म्याग्दीको रघुगंगा गाउँपालिकामा सामुदायिक स्वास्थ्य एकाइ
म्याग्दी : रघुगंगा गाउँपालिका–८ कुइनेखानीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ।
यससँगै स्थानीय बासिन्दाले सामान्य बिरामी पर्दासमेत औषधि उपचारका लागि पूरै एक दिन हिँडेर स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन्। ६० घरधुरीको बसोबास रहेको कुइनेगाउँदेखि नजिकको बस्ती मल्कवाङ, पाखापानी र मङ्गले जान र फर्किन पुरै एक दिन हिँड्नुपर्छ।
एकाइ खुलेपछि गाउँमै आधारभूत स्वास्थ्य सेवा पाएर राहत मिलेको स्थानीय खबहादुर छन्त्यालले बताए। कुइनेमा अल्पसङ्ख्यक छन्त्याल समुदायको बढी बसोबास छ। भीर र जङ्गलको बाटो भएर स्वास्थ्य संस्था पुग्न सास्ती भएको थियो। स्थानीय विषु छन्त्यालले आधारभूत औषधि उपचार सेवा नपाएर ज्यान गुमाउनुपर्ने बाध्यता हटेको भन्दै खुशी व्यक्त गरिन्।
उच्च पहाडी क्षेत्रमा अवस्थित कुइनेखानीमा सडकको सुविधा छैन। एकाइ सञ्चालनका लागि गाउँपालिकाले भवन निर्माण र एक अहेबको व्यवस्थापन गरेको छ। स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा दिइने गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक टीकाबहादुर शाहीले बताए।
गाउँपालिकाको पाँच लाख रुपैयाँ अनुदानमा निर्माण भएको स्वास्थ्य एकाइको भवन मंगलबार अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गरे। कुइनेखानीका अतिरिक्त रायखोर, दर्मीजा र मौवाफाँटमा स्वास्थ्य एकाइ र झिँ स्वास्थ्यचौकीमा सुरक्षित प्रसूति सेवा शुरु गरिएको जानकारी दिए।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य