Health TV Online
Health TV Online

पहिलोपटक स्वास्थ्य अधिकार वर्ष पुस्तक प्रकाशन

पहिलोपटक स्वास्थ्य अधिकार वर्ष पुस्तक प्रकाशन

 

काठमाडौं  : प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र र ५९ जिल्लामा रहेका स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जालहरूको प्रयासमा नेपालमा पहिलोपटक स्वास्थ्य अधिकार वर्ष पुस्तक प्रकाशन भएको छ।

संविधानप्रदत्त जनताको मौलिक हक स्थापित भए नभएको र निःशुल्क स्वास्थ्य सेवा उपभोग गरे नगरेको विषयमा केन्द्रीकृत रहेको वर्ष पुस्तक शुक्रबार सार्वजनिक गरिएको हो। राज्यले उपलब्ध गराएको स्वास्थ्य सेवा, आधारभूत स्वास्थ्य सेवा, निःशुल्क स्वास्थ्य सेवा, मातृ सेवा, राज्यले दिने उपचार खर्चलगायतमा सबैले न्यायोचित रूपमा स्वास्थ्य अधिकार पाए कि पाएनन् भन्ने विषयमा अध्ययन गरिएको निचोड पुस्तकमा समेटिएको छ।

२०७५ सालभरमा देशमा स्वास्थ्य संस्थाहरूले दिएको उपचार सेवालाई केन्द्रविन्दुमा राखेर ५९ जिल्लामा अध्ययन गरिएको प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले बताए।

बर्सेनि स्वास्थ्य अधिकार वर्ष पुस्तक प्रकाशन गर्ने लक्ष्य लिएको प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले वर्ष २०७५ मा गरेको अध्ययनले निःशुल्क औषधि उपलब्ध नभएको देखाएको छ। स्वास्थ्य संस्थाहरू केही समय मात्र खुल्ने, स्वास्थ्यकर्मी उपलब्ध नहुने, जेष्ठ नागरिकको लागि विशिष्ट स्वास्थ्य सेवा उपलब्ध नभएको पुस्तकमा उल्लेख छ।

स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मी आफैँले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा निजी स्वास्थ्य संस्थामा जान प्रेरित गर्ने, गर्भवती र सुत्केरी महिलाले यातायात खर्च नपाउने गरेको पनि स्वास्थ्य अधिकार वर्ष पुस्तकमा उल्लेख छ। सरकारी स्वास्थ्य संस्थामा दक्ष जनशक्ति पाउन मुस्किल भएका कारण निजी वा काठमाडौं धाउन बाध्य भएको पनि केन्द्रले गरेको अध्ययनले देखाएको छ।

स्वास्थ्य बिमामा अन्योल रहेको, दुर्गम क्षेत्रमा एचआईभी पीडितमाथि उपेक्षित व्यवहार रहेको, जातीय विभेद रहेको समेत पुस्तकमा औँल्याइएको छ। उपेक्षित र सीमान्तकृत जनता निःशुल्क मात्र नभई अन्य स्वास्थ्य सेवाबाट विमुख हुनु परेको र स्वास्थ्यकर्मीको व्यवहारका कारण जनताले निःशुल्क स्वास्थ्य सेवा उपभोग गर्न नपाएको निष्कर्ष अध्ययनले निकालेको छ।

स्वास्थ्य सुविधा, सेवा, स्वास्थ्य प्रणालीप्रतिको जनताको अविश्वासका कारण सरकारको स्रोत साधन खेर गइरहेकाले यसतर्फ सरकार सजग हुनुपर्नेतर्फ पनि अध्ययनले इंगित गरेको छ। प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका अध्यक्ष प्रा.डा.शरदराज वन्तको प्रमुख सम्पादनमा प्रकाशित पुस्तकमा स्वास्थ्य अधिकार हनन भएका र राम्रा उल्लेखनीय कार्य भएको पनि देखाइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार