Health TV Online
Health TV Online
Health TV Online

बर्सेनि दुई हजारभन्दा बढीकाे ज्यान जाेगाउँछन् झापाका तीन सर्पदंश उपचार केन्द्र

बर्सेनि दुई हजारभन्दा बढीकाे ज्यान जाेगाउँछन्  झापाका तीन सर्पदंश उपचार केन्द्र

झापा जिल्लाको मेचीनगर, कनकाई र दमक नगरपालिकामा तीन वटा सर्पदंश उपचार केन्द्र छन्। यी केन्द्रहरूले बर्सेनि सर्पले डसेका दुई हजारभन्दा बढी बिरामीको ज्यान बचाउने गरेका छन्।।

मेचीनगरको चारआलीस्थित नेपाली सेनाको श्रीनाथ गणमा रहेको सर्पदंश उपचार केन्द्र नेपालकै पुरानोमध्येको उपचार केन्द्र हो। सुरुमा सर्पले डसेका सैनिकको उपचार गर्न ब्यारेकभित्रै खोलिएको यो केन्द्र २०६२ सालदेखि समुदायले सञ्चालन गर्दै आएको छ ।

सेनाकै प्राविधिकको सहयोगमा चल्दै आएको यस केन्द्रमा उपचारका लागि ताप्लेजुङ, पाँचथर, इलाम र भारतको दार्जीलिङदेखि सर्पदंशका बिरामीको घुइँचो लाग्छ। चालु आर्थिक वर्षमा यहाँबाट एक हजार ४९० जनाले उपचार सेवा लिएको प्राविधिक ऋषिराम पोखरेलले जानकारी दिए।

पश्चिम झापाको दमकमा नेपाल रेडक्रस सोसाइटीले सर्पदंश उपचार सेवा सञ्चालन गरेको एक दशकभन्दा बढी भयो। यहाँ चालू आर्थिक वर्षमा सर्पले डसेका ८९० जना बिरामीले उपचार गराएको प्राविधिक खेम अधिकारीले जानकारी दिए।

मध्य झापाको कनकाईमा सहारा नेपाल नामक गैरसरकारी संस्थाले सर्पदंशका बिरामीका लागि तीन वर्ष अघिदेखि सुविधा सम्पन्न उपचार केन्द्र सञ्चालन गरिरहेको छ।

कनकाई सहारा सर्पदंश उपचार केन्द्र सुरुंगामा बिरामीको चाप केही कम छ। प्राविधिक सागर ढुङ्गेलका अनुसार चालु आवमा २५० जना सर्पले डसेका बिरामीले यहाँबाट उपचार लिएका छन्।

पूर्वी नेपालको तराईमा गोमन र करेत जस्ता अति विषालु सर्पको विगविगी हुने गरेको छ भने पहाडी भेगमा हरेउ र गुर्वे लगायतका विषालु सर्पले सर्वसाधारणलाई डस्ने गरेको छ।

सबैभन्दा बढी बिरामीको चाप हुने नेपाली सेनाको चारआलीस्थित श्रीनाथ गण परिसरमा सर्वसाधारणको चन्दा, स्थानीय तहका सरकारहरूको अनुदान र केही सांसदहरूको पहलमा विकास कोषबाट ७५ लाख रुपैयाँ लगानीमा भेन्टिलेटर सुविधासहितको आईसीयू कक्षका लागि भवन निर्माण गरिसकिएको छ। तर आईसीयू र भेन्टिलेटर सुविधाका लागि आग्रह गरिएको धेरै समय भइसक्दा समेत सरकारी तहबाट सहयोग नआएको छैन।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार