घरमै सुत्केरी हुँदा आमा र बच्चाको ज्यान गयो
बागलुङ : उमेर नपुग्दै विवाह गर्ने र सुत्केरी हुन अस्पताल नपुग्दा हालै जिल्लाको बडिगाड गाउँपालिका–६ स्थित सुरकुडेकी २३ वर्षीया जिसु बुढा र उनको नवजात शिशुको मृत्यु भएको छ। घरमै सुत्केरी हुँदा अत्यधिक रक्तश्राव भएका कारण सुत्केरी भएको तीन दिनपछि उनको मृत्यु भएको हो।
जेठ २० गते घरमै शिशुलाई जन्म दिएकी थिइन्। जन्म भएको केही घण्टामा शिशुको मृत्यु भयो भने अत्यधिक रक्तश्रावका कारण पाल्पाको लुम्बिनी मेडिकल कलेजमा जेठ २२ गते बिहान जिसुको मृत्यु भयो ।
सुरकुडेबाट सुत्केरी भएको झण्डै १२ घण्टामा उनलाई बडिगाड गाउँँपालिकाको केन्द्र खारबजारमा रहेको एक पोलिक्लिनिकमा ल्याइएको थियो। त्यहाँ रगतको मात्रा न्यून पाइएपछि तत्कालै पाल्पाको लुम्बिनी मेडिकल कलेजका लागि सिफारिस गरिएको मृतकका पति रवि बुढाले बताए।
भौगोलिक रूपमा विकट भएका कारण स्वास्थ्य सेवाको पहुँच नपुगेका स्थानमा स्वास्थ्य चेतना नहुँदा यस्ता खाले घटना घट्ने गरेका बडिगाड गाउँपालिकाका स्वास्थ्य प्रमुख निरञ्जन यादवले बताए।
‘गर्भावस्थामा गाउँको क्लिनिकमा स्वास्थ्य परीक्षण गराए पनि सरकारी स्वास्थ्यचौकीसम्म नपुगेको देखियो’,उनले भने, ‘गर्भावस्थामा स्वास्थ्य संस्था नगएको भए पनि सुत्केरी हुने बेला अस्पताल नपुग्दा यस्तो परिणाम आयो।’ १७ वर्षको उमेरमा विवाह गरेकी जिसुले १९ वर्षमा पहिलो बच्चा पनि घरमै जन्माएकी थिइन्।
कम उमेरमा विवाह गरी बच्चा जन्माउँदा आमा र बच्चा दुवैको स्वास्थ्य अवस्थामा समस्या आउने धवलागिरि अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन डा. सागर राजभण्डारीले बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?