षणमा राखिएका बिरामीहरूमा दुवै हात र दुवै खुट्टा नचल्ने ‘क्वाड्रिप्लेगिया’ थियो।

तर पनि उनीहरूको हातको माथिल्लो भागको मांसपेशी भने चल्थे। मेरुदण्डबाट चल्ने नसालाई यी मांसपेशीमा पुनः जोडियो।

नसालाई काटेर अरू मांसपेशीलाई नियन्त्रण गर्ने नयाँ नसासँग जोडियो। उक्त नसाले हात खोल्ने र बन्द गर्ने अनि अगाडि बढाउने काम गर्न सक्छ।

उदाहरणका लागि, हत्केला उचालेर अनुहारसम्म लैजान सक्ने नसाले हातका सबै औँलाहरू पनि फैलाउन सक्छ।

त्यसैले अब जब बिरामीले आफ्नो हात घुमाउने सोच्छ उसको औँलाहरू फैलिन्छन्।

‘हामीलाई विश्वास छ कि नसा परिवर्तन गर्ने शल्यक्रियाले उत्साहजनक नयाँ विकल्प दिन्छ, जसले पक्षघात भएका बिरामीलाई दैनिक कामकाज गर्न धेरै स्वतन्त्रताका साथै हातले पुनः काम गर्न थाले पारिवारिक र व्यवसायिक जीवनमा भाग लिने क्षमता दिन्छ’, मेलबर्नस्थित अस्टिन हेल्थकी डाक्टर नताशा भ्यान जीलले भनिन्।

यसको लाभ कसलाई?

पल रबिन्सन एकजना परीक्षणमा राखिएका बिरामी थिए।

सन् २०१५ को फेब्रुअरीमा आफ्नो मोटरसाइकल दुर्घटनामा परेपछि उनले गर्दनको मेरुदण्ड भाँचियो।

उनले भने, ‘मेरो हात र औँलाहरू चल्दैनथे, मेरो पाखुरा कमजोर थियो र त्यहाँभन्दा तल हात चल्दैन थियो।’

आफ्नो यस्तो अवस्थाले उनी आफ्ना अभिभावकसँग बस्न जानुपर्‍यो। उनलाई खानेकुरा टुक्रा बनाउने जस्ता काममा पनि मद्दत चाहिन्थ्यो।

सन् २०१५ को क्रिसमसको दुई दिनअगाडि उनको नसा पुनः जोडियो। उनलाई त्यो जीवनकै सबैभन्दा पीडादायी अनुभव लाग्छ।

त्यसपछि उनको निको हुने प्रक्रिया शुरु भयो र उनले हात र औँलाहरू चलाउन सिक्न फिजियोथेरापी थाले।

पलले भने, ‘हालसालै म आफ्नै घरमा सरे र अहिले आफैँ बाँचिरहेको छु। मैले मेरो जीवनमा यो सम्भव होला भन्ने कहिल्यै पनि सोचेको थिइनँ।’

‘म ह्वीलचियरमा बसेर बल पास गर्ने रग्बी भन्ने खेल खेल्छु र इन्जिनियरिङ पनि पढिरहेको छु।’

‘यसले मेरो जीवनमा ठूलो परिवर्तन ल्याएको छ। म आफैँ खानेकुरा टुक्र्याउन, सामान्य काँटा चम्चा समाउन र विश्वविद्यालयमा कलम समाएर लेख्न सक्छु।’

मानिसहरूले आफ्नो शरीरमा कति नियन्त्रण हासिल गर्न सक्छन्?

यो प्रणालीबाट उपचार गरेपछि कोही पनि कन्सर्टमा पियानो बजाउन सक्ने खालको नहुने डाक्टरहरू बताउँछिन्। ‘हामी पक्कै पनि सामान्य मानिसले जसरी हात चलाउन सक्ने बनाउँदैनौँ’, डाक्टर भ्यान जीलले भनिन्।

हाम्रो ध्यान खासगरी दुईवटा क्षेत्रमा छ– हात खोल्ने र बन्द गर्ने अनि केही सामान लिनका लागि कुइनोलाई यताउता गर्न सक्ने।

डाक्टर भ्यान जीलले थपे, ‘त्यसैले तपाईँले आफ्नो हात खोल्न सक्नुहुन्छ र वरपर लैजान सामान टिप्न अनि चिमोट्न सक्नुहुन्छ।’

यतिले पनि कसैको जीवनलाई निकै सहज बनाइदिनसक्छ।

के यसले सबै बिरामीलाई काम गर्छ?

कस्तो खालको चोटपटक लागेको हो भन्ने कुरामा भरपर्छ।

यदि पूर्ण रूपमा पक्षघात हुने गरी मेरुदण्डमा चोटपटक लागेको छ भने त्यस्तो परिस्थितिमा नसालाई पुनः जोड्नका लागि काम गर्ने अर्को नसा हुँदैन।

र यदि मेरूदण्डको निकै तल चोटपटक लागेको छ र हातमा असर गरेको छैन भने यो प्रक्रिया नै आवश्यक पर्दैन।

यद्यपि, अनुसन्धानकर्ताहरूका अनुसार प्रत्येक वर्ष विश्वभर क्वाड्रिप्लेगिया हुने बिरामीको सङ्ख्या दुई लाख ५० हजारसम्म हुन्छ।

डाक्टर नताशा भ्यान जिलले भनिन्, ‘त्यसेले यसबाट बिरामीहरूको ठूलो सङ्ख्याले लाभ लिन सक्छ।’

बीबीसी नेपालीबाट

थप समाचार