Health TV Online
Health TV Online
Health TV Online

नेपालमा क्षयरोग नियन्त्रण कार्यक्रम प्रभावकारी नभएको विज्ञहरुको निष्कर्ष

नेपालमा क्षयरोग नियन्त्रण कार्यक्रम प्रभावकारी नभएको विज्ञहरुको निष्कर्ष

काठमाडौं : नेपालमा क्षयरोग नियन्त्रणका कार्यक्रम सही दिशामा नभएको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन्। क्षयरोगको पछिल्लो अवस्था, यसमा लागेको बजेट, स्वास्थ्य सेवामा बिरामीको पहुँच लगायतका विषयलाई आधार बनाएर गरिएको समीक्षा कार्यक्रममा विज्ञहरुले क्षयरोगको कार्यक्रम सही दिशामा नगएको औंल्याएका हुन्।

अहिलेकै स्वरुपमा कार्यक्रम अघि बढेमा क्षयरोग नियन्त्रण गर्न गाह्रो हुने उनीहरुको भनाई थियो । नेपालले सन् २०३५ सम्म नेपालबाट क्षयरोग अन्त्य गर्ने प्रतिवद्धता यूएनको हाइ लेबल मिटिङमा गरेको छ । सो प्रतिवद्धता पूरा गर्न नयाँ ढंगले कार्यक्रम गर्नुपर्नेमा विज्ञ टोलीले सुझाव दिएका छन्।

पाँच वर्षपछि गरिएको समीक्षामा स्वदेश र विदेशका विज्ञहरु सहभागी थिए । नेपालका तर्फबाट भने स्वास्थ्य मन्त्रालयका पूर्व सचिव डा सेनेन्द्रराज उप्रेतीसहितको पाँच जनाको टोली थियो भने अन्तराष्ट्रिय विज्ञहरु १५ जना सहभागी भएका थिए ।

राष्ट्रिय क्षयरोग केन्द्र र विश्व स्वास्थ्य संगठनले संयुक्त रुपमा गरेको यो कार्यक्रमको स्थलगत अध्ययन एवम अनुसन्धान गरेर उनीहरुको टोलीले यस्तो तथ्य बाहिर ल्याएको हो । अन्तराष्ट्रिय विज्ञ टोलीका संयोजक डा पाउलले नेपालमा क्षयरोगको कार्यक्रम सही बाटोमा नभएको भन्दै यसलाई परिवर्तन गरेर सबै बिरामीको पहुँचमा पुर्याउने गरी कार्यक्रम गर्नपर्ने बताए । उनले सरकारले बजेट पनि बढाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा भिमसिंह टिंकरीले हाल गरिएको प्रारम्भिक समीक्षाले अब क्षयरोग अन्त्यका लागि कस्तो कार्यक्रम बनाउने भन्ने मार्ग निर्देश गर्ने बताए । समीक्षात्मक अध्ययनमा सहभागी अन्तराष्ट्रिय विज्ञ डा तारा सिंह बमले क्षयरोगको क्षेत्रमा पाँच वर्षमा जे थियो अहिले पनि त्यही भएको बताए । उनले भने, ‘औषधि छ, स्वास्थ्यकर्मी पनि छन् तर बिरामीले समयमा सहज रुपमा औषधि पाइरहेको अवस्था छैन्।’ उचित ब्यवस्थापन नहुँदा समस्या देखिएको उनको भनाई थियो ।

यसैगरी कार्यक्रममा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले देशको भौगोलिक विकटताका कारण पनि सबैतिर क्षयरोगको औषधि पुग्न नसकेको जिकीर गरे । उनले यो प्रारम्भिक रिपोर्टले सरकारलाई आगामी कार्यक्रम बनाउन रणनिती बनाउन सहयोग पुग्ने बताए ।

नेपालमा राष्ट्रिय क्षयरोग कार्यक्रम मार्फत उपचार लिइरहेका बिरामीको संख्या ३२ हजार ४ सय ७४ रहेको छ । यसैगरी  प्रत्येक वर्ष यही रोगका कारण ६ हजार ६ सय ब्यक्तिको मृत्यु हुने गरेको तथ्य छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार